दलहरुको प्रारम्भिक रुझान हेर्दा सबैभन्दा ठूलो शक्ति कांग्रेस
काठमाडौं । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा छ । दलहरुको प्रारम्भिक रुझान हेर्दा सबैभन्दा ठूलो शक्ति नेपाली कांग्रेस हुने भएको छ । कांग्रेसले ११० सिट ल्याउने देखिएको छ । ठूलो पार्टीको हिसाबले सरकार पनि कांग्रेसकै बन्ने देखिन्छ । तर चुनाव नहुँदै प्रधानमन्त्री म हुने भनेर नेताहरुबीच हानथाप भइरहेको छ ।
यस्तो बेला नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछिको प्रथम दल बन्ने कांग्रेसको योजना सार्वजनिक गरेका छन् । महतले चुनावपछि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् । र सरकारको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
अब बन्ने सरकार फेरि पनि शेरबहादुर देउवाकै नेतृत्वमा बन्ने भन्दै उनले भने, ‘स्थिरता दिने नेतृत्व भनेकै नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन हो । अहिले पनि हामीसँग बहुमत छैन, तर शेरबहादुरजीले सबैलाई मिलाएर लैजानुभएको छ । १६५ सिटमा ९१ सिटमा कांग्रेस एक्लै छ, ७४ सिटमा बाँकी ४ दल छन् । नेतृत्वदायी भूमिकामा स्वभाविक रुपमा नेपाली कांग्रेस हो भन्ने कसलाई थाहा छैन र ।’
चुनावपछि सरकारको नेतृत्व गरेर जनतालाई स्थिरताको महसुस गराउने र बोल्नेभन्दा काममा फोकस हुने नेतृत्व देशले पाउने महतको भनाइ छ ।


