८१ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित नेपालगञ्जबाट युवक पक्राउ
दिनेश ठाकुर, नेपालगञ्ज, असोज १८ — बाँकेको नेपालगञ्जबाट प्रहरीले ८१ ग्राम २० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० विद्युत रोडस्थित सडकखण्डमा चेकजाँच गरेको थियो।
सो क्रममा नेपालगञ्ज–१६ बस्ने ३१ वर्षीय हसन फिरोज जसगढले चलाएको भे ११ प ६८३५ नम्बरको मोटरसाइकल रोकी रीतपूर्वक खानतलासी गर्दा मोटरसाइकलमा लुकाइछिपाई राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थको शुद्ध तौल ८१ ग्राम २० मिलिग्राम रहेको थियो।
प्रहरीले पक्राउ परेका जसगढको साथबाट उक्त पदार्थसँगै भे ११ प ६८३५ नम्बरको मोटरसाइकल र विभिन्न कम्पनीका तीन थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका जसगढलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा दाखिला गरिएको छ। बाँके जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसुरमा १० दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।
प्रहरीले घटनामा संलग्नता तथा बरामद पदार्थको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।


