१७ असार २०८३, बुधबार

भारतको राँचीमा केन्द्रीय कार्यालय राखेर नेपालमा अनालाइनमार्फत ठगी

एसीपी संवाददाता

२४ श्रावण २०८१, बिहीबार ०९:०५ मा प्रकाशित

बागमती । भारतको राँचीमा केन्द्रीय कार्यालय राखेर हेटौँडा उपमहानगरपालिका–४ पारिजातपथमा कोठा भाडा लिइ अनालाइनमार्फत ठगी गर्ने नौ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारतको पटना थाना आलमगञ्ज ५७ निवासी २८ वर्षीय नवनितकुमार, भारतको बोकरो झरखण्ड निवासी २७ वर्षीय शाहरुख खान, करबा बलराम अरवल करपी विहारका २९ वर्षीय कुन्दन कुमार, नैनिताल उत्तराखण्ड निवासी २६ वर्षीय आशिष कब्डौला, राची झारखण्ड निवासी ३४ वर्षीय विशाल कक्कड, राँची झारखण्डका २९ वर्षीय विकासकुमार सिंह, ३८ वर्षीय लोकेशकुमार दुवे, नाङ्गलोड वेस्टी देल्ही निवासी २८ वर्षीय अरुणकुमार र वैशाली गजियावाद उत्तर प्रदेश निवासी ४० वर्षीय कुनाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

स्थानीय प्रमोद वाग्लेको घरभाडामा लिएर मेडि असिष्ट कम्पनीमार्फत अवैध रुपमा परामर्श सेवा तथा मानव स्वास्थ्यसम्बन्धी अन्य क्रियाकलापगरी अनलाइन ठगी गरिरहेको गोप्य सूचनाका आधारमा नौ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । सो कारोबारमा संलग्न अन्य तीन जना भारतीय नागरिक फरार रहेको र उहाँहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भारतको पुष्प विहार जिल्ला नयाँदिल्ली स्थायी बसोबास गर्ने द्रवीनकुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गराई ती व्यक्तिले भारतको राँचीस्थित केन्द्रीय कार्यालयमा मुख्य सर्भर राखेर नेपालमा ‘क्विक कल साइलेन्ट सफ्टवेर’ मार्फत कार्य गरिरहेको पाइएको प्रहरीको भनाइ छ ।

यस्तै कम्पनीमा कार्यरतले तलवबापत नगर्दै रु १८ हजारदेखि ५० हजार सम्म बुझ्दै आएपनि भुक्तानीको कुनै अभिलेख नभएको, सो कम्पनीद्वारा कुनै पनि आर्थिक कारोबार कानुनबमोजिम नगरिएको र कम्पनीको उद्देश्यअनुसार काम नगरेको पाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

कम्पनीको कार्यालयबाट बिभिन्न कम्पनीका सात थान ल्यापटप, तीन थान राउटर, ३१ थन मोबाइल, एक थान हार्ड डिस्क, चार थान हेडफोन, दुई थान माउस, १८ थान ल्यापटप चार्जर, एक थान वेब क्यामरा, दुई थान मेडि एसिस्ट डाइरेक्ट लेखेको स्टाम्प बरामद् भएको उनको भनाइ छ ।

पक्राउ परेकाहरुले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ को दफा २४९ को (१) विपरीत २० बमोजिम कसुर अपराध गरेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x