चिनियाँ ‘दादागिरी’मा सरकारी मिलेमतो भए पछी रिपब्लिकन पार्टी आक्रोशित

चिनियाँ ‘दादागिरी’मा सरकारी मिलेमतो भएपछि नेपाल रिपब्लिक पार्टी आक्रोशित बनेको छ ।
पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले आज शनिबार ‘राज्य आतंक बन्द गर’ भन्दै प्रेस वक्तव्य नै जारी गरेका छन् । जारी वक्तव्यमा ‘हुम्लाको लिमीमा कम्युनिस्ट चीन सरकारले नेपालको भूमि अतिक्रमण गरी ११ वटा घर बनाएको सूचना दिने स्थानीय वडाअध्यक्ष, गावीस प्रमुख र प्रजिअलाई नेपालको कम्युनिष्ट सरकारले आतंकित गर्न थालेकोमा नेपाल रिपब्लिक पार्टी घोर आपत्ति व्यक्त गर्दछ ।’ भनिएको छ ।
‘उक्त सूचना सार्वजनिक गरेकोमा सम्बन्धित प्रजिअलाई स्पष्टिकरण सोधेर आतंकित बनाईएको छ भने सम्बन्धीत गाविस प्रमुख र वडाध्यक्षलाई मुख नखोल्न चेतावनी दिइएको थाहा भएको छ । सीमा अतिक्रमण भएकोबारे अध्ययन गर्न गएको प्रजिअ, प्रहरी, सेना र स्थानीय जन प्रतिनिधि समेतको टोलीलाई प्रहरीको भेषमा उतारिएका चिनियाँ कम्युनिष्ट सेनाका जवानहरुले धम्काएको घटनाको प्रतिवाद गर्नु त कता हो कता, उक्त टोली अध्ययन सकेर फर्किन नपाँउदै चीनले नेपालको भूमि अतिक्रमण नगरेको वक्तव्य सरकारले सार्वजनिक गरेको छ । यो अत्यन्त निन्दनिय र राष्ट्रप्रतिको गद्दारीको उदाहरण त हुँदै हो, चिनियाँ कम्युजिस्ट पार्टीद्वारा निर्लज्ज तवरले प्रशिक्षित नेपाली कम्युनिस्ट सरकारको चीनप्रतिको दासताको प्रमाण पनि हो ।’ जारी वक्तव्यमा थपिएको छ ।
वक्तव्यमा ‘चीनले नेपालका अन्य ठाउँमा सीमा अतिक्रमण गरेर नेपाली भूमि कब्जा गरेका घटना यसअघि स्वयं सरकारी निकायहरु मार्फत सार्वजनिक हुँदा पनि नेपालको कम्युनिस्ट सरकारले यस्तै वक्तव्य निकालेर घटना दवाउउने दुस्साहस गरेको थियो । यसबाट के प्रतीत हुन्छ भने नेपाल सरकारले ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन’ भन्ने रेडिमेट वक्तव्य पहिले नै तयार गरेर राखेको छ र यस्ता घटना हुनासाथ चीनले भन्दा पहिले चीनको समर्थनमा वक्तव्य जारी गर्छ । चीन भन्दा बढी चीनभक्त र चीनियाँ भन्दा बढी चीनप्रति बफादारका रुपमा आफुलाई प्रस्तुत गर्ने नेपालको कम्युनीष्ट सरकार नेपालका लागि कलंक बन्न पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी विचको रहस्यपूर्ण कार्यगत एकताको नेपाल रिपब्लिक पार्टीले घोर भर्तसना गर्दछ ।’ पनि भनिएको छ ।
साथै ‘हुम्लाको लिमी गाउँका वडाध्यक्ष पाल्जोर तामाङले चीनले डेढ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेका जानकारी बारम्बार दिइरहेका छन् । २०६९ सालमा पनि चीनले यसैगरी सीमा अतिक्रमण गर्न खोजेको र त्यसबेला कडा विरोध गरिएकाले उनीहरु फिर्ता गएको उनले बताएका छन् । सरकारी आतंकका बाबजुद आफ्नो गाँउको अतिक्रमण विरुद्ध आवाज बुलन्द गर्ने पाल्जोर तामाङ सच्चा देशभक्त हुन् । नेपाली जनता उनको साथमा छन् र नेपाल रिपब्लिक पार्टी उनको साथमा छ । उनि विरुद्ध सरकारले चाल्ने कुनैपनि आतंकका विरुद्ध हाम्रो पार्टी उनीसँग खडा रहनेछ । हुम्लामा भएको चिनियाँ अतिक्रमणको अध्ययन गर्न विपक्षीदल र स्वतन्त्र नागरिक प्रतिनिधि सहितको प्रमण्डल हुम्ला जानुपर्छ र नेपाली तथा अन्तर्राष्ट्रिय पत्रकारहरुको टोलीले त्यसको पर्यवेक्षण गर्नुपर्छ । यसका निम्ति आवाज उठाउन विपक्षी राजनितिक दल लगाएत समस्त नागरिक र पत्रकार जगतलाई नेपाल रिपब्लिक पार्टी हार्दिक अपील गर्दछ ।’ पनि उल्लेख छ ।नेपाल पाना बाट



