२८ बैशाख २०८३, सोमबार

आठ बिमा कम्पनीका प्रवर्द्धक सेयरधनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

एसीपी संवाददाता

२४ बैशाख २०८३, बिहीबार ०५:५७ मा प्रकाशित

आठ वटा बिमा कम्पनीका प्रवर्द्धक सेयरधनीमाथि अनुसन्धान सुरु गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले (DoMLI) सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूलाई आफ्नो सेयर खरिद गर्दा तिरेको प्रिमियम रकमको स्रोत र विवरण खुलाउन निर्देशन दिएको हो।

यो अनुसन्धान नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्समा लगानी गर्ने प्रवर्द्धकहरूलाई लक्षित गरिएको छ।

विभागले कम्पनीको चुक्ता पूँजीभन्दा बाहिर व्यक्तिहरू वा संस्थाहरूको खातामा जम्मा गरिएको प्रिमियम रकमको स्पष्ट विवरण मागेको छ। यसमा खातावालाको नाम, बैंक खाता नम्बर र प्रयोग भएको वित्तीय संस्थाको जानकारी दिनुपर्नेछ। सम्बन्धित सबैलाई १५ दिनभित्र विवरण पेश गर्न भनिएको छ।

यो अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गरेको अनुसन्धानपछि अघि बढाइएको हो। उक्त अनुसन्धानमा दीपक भट्ट, सुलभ अग्रवाल लगायतले बृकुटी ब्रोकिङ कम्पनीमार्फत यी कम्पनीहरूको सेयर खरिद–बिक्री गरेको पाइएको थियो।

नेशनल माइक्रो इन्सोरेन्स कम्पनीका अध्यक्ष आशिषलाल श्रेष्ठ (लियोन मोटर्स) हाजिरी जवानीमा छुटिसके । उनलाई म‌ंगलबार नै परिवारको जिम्मा लगाइएको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष उदीप श्रेष्ठ (पञ्चकन्या ग्रुप), क्रेष्ट माइक्रो फाइनाइन्सका पूर्वअध्यक्ष ऋषिराज मोर (लक्की ग्रुप) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अध्यक्ष दिनेश सरिया (नेपाल टी इन्डष्ट्रिज) सम्पर्कविहीन छन्।

अनुसन्धानका क्रममा हिमालयन रिइन्स्योरेन्सले इन्फिनिटी होल्डिङ्सबाट सेयर खरिद गरी पछि अन्य बिमा कम्पनीहरूलाई बिक्री गरेको देखिएको छ। भट्ट यी कम्पनीहरूमा प्रमुख लगानीकर्ता रहेको र विभिन्न कम्पनीहरूमा उल्लेख्य प्रतिशत सेयर रहेको पनि खुलेको छ।

नेपालको कानुनअनुसार प्रवर्द्धकहरूले आफू संलग्न कम्पनीहरूबीच सेयर किनबेच गर्न पाउँदैनन्। यसले कानुनी उल्लंघन भएको आशंका बढाएको छ।

यस प्रकरणमा उद्योगपति शेखर गोल्छा पनि तानिएका छन्। उनीमाथि कथित आर्थिक अनियमितता र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आरोपमा अनुसन्धान भइरहेको छ।

यो घटनाले नेपालको बिमा क्षेत्रमा पारदर्शिता, नियम पालना र वित्तीय इमानदारीबारे गम्भीर प्रश्न उठाएको छ। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x