सिटी हललाई कार्यक्रमस्थल होइन, नेपालगञ्जको आर्थिक गतिविधिको केन्द्र बनाऔँ : मल्ल
दिनेश ठाकुर, नेपालगञ्ज, असोज १३ — नेपालगञ्ज सिटी हललाई केवल सभा, सम्मेलन तथा औपचारिक कार्यक्रम आयोजना गर्ने स्थलमा सीमित नराखी नेपालगञ्जको आर्थिक, सांस्कृतिक तथा सामाजिक गतिविधिको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्नेमा स्थानीय शासन विज्ञ तथा सामाजिक अभियन्ता मीनबहादुर मल्लले जोड दिनुभएको छ।
सिटी हलको प्रभावकारी सञ्चालन र अधिकतम उपयोगका लागि नेपालगञ्ज उपमहानगरपालिकाले निजी क्षेत्र, होटल व्यवसायी, उद्योग वाणिज्य क्षेत्र, पर्यटन व्यवसायी, शैक्षिक संस्था तथा विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्नुपर्ने उहाँले बताउनुभयो।
सिटी हल एउटा भवन मात्र होइन, यसलाई नेपालगञ्जको आर्थिक, सांस्कृतिक र सामाजिक गतिविधि चलायमान बनाउने साझा थलोका रूपमा विकास गर्नुपर्छ,” मल्लले भन्नुभयो, “यसका लागि स्थानीय सरकारको प्रयाससँगै निजी क्षेत्र र नागरिक समाजको सक्रिय सहभागिता आवश्यक छ।
मल्लका अनुसार सिटी हलमा वर्षभरि नियमित गतिविधि सञ्चालन हुने गरी वार्षिक कार्यक्रम क्यालेन्डर निर्माण गर्न सकिन्छ। त्यसअन्तर्गत व्यावसायिक सम्मेलन, व्यापारिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, शैक्षिक तथा बौद्धिक कार्यक्रम, पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधि, सामाजिक कार्यक्रम र विभिन्न संस्थागत कार्यक्रमलाई व्यवस्थित रूपमा समेट्न सकिने कुरामा जोड दिनुभएको छ।
वर्षको केही दिन मात्र कार्यक्रम हुने र बाँकी समय सिटी हल बन्द रहने अवस्था अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो, नियमित कार्यक्रम सञ्चालन हुने वातावरण बनाउन सके सिटी हल आफैँ आर्थिक गतिविधिको एउटा महत्वपूर्ण माध्यम बन्न सक्छ।
सिटी हलको सञ्चालनलाई स्थानीय सरकारको नियमित प्रशासनिक जिम्मेवारीका रूपमा मात्र हेर्न नहुने मल्लको भनाइ छ। उहाँले यसको दीर्घकालीन सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी, व्यवस्थापन सहकार्य वा अन्य उपयुक्त मोडेलबारे अध्ययन गरी व्यवहारिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो।
सिटी हललाई आत्मनिर्भर बनाउने हो भने यसको व्यवस्थापनमा निजी क्षेत्र, होटल तथा पर्यटन व्यवसायी, उद्योग वाणिज्य क्षेत्र, शैक्षिक संस्था र सामाजिक संघसंस्थालाई पनि जोड्नुपर्छ । उहाँका अनुसार नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक तथा सीमावर्ती सहर भएकाले यहाँ हुने व्यावसायिक, सांस्कृतिक र सामाजिक गतिविधिलाई एउटै व्यवस्थित पूर्वाधारसँग जोड्न सकिए सिटी हलले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्छ।
सिटी हलमा नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्मेलन, व्यापारिक मेला, सांस्कृतिक महोत्सव, पर्यटन प्रवर्द्धन कार्यक्रम र शैक्षिक गतिविधि सञ्चालन गर्न सके नेपालगञ्जमा बाह्य आगन्तुकको आवागमन बढ्नुका साथै होटल, यातायात, खानपान तथा अन्य सेवा व्यवसायमा समेत आर्थिक गतिविधि विस्तार हुन सक्ने उहाँको भनाइ छ ।
सिटी हलको उपयोगिता भवनको क्षमताले होइन, त्यसमा वर्षभरि कति गतिविधि हुन्छन् भन्ने कुराले निर्धारण गर्छ, मल्लले भन्नुभयो, त्यसैले अब सञ्चालनको स्पष्ट क्यालेन्डर, व्यवस्थापनको उपयुक्त मोडेल र आर्थिक आत्मनिर्भरताको योजना आवश्यक छ।
उहाँले सिटी हललाई नेपालगञ्जको कला, संस्कृति, पर्यटन, व्यापार, शिक्षा र सामाजिक गतिविधिको साझा मञ्चका रूपमा विकास गर्न सके यसको उपयोगिता र प्रभाव दुवै बढ्ने बताउनुभयो।
सिटी हलको प्रभावकारी सञ्चालनका लागि उपमहानगरपालिकाले सरोकारवाला सबै पक्षसँग छलफल गरी दीर्घकालीन कार्ययोजना तयार गर्नुपर्नेमा जोड दिँदै मल्लले स्थानीय आवश्यकता र निजी क्षेत्रको व्यावसायिक क्षमतालाई एकीकृत गरेर अघि बढ्न सके सिटी हल नेपालगञ्जको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण पूर्वाधार बन्न सक्ने बताउनुभयो।


