पहिलो मोडलिङ यात्रामै सुमित ठाकुर बने ‘फेस अफ नेपाल २०२६’ का ‘मिस्टर पपुलर’
दिनेश ठाकुर बांके,भदौ २५ गते — कपिलवस्तुको तौलिहवाका सुमित ठाकुरले आफ्नो पहिलो मोडलिङ यात्रामै ‘फेस अफ नेपाल २०२६’ को ‘मिस्टर पपुलर’ उपाधि जितेका छन्।
एमएस प्रोडक्सनद्वारा आइतबार अबेर राति ललितपुरमा आयोजित ‘फेस अफ नेपाल २०२६’ को ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै ठाकुरले उक्त उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन्।
प्रतियोगितामा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना प्रतियोगी सहभागी थिए। प्रतियोगी नम्बर ८ का रूपमा सहभागी ठाकुरले विभिन्न राउन्ड, रनवे प्रस्तुति, स्टाइलिङ सेसन तथा स्टेज गतिविधिमार्फत आफ्नो आत्मविश्वास, व्यक्तित्व र स्टेज प्रस्तुतिको क्षमता प्रदर्शन गरेका थिए।
पहिलोपटक मोडलिङ क्षेत्रमा पाइला राखेका ठाकुरका लागि ‘फेस अफ नेपाल’ नै पहिलो मोडलिङ अनुभव थियो। पहिलो सहभागितामै दर्शकको भोट तथा समर्थनबाट प्राप्त ‘मिस्टर पपुलर’ उपाधिले उनको मोडलिङ यात्रालाई थप उत्साह र प्रेरणा दिएको छ।
आफूलाई विश्वास गर्ने, भोट गर्ने तथा निरन्तर साथ दिने सम्पूर्ण दर्शक र शुभचिन्तकप्रति आभार व्यक्त गर्दै ठाकुरले यो सम्मान आफ्नो मात्र नभई आफूलाई माया गर्ने सम्पूर्ण मानिसहरूको भएको बताए।
“यो मेरो मोडलिङको पहिलो यात्रा थियो। पहिलोपटक नै यति धेरै माया, विश्वास र समर्थन पाउनु मेरो लागि निकै विशेष कुरा हो। ‘मिस्टर पपुलर’ को यो अवार्ड मेरो मात्र होइन, मलाई विश्वास गर्ने सम्पूर्ण मानिसहरूको हो,” ठाकुरले भने-अब ठाकुरको लक्ष्य व्यावसायिक मोडलिङ, कमर्सियल प्रोजेक्ट, ब्रान्ड सहकार्य, फेसन फोटोसुट, रनवे तथा मनोरञ्जन क्षेत्रमा आफ्नो यात्रा अझ अगाडि बढाउनु रहेको छ।


