७ कार्तिक २०८१, बुधबार

लामो दुरीबाट पशुको ढुवानी हुँदा मापदण्ड विपरित

एसीपी संवाददाता

२ असार २०८१, शनिबार १५:१५ मा प्रकाशित

मापदण्ड विपरित पशु ढुवानी हुँदा पशु तथा चौपायाले सास्ती खेप्न बाध्य भएका छन् । सरकारले ०६४ मा जारी गरेको मापदण्ड लागु नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशु ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको एनिमल नेपाल नामक संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले बताउनुभयो ।

उहाँले पशु कल्याण मानवीय व्यवहार भएको उल्लेख गर्दै लामो दुरीबाट पशुको ढुवानी हुँदा मापदण्ड विपरित भएको बताउनुभयो । उहाँले भन्नुभयो “पशु चौपायालाई टाढाबाट ढुवानी गरेर लैजाँदा पनि उनीहरुले कुनै सास्ती नझेल्ने गरी लैजानुपर्छ तर त्यस्तो अवस्था देखिदैन् । ”

प्रमुख राणाले लामो दुरीमा पशु ढुवानी गर्दा उनीहरुलाई आहारा, आराम र पानीको व्यवस्थापन गर्न आवश्यक भएकोमा जोड दिँदै पशु कल्याणको विषय पशु ढुवानी मापदण्डमा पनि उल्लेख भएको बताउनुभयो । वि.स २०५५ को पशु सेवा ऐन र वि.स २०५६ मा जारी भएको नियमावलीअनुसार वि.स २०६४ मा ११ बुँदे पशु ढुवानी मापदण्ड सरकारले जारी गरेको छ ।

पशु ढुवानी गर्ने गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । शारीरिक बनावट फरक भएका पशु एउटा गाडीमा ढुवानी गर्न पाइँदैन । राँगाभैंसीसँग पाडापाडी मिसाउन नहुने, सबै राँगाभैंसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्ने, नाक र पुच्छर पनि बाँध्न नपाइने, राँगाभैंसी, बोकाखसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नुपर्ने ढुवानी मापदण्ड रहेको छ ।

पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनुपर्छ । पशुलाई गाडीभित्र शून्य दशमलब ८४ देखि एक दशमलब २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्ने र एउटा ट्रकमा २० पशु राख्न मिल्ने, पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन नपाइने र  गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

पशु ढुवानी गर्दा गाडीको रफ्तार प्रतिघण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनुपर्छ । जथाभावि ब्रेक लगाउन पाइँदैन प्रमुख राणको भनाई छ ।

बारा, पर्सा, लुम्बिनी र बर्दिया,कैलालीदेखि चितवन हुँदै दैनिक ३० गाडीसम्म राँगाभैंसी काठमाडौं जाने गरेको एनिमल नेपालले जनाएको छ ।  पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले मापदण्ड विपरित काम गरेका धेरैलाई रु. ५००० सम्म जरिवाना गरिएको उल्लेख गर्दै यसमा नियमनको काम भइरहेको बताउनुभयो ।

पशु क्वारेन्टाइन, कञ्चनपुरका प्रमुख टीकाराम खनालले पशु ढुवानी गर्दा दाङको भालुबाङ र चितवनको रामनगरमा आन्तरिक चेक पोष्ट भएको जानकारी दिदै समस्या देखिए त्यहाँबाट दरपिठ हुने बताउनुभयो । “चेक पोष्टमा जनावर भोकै छ वा छैन, ढुवानी गर्दा कसरी राखिएको छ सबै हेरिएको हुन्छ ” उहाँले भन्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x