२० बैशाख २०८३, आईतवार

कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी

एसीपी संवाददाता

३० भाद्र २०८०, शनिबार ०८:११ मा प्रकाशित

कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् ।

जनगणनाको तथ्याङ्कअनुसार २५ हजार नौ सय ९० जना बालबालिकाको जन्म दर्ता नभएको हो । जन्म दर्ता गराएका ८७ दशमलव ३ प्रतिशत बालबालिकामध्ये बालकभन्दा शून्य दशमलव ७ प्रतिशत बालिका धेरै रहेको तथ्याङ्कमा उल्लेख छ । कर्णालीमा सबै बालबालिकाको जन्म दर्ता नहुनुको कारण सचेतनाको अभाव भएको सरोकारवाला बताउँछन् ।

बाल अधिकारकर्मी नवराज विसीले आफ्ना छोराछोरीको समयमै जन्म दर्ता गराउनुपर्छ भन्ने ज्ञान नभएको बताउनुभयो । उहाँले बुबा पत्ता नलागेका बालबालिको पनि जन्म दर्ता गर्न सकिने भए पनि त्यस्ता बालबालिकाको जन्म दर्ता नगर्ने गरिएको बताउनुभयो ।

सरकारी तवरबाट कोही पनि बालबालिका जन्म दर्ता गर्नबाट वञ्चित नहुन् भनेर नीति नियम आएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको भन्दै उहाँले यो कार्यान्वयनमा स्थानीय सरकारको भूमिका धेरै हुने बताउनुभयो ।

यता, कर्णाली प्रदेश सरकारले जन्म दर्ता गर्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै अहिले पनि जन्म दर्ताको बारेमा सबै नागरिक जानकार हुन नसकेको बताएको छ । सामाजिक विकास मन्त्रालयले जन्म दर्ताबाट छुटेका बालबालिकाको कारण पत्ता लगाई त्यहीअनुसारको सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x