नाउपा फकाउन नयाँ मुख्यमन्त्रीको कसरत, एकाबिहानै पुगे रेशम चौधरीको घर
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह शनिबार बिहानै नागरिक उन्मूक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको घर पुगेका छन्।
मुख्यमन्त्री शाहले कैलालीको जानकी गाउँपालिका-६ स्थित जगतपुरमा रहेको चौधरीको घरमा उनकी आमा सुल्फी देवी चौधरीलगायत परिवारका अन्य सदस्यसँग भेट गरेका हुन्।
भेटमा उनले रेशम चौधरीलाई छुटाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्। टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो।
‘टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुर्याएको छ। त्यस घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसावले समाधान हुनुपर्छ, छिटोभन्दा छिटो रेशमको रिहाइ र टिकापुर घटनाका बन्दीहरुलाई छुटाउने अभियानमा म आजैदेखि लागिसकेँ’, उनले भने।
टिकापुर घटनामा दोषी देखिएका चौधरी अहिले डिल्ली बजार कारागारमा छन्। रेशम चौधरी लगायत आस्थाका बन्दीहरुलाई छुट्नु पर्ने माग नाउपाको छ। माग पुरा नभएकाे भन्दै यसअघिकाे सरकारलाइ नाउपाले विश्वासकाे मत दिएकाे थिएन।
शुक्रबार सपथ लिएका मुख्यमन्त्री शाहले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ। विश्वासको मत जुटाउन उनी अहिले देखि नै कसरतमा छन्। नाउपाको साथ पाए उनले सजिलै विश्वासको मत पाउनेछन्।नागरिकन्युज


