२८ बैशाख २०८३, सोमबार

नेपालमा बिदेशी राजदुत्को भेटघाट बढदै , उपराष्ट्रपति यादव र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

एसीपी संवाददाता

२३ बैशाख २०८३, बुधबार १७:०९ मा प्रकाशित

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसंग नेपालका लागि नर्वेकी महामहिम राजदूत ड्याग्नी मियोसले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा शुभकामना आदानप्रदान पश्चात नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध कायम रहिआएको बताउनुभयो ।
‘लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन् ’ उहाँले भन्नुभयो, ‘विकास साझेदारको रुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।’ उपराष्ट्रपति यादवले नर्वे सरकारले विषेश गरी नवीकरणीय उर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरु नेपालका लागि निकै उपयोगी भएको बताउनुभयो ।
नर्वेले बहुपक्षीय मञ्चहरूमा राष्ट्रसंघीय शान्ति कार्य तथा जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय मुद्दामा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा नेपाल–नर्वे सम्बन्धमा नयाँ आयाम थपिँदै जाने र सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गर्नुभयो । भेटका क्रममा उपराष्ट्रपति यादवले १७ मेमा नर्वेको संविधान तथा राष्ट्रिय दिवसको अवसरमा नर्वेली जनताको सुख, शान्ति र समृद्धिको लागि शुभकामना समेत व्यक्त गर्नभयो ।
महामहिम राजदूत मियोसले नेपाल र नर्वेको संविधानमा लोकतन्त्र, मानवअधिकार तथा सामाजिक न्यायजस्ता साझा मूल्यहरू रहेको उल्लेख गर्दै शिक्षा, ऊर्जा, सुशासन, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा दुवै मुलुकले सहकार्य गर्न सक्ने बताउनुभयो । उहाँले भविष्यमा नेपाल–नर्वेले अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत सहकार्य विस्तार गर्न सक्ने उल्लेख गर्दै नेपालको शान्ति, स्थिरता र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभयो । राजदूत मियोसले नेपाल सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धता पत्रमा समावेश मुद्दाहरूमा नर्वे सहकार्य गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x