१२ कार्तिक २०८३, बुधबार

अफगानिस्तान पठाइएको प्राविधिक टोलीमा कूटनीतिज्ञ पनि छन् : भारतीय विदेश मन्त्रालय

एसीपी संवाददाता

७ आश्विन २०७९, शुक्रबार २१:१९ मा प्रकाशित

एजेन्सी – अफगानिस्तान पठाइएको प्राविधिक टोली केही कूटनीतिज्ञहरु पनि रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको भारतीय दूतावासमा भारतले पठाएको प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जनाएका हुन् ।

‘काबुलमा रहेको हाम्रो प्राविधिक टोलीमा केही कूटनीतिज्ञहरु पनि छन् ।’ बागचीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ, ‘मानवीय सहायता हाम्रो मुख्य प्राथमिकता हो ।’

गत जुन महिनामा भारतले मानवीय सहायताबारे सरोकारवालाहरुसँग संयोजन गर्न भन्दै काबुलमा रहेको दूतावासमा प्राविधिक टोली पठाउने घोषणा गरेको थियो ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले प्राविधिक टोली पठाउने भारतीय कदमको स्वागत गरेको एएनआईले जनाएको छ ।

‘अफगान जनतासँगको सम्बन्धलाई निरन्तरता दिन र मानवीय सहायताका लागि काबुलस्थित दूतावासमा कूटनीतिज्ञ र प्राविधिक टोली पठाउने भारतीय कदमको अफगानिस्तानको इस्लामिक इमिरेट स्वागत गर्दछ ।’ तालिबानका प्रवक्ता अब्दुल कहर बाल्खीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ । तालिबानले आफ्नो सरकारलाई इस्लामिक इमिरेट अफगानिस्तान भन्ने गरेको छ ।

चरम मानवीय संकटमा फसेको अफगानिस्तानलाई सहयोग गर्न भारतले विभिन्न चरणमा गहुँ र अन्य मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x