हिउँदलाई भारतबाट ६ सय मेगावाट बिजुली ल्याइँदै
- आगामी मार्च १५ सम्म २० घण्टा बिजुली आयात गर्न पाइने, बिहान ५ देखि ९ बजेसम्म आयात गर्न नपाइने
- ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ६ सय र टनकपुरबाट ५४ मेगावाट आयात गर्न मिल्ने
काठमाडौँ —नेपालले हिउँदयामका लागि भारतबाट ६ सय मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले आगामी जुनसम्म बिजुली आयात गर्न नेपाललाई अनुमति दिएको हो । करिब १५ दिनअघि बिजुली आयात गर्न भारतले अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय भारतले २०२४ जुनसम्म मात्रै बिजुली आयात गर्ने अनुमति दिएको थियो । यस पटक पनि प्राधिकरणले करिब ४ महिनाअघि नै अनुमति नवीकरण गर्न भारतलाई पत्राचार गरेको थियो । तर अनुमति नवीकरण गरिदिएको थिएन ।
हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर जलविद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिँदै आएको छ । बर्खायाममा भारत र बंगलादेशलाई बिजुली बेच्ने नेपालले हिउँदमा भने भारतमै भर पर्नुपर्ने अवस्था छ । जलाशययुक्त आयोजना नभएकाले हिउँदमा अझै केही वर्ष भारतकै भर पर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
हरेक वर्ष अपुग बिजुली भारतबाट आयात गर्न भारत र नेपालबीच छुट्टाछुट्टै सम्झौता भएको छ । त्यसमध्ये भारतको प्रतिस्पर्धी बजारबाट ल्याइने बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । करिब १५ दिनअघि नै भारतबाट बिजुली आयात गर्न अनुमति नवीकरण गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए
‘हिउँदभर बिजुली आयात गर्न पाउने गरी भारतले करिब १५ दिनअघि नवीकरण गरिदिएको छ,’ उनले भने, ‘भारतले पिकआवरमा बिजुली आयात गर्ने अनुमति दिएको छैन, दिउँसो र राति १० बजेपछि मात्रै दिएको छ ।’
भारतले आगामी मार्च १५ सम्म २० घण्टा बिजुली आयात गर्न अनुमति दिएको छ । ‘आगामी मार्च १५ सम्म साँझ ५ देखि राति ९ बजेसम्म आयात गर्न पाइँदैन, तीबाहेक हरेक समय आयात गर्न पाउँछौं,’ घिसिङले भने, ‘त्यसपछि बिहान ६ देखि बेलुका ६ बजेसम्म बिजुली आयात गर्न पाउँछौं ।’
प्राधिकरणका अनुसार भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र ३३ केभी टनकपुर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ ।
प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट समेत बिजुली आयात गर्न अनुमति मागे पनि दिइनसकेको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले बताए । ‘ढल्केबर र टनकपुरबाट ६५४ मेगावाट बिजुली आयात गर्न अनुमति मागेका थियौं, त्यो पाइसक्यौं,’ उनले भने, ‘यसबाहेक १३२ केभी प्रसारण लाइनबाट करिब ६ सय मेगावाट बिजुली आयात गर्न अनुमति मागेका थियौं । त्यो आएको छैन ।’
यस वर्ष डिसेम्बरको मध्य वा अन्तिमदेखि अपुग हुने बिजुली आयात गर्नुपर्ने प्राधिकरणले जनाए पनि पहिलो सातादेखि नै सुरु भएको छ । अधिकतम सय मेगावाटसम्म बिजुली आयात सुरु भइसकेको ढकालले जनाए ।
‘साँझ ५ देखि राति ९ बजेसम्म बिजुली आयात गर्न भारतले दिँदैन,’ उनले भने, ‘अन्य समयमा अलिअलि आयात गरिरहेका छौं ।’ १३२ केभी कटैया (भारत)–कुशवा (नेपाल), रक्सौल–परवानीपुर, मैनहिया (नेपाल)–सम्पत्तिया (न्यु नौतनवा, भारत) र गण्डक (नेपाल)– रामनगर (भारत) प्रसारण लाइनबाट समेत ६ सय मेगावाट बिजुली आयात गर्न भारतसँग अनुमति मागेको समेत ढकालले बताए ।
‘१३२ केभीका चार वटा प्रसारण लाइनको क्षमताअनुसार ६ सय मेगावाट माग गरिएको हो, अहिलेसम्म अनुमति दिएको छैन,’ उनले भने, ‘अर्को सातासम्म अनुमति दिन्छ कि भन्नेछ ।’ भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन ०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ ।
हरेक वर्ष भारतले एक वर्षभरका लागि अनुमति नवीकरण गर्ने भए पनि पछिल्लो पटक भारतले म्याद सकिनुभन्दा तीन दिनअघि (०८० चैत १५) मात्रै तीन महिनाका लागि मात्रै नवीकरण गरिदिएको थियो । यस पटक भने आगामी जुनसम्म अनुमति नवीकरण गरिदिएको प्राधिकरणले जनाएको छ ।
नेपालले भारतको प्रतिस्पर्धी बजारबाहेक महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइन र नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) बाट बिजुली आयात गर्न सकिने व्यवस्था छ । नेपालले महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइनबाट वार्षिक ७ करोड युनिट निःशुल्क बिजुली पाइन्छ । सन् २०२४ का लागि मार्च ११ मा बसेको पीईसी बैठकले प्रसारण लाइनको संरचनाअनुसार आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर तोकिसकेको छ ।
१३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट ७.९८ भारु (१२ रुपैयाँ ७७ पैसा) तोकेको प्राधिकरणले बताएको छ । बैठकले ३३ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य पनि प्रतियुनिट दर ८.६५ भारु (१३ रुपैयाँ ८४ पैसा) तोकेको छ ।
नेपालले चाहेका बेला बिजुली लिने गरी नयाँ दर तोकिएको र यो भारततर्फ निर्यात गर्दा पनि लागू हुने प्राधिकरणले जनाएको छ । तर यो मूल्य डिसेम्बर अन्तिमसम्म मात्रै लागू हुनेछ । सन् २०२५ का लागि पीईसी बैठक बसेर फेरि बिजुलीको प्रतियुनिट दर तोक्नुपर्नेछ ।
भारतको प्रतिस्पर्धी बजार, महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइन र नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) अन्तर्गत हुने व्यापारबाहेक पनि सुक्खायाममा २ सय ३० मेगावाट विद्युत् आयातका लागि गत असोज १७ मा द्विपक्षीय सम्झौतासमेत भएको थियो ।
हरेक वर्ष फेब्रुअरीदेखि मेसम्म विद्युत् आयात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच उक्त सम्झौता भएको थियो ।
यसअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्रतियुनिट भारु ७.५ का दरले २ सय मेगावाट र टनकपुर प्रसारण लाइनबाट ३० मेगावाट बिजुली चौबीसै घण्टा आरटीसी (राउन्ड द क्लक प्रणाली) उपलब्ध हुनेछ ।
गत असोजमा आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशी परियोजनामा ठूलो क्षति पुगेको छ । दिनभर पानी जम्मा गरेर माग उच्च भएका बेला बिहान र साँझमा बिजुली उत्पादन गर्न सकिन्थ्यो । तर अहिले बाढीले क्षति पुर्याएपछि बिजुली उत्पादन ठप्प छ । यद्यपि आगामी पुस १० सम्म आंशिक रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । ekantipur



