३२ असार २०८३, बिहीबार

मुस्लिम आयोगमा नयाँ नेतृत्व : महमदिन अलिलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी

एसीपी संवाददाता

७ चैत्र २०८१, शुक्रबार १७:३२ मा प्रकाशित

मुस्लिम आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ सदस्य महमदिन अलिलाई दिईएको छ। कानुनी प्रावधानअनुसार आयोगका वरिष्ठ सदस्य महमदिन अलिलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

आयोगका अनुसार अध्यक्षको कार्यकाल समाप्त भएपछि वरिष्ठ सदस्यलाई कार्यबाहक जिम्मेवारी दिने व्यवस्था रहेकाले अलिलाई जिम्मेवारी दिइएको हो। अलिले अब आयोगको कार्यकारी अध्यक्षले पाउने सम्पूर्ण निर्णय अधिकार तथा सेवा सुविधा पाउने उल्लेख गरिएको छ।

महमदिन अलि कार्यबाहक अध्यक्षको भूमिकामा रहँदा आयोगको रणनीतिक नीति निर्माणमा सक्रिय हुने अपेक्षा गरिएको छ। मुस्लिम समुदायका हकहित र अधिकार सुनिश्चित गर्न आयोगले विगतदेखि गर्दै आएका योजनालाई अझ प्रभावकारी बनाउने योजनासहित उनले काम गर्ने अनुमान गरिएको छ।

अलिको नेतृत्वमा आयोगले कानुनी सुधार, मुस्लिम समुदायका अधिकार सम्बद्ध नीतिगत सिफारिस, र अन्य प्रशासनिक सुधारका कार्यक्रम अघि बढाउने अनुमान गरिएको छ। मुस्लिम समुदायसँग सम्बन्धित विभिन्न विषयमा आयोगको प्रभावकारी भूमिका आवश्यक रहेको भन्दै आयोगले अबको कार्यकालमा ठोस योजना अघि सार्ने बताएको छ।

अध्यक्षविहीन अवस्थाले आयोगको निर्णय प्रक्रियामा ढिलाइ हुन सक्ने चिन्ता व्यक्त गरिए पनि कार्यबाहक अध्यक्षको रूपमा अलिले द्रुत गतिमा काम गर्ने आयोगका अधिकारीहरूले बताएका छन्। यसअघिका अध्यक्ष समिम अन्सारीको कार्यकालमा आयोगले विभिन्न नीतिगत पहल लिएको थियो। अबको नेतृत्वले ती कार्यहरूलाई निरन्तरता दिने कि नयाँ ढाँचामा लैजाने भन्नेमा चासो बढेको छ।

मुस्लिम आयोगको नेतृत्व परिवर्तनसँगै मुस्लिम समुदायका विषयमा सरकारको नीति र आयोगको प्रभावकारिता कस्तो रहने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x