१ श्रावण २०८३, शुक्रबार

एमालेभित्रको ‘उकुसमुकुस’ विस्फोटउन्मुख!

एसीपी संवाददाता

९ पुष २०८१, मंगलवार १०:५१ मा प्रकाशित

नेकपा विग्रहपछि साम्य हुनुको साटो एमालेभित्रको अन्तरविरोध झन् चर्किँदै गयो। फलस्वरूप डेढ दशक एमाले हाँकेका माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। तब धेरैलाई लागेको थियो, अब चाहिँ एमालेभित्रको अन्तरविरोध सकियो।

केही वर्ष एमाले एकत्रित जस्तै देखियो पनि। आफ्नो नीति र नेतृत्वविरुद्ध धावा बोल्नेलाई पाखा लगाइदिने अध्यक्ष केपी ओलीको प्रवृत्तिसँग नेता–कार्यकर्ता भयभित हुनुले पनि एमाले पङ्क्ति एकै ठाउँमा रहेको देखिन्थ्यो।

तर, एमालेमा भित्रभित्रै उकुसमुकुस बढ्दै गयो। पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतासँगै त्यो उकुसमुकुस गुटका रूपमा ‘विस्फोटउन्मुख’ रहेको घटनाक्रमहरूबाट देख्न सकिन्छ।

यद्यपि, कोही पनि नेता–कार्यकर्ताले त्यो उकुसमुकुस ओकल्ने साहस भने गरेका छैनन्। कुनै असन्तुष्टि र गुटबन्दी नरहेको तथा नगरेको जिकिर सार्वजनिक रूपमा गर्दै आएका छन्।

एमालेमा एकमना प्रवृत्ति

एमालेकै एक पदाधिकारी पार्टीमा नेतृत्वको एकमना प्रवृत्तिले अहिलेको अवस्था आएको बताउँछन्। पार्टीमा अहिले सामूहिकता भन्ने नै नभएको उनको बुझाइ छ।

‘आलोचना गर्ने, फरक मत राख्ने, ती विषयमा विचार, विमर्श गर्दै सामूहिकताले निर्माण भएको पार्टी हो एमाले। अहिले खुला परिवेशमा आइसकेपछि यसमा अझ विकास हुनुपर्ने हो। तर त्यसो हुन सकेन। यी सबै हिसाबले पार्टी कमजोर भयो’, उनी भन्छन्, ‘त्यसैले असन्तुष्टिहरू भित्रभित्रै बढेका हुन् र अलिहेको अवस्था आएको हो।’

विद्याको बोलीमा ओलीको भय

लगातार दुई कार्यकाल राष्ट्रपति बनेर ‘रिटायर्ड’ भएपछि विद्यादेवी भण्डारी करिब ९ वर्षपछि १६ जेठमा एमालेको ब्यानरमा भएको कार्यक्रममा सहभागी भइन्। त्यसयता उनी सक्रिय राजनीतिमा फर्कने चर्चा चुलिएको हो।

भण्डारी स्वयंले अहिलेसम्म स्पष्ट नभने पनि पूर्वराष्ट्रपतिका रूपमा राज्यबाट पाउने आधा सेवासुविधा नलिएर त्यसको संकेत पहिल्यै दिइसकेकी थिइन्।

२०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपति बनेसँगै एमाले परित्याग गरे पनि भण्डारीले  पार्टीभित्र शक्तिको अभ्यास गर्दै आएकी थिइन्। उनले दशौँ महाधिवेशनमा पदाधिकारी छनोटमा हस्तक्षेप गरेर आफूले चाहेका व्यक्तिहरूलाई नेतृत्वमा ल्याएको चर्चा एमाले वृत्तमा थियो। त्यस विषयलाई लिएर एमालेका कतिपय नेताले खुला रूपमा आलोचना गरेका थिए।

मुख्यमन्त्री, मन्त्री, सांसदमा समेत आफू निकटलाई भाग खोजेको, महत्त्वपूर्ण राजनीतिक विषयमा दल अनुकूल हुने गरी निर्णय गरेर पार्टीभित्रको शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको आरोप पुरै कार्यकालभर लागेको थियो। भण्डारीले पहिले नेकपा र त्यसपछि एमालेमा आएको विग्रहलाई जोगाउने हदैसम्मको प्रयाससमेत गरेकी थिइन्।

‘रिटायर्ड’ जीवन बिताइरहेकी पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने चर्चाले पछिल्लो समय सिंगो एमालेमा हलचल ल्याएको छ। २९ फागुन ०७९ मा राष्ट्रपतिबाट बिदा भएकी उनले पार्टी सदस्यतासमेत नवीकरण गरिसकेकी छन्।

विगतदेखि कुनै न कुनै रूपमा अध्यक्ष ओलीको पेलानमा परेकाहरूको पङ्क्ति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन सक्रिय छन्, जसमा उपाध्यक्ष विष्णु पौडेलको नाम पनि आउने गरेको छ।

धेरै हल्ला गरे गाह्रो पर्ने चेतावनी

भण्डारी ‘कमब्याक’ हुने चर्चा र पार्टीभित्रैकै एक समूह उनलाई ल्याउन सक्रिय भएपछि एमालेमा गुटले मलजल पाएका मात्र छैन, अध्यक्ष ओलीमा छटपटी उत्पन्न भएको  देखिन्छ। सार्वजनिक रूपमा उनले भण्डारीमाथि पटक–पटक ‘धारेहात’ लगाउनुले यसलाई पुष्टि गरेको छ।

मंसिर ३० गते पार्टीको आन्तरिक प्रशिक्षणमा ओलीले भण्डारीसहित उनलाई फर्काउन सक्रिय पंक्तिलाई ‘धेरै हल्ला नगर्न’ भने। केन्द्रीय संगठन विभागले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले धेरै हल्ला गरे गाह्रो पर्ने चेतावनीसमेत दिए।

‘पूर्वराष्ट्रपति एमालेको राजनीतिमा फर्किने रे, महाधिवेशनमा नै पो उठ्ने रे भन्ने हल्ला बाहिर चलेको छ’, उनको भनाइ थियो, ‘साथीहरूले के कुरा बुझ्नुपर्‍यो भने हिजो विद्या भण्डारीलाई एमाले पार्टीले नै राष्ट्रपति बनाएको हो। अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ। यस्ता कुरामा हल्ला गर्नुपर्दैन। बाहिर हल्ला गर्नेहरूसँग गरेर त उहाँलाई पार्टी राजनीतिमा फर्कन गाह्रो होला।’

ओलीले एमाले भित्रको अन्तरविरोध र गुटबन्दी मौलाउँदो छ भनेर थप पुष्टि हुने अभिव्यक्ति पनि दिए। उनले पार्टीमा कुनै गुट नरहेको प्रष्ट्याए, जब कि एमालेमा कुनै असन्तुष्टि र गुट नभएको भए उक्त सन्दर्भ कोट्याउनुपर्ने नै थिएन।

‘विष्णु पौडेल गुट, शंकर पोखरेल गुट भनेर हल्ला गरिएको छ। उहाँहरूलाई मैले नै पदाधिकारी बनाएको हो। एमालेमा कसैको गुट–उपगुट छैन। माथि पार्टी एक ढिक्का छ, तल गुट भनेर मान्छेहरू खेलेका छन्। मलाई त अचम्म लाग्छ’, उनले भने, ‘यस्ता कुराका पछि नलाग्नू।’

इतर पक्षमाथि कटाक्ष गर्दै अध्यक्ष ओलीले विमति राखे पनि समाधान दिन नसकेको बताए। उनले विचार र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिँदा मात्र पार्टी बलियो बन्ने भन्दै गुटबन्दी एवं विरोध नगर्न घुमाउरो चेतावनी पनि दिए।

गुटबन्दी रहेको स्वीकार

एमालेकै एक नेता पार्टी विभाजनपछि पनि एमालेमा गुटबन्दी रहेको स्वीकार्छन्। केहीसमय अघिदेखि नै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका पक्षमा तल्ला तहका नेताहरू विभाजित रहेको उनी बताउँछन्।

उनी भन्छन्, ‘यो अहिले मात्र होइन, पहिलेदेखि नै चल्दै आइराखेको हो।’

विष्णुशंकर टकरावको सुरुवात

आठौँ महाधिवेशन अघिसम्म माधव नेपाल पक्षमा रहेका विष्णु पौडेल नवौँ महाधिवेशनमा ओली खेमाबाटै उपमहासचिव बने। माओवादी केन्द्र र एमाले मिलेर बनेको शक्तिशाली नेकपाको महासचिव भएका उनी एमालेको १०औँ महाधिवेशनबाट पनि महासचिव बन्न चाहन्थे।

नेकपा कालमा ओली र प्रचण्डलाई मिलाउन पौडेल खुबै सक्रिय हुन्थे। एमाले भित्रको विवाद मिलाउने भूमिकामा पनि पौडेल नै अघि थिए भने उनकै भूमिकामा माधव नेपाल समूहका  १० नेताहरूलाई रोक्न १०बुँदे सहमति भएको थियो।

तर १०औँ महाधिवेशनबाट महासचिव बन्ने पौडेलको दाउमा शंकर पोखरले तगारो बने। नवौँ महाधिवेशनमा उपमहासचिवमै पराजित भएका पोखरेल ओलीको विश्वासपात्र भएकै कारण १०औँ महाधिवेशनबाट सर्वसम्मत महासचिव बन्न सफल भए। अध्यक्ष पछिको शक्तिशाली महासचिव बन्ने बाटोमा आएयता पोखरेलसँग पौडेलको दूरी बढ्न थालेको हो।

पौडेल–पाखेरेलबीचको टकराव एमाले लुम्बिनीको प्रदेश अधिवेशनमा प्रष्टै देखिएको थियो। प्रदेश नेतृत्वका लागि उनीहरू आ–आफ्नै समूहमा उम्मेदवार उठाएका थिए। यद्यपि, उनीहरू दुवै मैदानमा भने देखिएका थिएनन्।

लुम्बिनीबाट एमालेका करिब आधा पदाधिकारी छन्। उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी (निलम्बित) लुम्बिनीबाटै छन्। उनीहरूसमेत उसैगरी विभाजित भएका थिए।

प्यानलबन्दी नभई मतदानसम्मै नपुग्न र सर्वसम्मत नेतृत्व चयन गर्न ओलीको चर्को दबाबबीच पनि लुम्बिनीमा झिनो मतान्तरले पौडेल पक्षधर भनिएका राधाकृष्ण कँडेलको टिमले जित्यो। पोखरेल पक्षका हरि रिजाल पराजित भए। त्यहाँबाट पौडेल–पोखरेलबीच थप दूरी बढेको हो।

एमाले सचिव पद्मा अर्याल पनि तल्लो तहमा गुटबन्दी रहेको स्वीकार्छिन्। यद्यपि तल्लो तहमा गुटबन्दी गर्नेहरू पनि नीति र नेतृत्वका सवालमा एक रहेकाले यसले पार्टीमा ठूलो क्षति नहुने बुझाइ उनको छ।

‘राजनीति भनेको शक्ति हो, चाहे राज्यसत्ता होस् वा चाहे पार्टीसत्ता। त्यसकारण तलका साथीहरूको बीचमा आफू बलियो बन्नका निम्ति, समूहबन्दी गर्ने, आफ्नो अनुकूलको नेतृत्वलाई स्थापित गर्न खोज्ने कोसिस भएकै छ’, उनी भन्छिन्, ‘तर त्यो कोसिस माथिबाट निर्देशित भएर होइन, स्वस्फूर्त रूपमा आफ्नै शक्ति र स्वार्थका आधार केही प्रयत्नहरू भएका होलान्।

खास कुरा के भने पार्टीमा दुई महत्वपूर्ण कुरा हुन्छन्, त्यो भनेको नीति र नेतृत्व हो। यी दुवै विषयमा एमालेमा कुनै विवाद छैन। त्यसकारण तल बनेका साना टिमको कुनै औचित्य हुँदैन।’

विद्याबारेको चर्चा अनुमान मात्रै हो

पूर्वराष्ट्रपति एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा पनि अनुमानको भरमा भइरहेको सचिव अर्याल बताउँछिन्। उनी पार्टीमा आउने चर्चाले पार्टीमा कुनै हलचल नभएको दाबी उनको छ।

‘उहाँले सक्रिय राजनीतिमा आउने/नआउने केही भन्नुभएको छैन, ल्याउने/नल्याउने पार्टीमा कुनै एजेन्डा बनेको पनि छैन। त्यसकारण एकाध गतिविधिमा संलग्न हुँदैमा सक्रिय हुने भनेर निष्कर्ष निकाल्नु हुँदैन’, उनी भन्छिन्, ‘उहाँले आउँछु भन्नुभयो भने पार्टीमा छलफलको विषय बन्ला। उहाँलाई ल्याउँदा सबैको सल्लाहमै आउनुहुन्छ, कसैको प्रतिस्पर्धी बनेर होइन।’

ओलीको विकल्पमा कोही देखेका छैनौँ

विष्णु पौडेलनिकट मानिने पोलिटब्युरो सदस्य बैजनाथ चौधरी औपचारिक रुपमा पूर्वराष्ट्रपति भण्डारीले स्पष्ट पारेपछि मात्र थप भन्न सकिने बताउँछन्। उपाध्यक्ष पौडेल र महासचिव पौडेलबीचको टकरावले ठूलो प्रभाव नपर्ने बुझाइ उनको छ।

‘उहाँ (विद्यादेवी भण्डारी) आफैँले स्पष्ट अहिलेसम्म भन्नुभएको छैन’, उनी भन्छन्, ‘ओलीको विरुद्धमा म नै हो भनेर जब भन्नुहुन्छ, त्यो दिन मात्र हामीले पनि ए एमालेमा ओलीको विकल्प पनि रहेछ भनौँला। होइन भने अहिलेसम्म ओलीको विकल्पका बारेमा बोल्ने मान्छे जन्मेकै छैन।’

विस्फोट हुन्न भन्न सकिन्न

नेतृत्वको दम्भ र गुटबन्दीकै कारण विगतमा दुर्घटनामा परेको एमाले क्रमशः त्यसैतर्फ जाँदैन भन्न नसकिने अवस्थामा रहेको विश्लेषण कतिपयको छ। राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं एमाले पार्टी ओलीको क्लब जस्तो भएकाले भित्रभित्रै उकुसमुकुस बढेको र त्यो फेरि विस्फोट हुन्न भन्न नसकिने अवस्था रहेको औंल्याउँछन्।

‘हिजो नेकपा हुँदा पनि एमालेमा गुटबन्दी बाँचेकै थियो। नेकपा फुट्नुमा त्यसको पनि ठूलो भूमिका रह्यो नै। पछि गुटबन्दीकै कारण एमाले फेरि फुट्यो’, उनी भन्छन्, ‘अहिले पनि ओलीमा एकखालको दम्भ छ, पार्टीलाई निजी क्लबजस्तो बनाइराख्नु हुन्छ। एमाले निर्माणमा त उहाँको भूमिका कमै रह्यो, त्यसपछि जब नेतृत्वमा आउनुभयो पार्टी बनाउनेहरूलाई पाखा लगाएर पार्टी एकलौटी चलाइरहनु भएको छ, यसबाट धेरै असन्तुष्टि र आक्रोशित पक्कै छन्। बोल्न मात्र नसकेका हुन्, उकुसमुकुस अवस्थामा छन् धेरै।’

अध्यक्ष ओलीकै कारण एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन चाहनेहरूको बढेको विश्लेषक चापागाईंको बुझाइ छ।

‘पूर्वराष्ट्रपति भण्डारी फर्किने चर्चाबीच एउटा समूह सक्रिय भएको पक्कै हो। त्यसले गर्दा उकुसमुकुस भएर बसेकाहरूले अलि सास फेर्ने बाटो पाइन्छ कि भनेर भित्रभित्रै गुट बलियो बनेको देखिन्छ।

विष्णु–शंकरबीच हिजोदेखिको दाउपेच हिजोदेखिकै हो। ओलीको आडभरोसा बढी महासचिवतिर छ, यस्तो अवस्थामा उपाध्यक्ष पौडेलले एउटा हाँगा समात्दा पूर्वराष्ट्रपति भण्डारीसँग हिमचिम बढाएका हुन्। गुट मौलाउने मुख्य आधारहरू यी नै हुन्। यो बढ्दै गयो भने यो विस्फोट हुँदैन भन्न सकिन्न।’ थाहाखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x