७ कार्तिक २०८१, बुधबार

सुन तस्करीमा चिनियाँ कनेक्सन , प्रहरीले धमाधम पक्राउ गर्दै अपराधी

एसीपी संवाददाता

६ असार २०८१, बुधबार १३:२९ मा प्रकाशित

सुन तस्करी, क्रिप्टो तथा हुन्डी कारोबार गिरोहमा संलग्न थप दुईजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चितवनका मनोज श्रेष्ठ र रूपक भण्डारीलाई पक्राउ गरेको हो ।

ब्रेकसुमा लुकाएर सुन तस्करी गर्ने गिरोहमाथि दोस्रो चरणमा चलिरहेको अनुसन्धानमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूमध्ये श्रेष्ठ चितवनका सुन पसले हुन् । उनले तस्करीको सुन बिक्री गर्नुका साथै भारतमा समेत लैजाने गरेको अनुसन्धानमा खुलेको छ । त्यस्तै, भण्डारी न्युरोडमा सुन गाल्ने काम गर्दथे ।

दोस्रो चरणको अनुसन्धानमा सिआइबीले हालसम्म २९ जनालाई पक्राउ गरिसकेको छ । जसमा एक चिनियाँ मूलका नागरिक शेरब ग्याल्बो भन्ने सोनाम गुरुङ छन् । जसले नेपाली नागरिकतासमेत लिएको खुलेको छ । उनीसँग  ६ केजी सुन र ४८ लाख रुपैयाँसमेत बरामद भएको छ ।

तस्करीको सुनको अवैध रूपमा विदेशमा भुक्तानीमा संलग्न पेवेल नेपाल र सजिलोपे नामक डिजिटल वालेट कम्पनीका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ती दुई वालेट कम्पनीले करिब खर्ब रुपैयाँबराबरको अवैध हुन्डी कारोबार गरेको भेटिएको छ ।

तस्करीको सुनको अवैध भुक्तानीमा संलग्न गिरोहमाथि केन्द्रित गरी अनुसन्धान भइरहेको सिआइबीका एआइजी श्यामलाल ज्ञवाली बताउँछन् । सो गिरोहले करिब तीन हजार केजी सुन तस्करी गरेको प्रमाण सिआइबीले फेला पारेको छ ।पहिलो चरणमा तस्करीमा प्रत्यक्ष संलग्नविरुद्ध मुद्दा दायर भइसकेको छ । जसमध्ये केही अझै फरार छन् ।

गत वर्ष २ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेकसुमा लुकाएर विमानस्थलबाट पास गराइएको ६१ केजी सात सय १६ ग्राम सुन बरामद गर्दा तस्करीको रहस्य खुलेको थियो ।

हाल प्रहरीले राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्त गणेश बजबलर, सिद्धनाथ गायकवाड, दिनेश भोइटे, बैजनाथ ब्रह्मादत्तलगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि अनुसन्धान गर्दा सुन तस्करीको पैसा डिजिटल मोबाइल वालेट कम्पनीहरू पेवेल नेपाल र सजिलोपे कम्पनीको समेत संलग्नता पुष्टि भएको छ । ती कम्पनीले हुन्डीमार्फत सुनको पैसा विदेश पठाएको थियो ।

सिआइबीले पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिनासहित सिइओ प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो पे पेमेन्टका सञ्चालक सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र प्रमुख कार्यकारी कश्यम मानन्धरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दुई कम्पनीबाट करिब दुई वर्षमा एक खर्बभन्दा धेरै अवैध कारोबार भएको सिआइबी दाबी छ ।

उनीहरूले नेपालमा तस्करीको सुन किन्ने व्यक्तिलाई आफ्नो खातामा पैसा हाल्न लगाउने र उनीहरूलाई कोरिया तथा अस्ट्रेलियाबाट पैसा उपलब्ध गराएका थिए यस प्रकरणमा यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत वर्ष ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो ।

सिआइबीले विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा  करिब तीन हजार केजी सुन तस्करी गरेको पुष्टि भएको हो । सो गिरोहले ब्रेकसुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मेसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै सुन तस्करी गरेका थिए ।

दोस्रो चरणको अनुसन्धान यही साता सकाएर सिआइबीले सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । दोस्रो चरणमा सुन किनबेच गर्ने समूहका साथै हुन्डी, क्रिप्टो तथा युएसडिटीको अवैध कारोबार गर्ने समूहहरू पत्ता लागेका छन् । केहीलाई भारतबाट समेत पक्राउ गरी ल्याइएको सिआइबी स्रोत बताउँछ । नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x