२ श्रावण २०८३, शनिबार

नेकपाका शीर्ष नेताहरुमाथि निगरानी शुरु

एसीपी संवाददाता

२ मंसिर २०७७, मंगलवार १३:२८ मा प्रकाशित

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) ले प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेकपाका शीर्ष नेताहरुमाथि निगरानी बढाएको छ ।  गत शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा १९ पेज लामो प्रस्ताव पेश गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री ओलीले लगत्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई ठाडो निर्देशन दिँदै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठको कडा निगरानी गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीले प्रमुख अधिकारीलाई नेताहरुको कडा निगरानी गर्न उर्दी जारी गरेपछि शनिबारबाटै नेताहरुको निगरानीमा गुप्तचरका कर्मचारीहरु बाक्लो रुपमा खटिएका हुन् । शनिबार यता नेताहरु प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठको निवास वरपर गुप्तचरका कर्मचारी बाक्लो रुपमा खटिएको बरफबाग स्रोतले स्वीकार गरेको छ । 

‘हामीले आफ्नो जिम्मेजारी र निर्देशन अनुसार काम गरिरहेका छौँ’, बरफबाग स्रोतको भनाइ छ । 
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड ललितपुरको खुमलटारमा बस्छन् भने नेता नेपाल काठमाडौँको कोटेश्वरमा बस्छन् । प्रचण्डको निगरानीमा चापागाउँ दोवाटोदेखि नै गुप्तचर विभागका कर्मचारीहरुको ओहोरदोहोर हुन थालेको छ । विभिन्न भेषमा खटिएका ती कर्मचारीहरुले प्रचण्डलाई भेट्न आउने नेताहरुको लगत राख्नेदेखि प्रचण्ड कताकता जाँदैछन् भन्ने जानकारी लिएर बालुवाटारमा रिपोर्ट दिने गरेको बुझिएको छ । 
त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालको निगरानीमा कोटेश्वर चोक र बालकुमारी पुल छेउदेखि उनको निवास वरपर गुप्तरका कर्मचारीहरुको आवतजावत बढेको छ । त्यसबाहेक नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठमाथि पनि निगरानी बढाउन गुप्तचरका कर्मचारी खटिएका छन् । 
‘छिनछिनमा बालुवाटारमा रिपोर्ट बुझाउनु भन्ने उर्दी छ । त्यसैले हामी त अहिले २४ सै घण्टाजस्तो डिउटीमा हुन्छौँ’, एक नेताको निवास नजिकै फिल्डमा खटिएका विभागका एक कर्मचरीले भने, ‘यो क्रम नियमित नै हो । पहिला पनि हुन्थ्यो तर अहिले अलि बढी नै ख्याल गर्नुभन्ने निर्देशन छ ।’ 

राष्ट्रिय अनुसन्धान विभागलाई बोलीचालीको भाषामा गुप्तचर विभाग भनिन्छ । जुन विभाग गृहमन्त्रालय मातहतमा रहँदै आएपनि ओली प्रधानमन्त्री भएपछि आफ्नै मातहतमा ल्याएका छन् । यसअघि पनि नेकपामा विवाद बढ्दै गएकाबेला गत वैशाख र असारमा पनि नेताहरुको निगरानीमा गुप्तरका कर्मचारीहरुलाई बालुवाटारले बाक्लो रुपमा खटाएको भन्दै आलोचना भएको थियो । 
ओली नआएपनि बुधबारको बैठक बस्ने 
यसैबीच नेकपा सचिवालयको बैठक बुधबार १ बजेका लागि बोलाइएको छ । सो बैठक पर सार्न प्रधानमन्त्री समेत रहेका ओलीले कसरत जारी राखेका छन् । तर बहुमत सचिवालय सदस्य बुधबारको बैठक कुनै हालतमा नरोकिने बताउँछन् । 
‘भोलिको बैठक ओली नआएपनि कुनै हालतमा रोकिँदैन, बस्छ’, एक सचिवालय सदस्यले भने, ‘ प्रस्ताव फिर्ता लिन र बैठक पछि सार्न ओलीले प्रयास गरिरहेको बुझिएको छ । तर अव बैठक रोकिन्न । बैठक बसेर बहुमतले निर्णय गरेर अगाडि बढ्छ ।’
बालुवाटारमा ओली पक्षको भेला 
प्रचण्डको प्रस्ताव फिर्ता गर्न आफ्ना निकटस्थहरुलाई खटाएका ओलीले प्रचण्डलगायतका नेताहरु पछि नहट्ने देखेपछि आफूपक्षीय नेताहरुसँग बालुवाटारमा छलफलमा जुटेका छन् । मंगलबार बिहान बैठक पछि धकेल्न आफ्नो प्रस्ताव प्रचण्डकहाँ पठाएका ओलीले दिउँसो आफू निकट सचिवालय सदस्य र स्थायी समिति सदस्यहरुलाई बालुवाटारमा बोलाएर भाव रणनीतिका बारेमा छलफल गरेका हुन् । 
बालुवाटारमा ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल, पृथ्वी सुव्वा गुरुङ लगायतका नेताहरुसँग छलफल गरेका हुन् । 
ओलीको प्रस्ताव लिएर खुमलटार पुगेका महासचिव विष्णु पौडेललाई अध्यक्ष प्रचण्डले बुधबारका लागि बोलाइएको बैठक कुनै हालतमा नरोकिने जवाफ दिएका थिए । साभाररातोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x