११ कार्तिक २०८३, मंगलवार

महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन संयुक्त राष्ट्रसंघीय वुमनकाे अपिल

एसीपी संवाददाता

८ पुष २०७९, शुक्रबार ०९:३० मा प्रकाशित

एजेन्सी ।  तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका वेला संयुक्त राष्ट्रसंघीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेकी छिन्। संयुक्त राष्ट्रसंघीय वुमन (युएन वुमन)की कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रह गरेकी हुन्।

उनले भनेकी छिन्, ‘अफगानिस्तानको तालिबान सरकारले गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र उसका कारणले महिलाले अधिकार नपाउने अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ। शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्छ।’

तालिबान सरकारका शिक्षामन्त्रीले यसै हप्ता तालिबान सरकारले सो निर्णय गरेको बताएका थिए। अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबन्धित गरेको घटनाको सबैतिर विरोध भएको छ।

मंगलबार मात्रै अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गरेकी थिइन्। यस्तो निर्णय अफगानिस्तानको हितमा नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु निकै दुःखद भएको धारणा संयुक्त राष्ट्रसंघीय अधिकारीहरूले राखेका छन्।

दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ। उनीहरूलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरू विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ।

तालिबानहरूले यहाँका महिला अधिकारको हनन गरिरहेकाले संयुक्त राष्ट्रसंघीय सभा तथा बैठकहरूमा यस्ता विषयमा कुरा उठाउनुपर्ने धारणा पनि राखिएको छ। बहाउसले एक अपिल जारी गर्दै अफगानिस्तानको विकासका लागि त्यहाँका महिलाको पनि ठूलो योगदान रहेकाले यस्तो निर्णय तत्कालै सच्याएर यहाँका सबै नागरिकले उचित र न्यायपूर्ण रूपमा शिक्षा लिन पाउने अधिकारको रक्षा गर्न पाउनुपर्ने बताएकी छिन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x