२८ भाद्र २०८३, आईतवार

नेपालगञ्जको उर्दू गजलको आधार खडा गर्ने अग्रणी शायरको स्मृतिमा आजकै दिन अस्ताएका उर्दू साहित्यका उज्ज्वल नक्षत्र फारूक अहमद ‘आरिफ’

एसीपी संवाददाता

२८ भाद्र २०८३, आईतवार १७:०७ मा प्रकाशित

आज १३ सेप्टेम्बर, नेपाली उर्दू साहित्यका विशिष्ट शायर, कवि, लेखक तथा शिक्षक फारूक अहमद ‘आरिफ’को निधन भएको दिन । वि.सं. १९९२ चैत्र ७ गते जन्मनु भएका फारुक अहमद ‘आरिफ’ वि.सं. २०४९ साल भदौ २८ गते (१३ सेप्टेम्बर १९९२) उहाँ यस संसारबाट विदा हुनुभयो ।

धेरैले फारूक अहमद ‘आरिफ’लाई नेपालगञ्जको उर्दू गजलको बुनियाद (आधार) खडा गर्ने स्रष्टाका रूपमा स्मरण गर्छन् । पेशाले शिक्षक भए पनि उहाँको वास्तविक परिचय साहित्यप्रतिको गहिरो साधना र नेपाली उर्दू साहित्यको विकासमा पुर्याएको योगदानसँग जोडिएको छ ।

वि.सं. २०१५ सालतिर भारतको अलीगढबाट अध्ययन पूरा गरी नेपालगञ्ज फर्किएपछि यहाँको मुशायराले स्वर्णिम युग प्रवेश गरेको मानिन्छ । उहाँले नेपालगञ्जका उर्दू शायर तथा साहित्यकारहरूलाई व्यापक साहित्यिक मूलधारसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

धार्मिक तथा सामाजिक परिवेशमा विकसित हुँदै आएको नेपालगञ्जको उर्दू गजलमा उहाँले राष्ट्रप्रेम, सामाजिक चेतना र नेपालीपनको भाव भर्नुभयो । उहाँका सिर्जनामा नेपालको प्रकृति, राष्ट्रियता र मातृभूमिप्रतिको प्रेम स्पष्ट रूपमा अभिव्यक्त भएको पाइन्छ ।

उहाँका यी पंक्तिहरूले नेपाली राष्ट्रिय भावनालाई उर्दू शायरीमार्फत अत्यन्त सुन्दर ढंगले प्रस्तुत गर्छन्—
सोये हुए को आओ अब ख्वाब से जगाएँ
आरिफ कदम बढाकर शाने वतन बढाएँ
शम्सो कमर का परचम एवरेष्ट पर लगा दें
अपना ये र्जुरतों का सिक्का चलो जमा दें ।

उहाँले गजल, कविता, गीतलगायत विभिन्न विधामा साहित्यिक सिर्जना गर्नुभयो । विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा नेपालको प्रतिनिधित्वसमेत गर्नुभयो । तत्कालिन श्री ५ महाराजाधिराज महेन्द्र तथा श्री ५ महाराजाधिराज वीरेन्द्रसमक्ष समेत उहाँले पटक–पटक कविता पाठ गर्नुभएको थियो ।

उर्दू भाषा शिक्षणका लागि उहाँले ‘सचित्र नेपाली–उर्दू कायदा’ तथा ‘हिमाला उर्दू प्राइमरी’ जस्ता पुस्तक लेख्नुभयो । उहाँका उर्दू कविता संग्रह ‘गुलहाए सदरंग’ र ‘तम्बीहुल गाफिलीन’ भारतबाट प्रकाशित भएका थिए ।
उहाँकाे व्यक्तित्व र कृतित्वकाे संग्रह मीरास-ए-आरिफ (काव्य संग्रह) सन् २०२३ मा प्रकाशन भएकाे छ ।

शिक्षा र सामाजिक जागरणका अभियन्ताः
फारूक अहमद ‘आरिफ’ केवल शायर मात्र हुनुहुन्नथ्यो उहाँ समर्पित शिक्षक र सामाजिक जागरणका अभियन्तासमेत हुनुहुन्थ्यो ।

वि.सं. १९९२ मा नेपालगञ्जमा जन्मनुभएका उहाँले भारतको अलीगढ मुस्लिम विश्वविद्यालयबाट सन् १९५८ मा हाईस्कुल तथा अदीब–ए–कामिल उत्तीर्ण गर्नुभएको थियो । त्यसपछि वि.सं. २०१६ सालमा नेपालमा शिक्षण तथा प्रशिक्षणसम्बन्धी तालिम प्राप्त गर्नुभयो ।

नेपालगञ्जका विभिन्न प्राथमिक विद्यालयमा शिक्षण गर्नुभएका उहाँले मदरसा जामा मस्जिद तालीम–ए–मिल्लतमा विपन्न तथा गरिब विद्यार्थीहरूलाई समेत अध्यापन गराउनुभयो । हल्बलडोली गाविसस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय तथा नेपालगञ्जको सल्यानीबागस्थित निम्न माध्यमिक विद्यालय (हाल कन्या माध्यमिक विद्यालय)मा उहाँले जीवनभर उर्दू भाषा शिक्षण गर्नुभयो ।

महिला शिक्षाका पक्षमा अग्रणी भूमिकाः
तत्कालीन नेपालगञ्जमा विशेषगरी मुस्लिम समाजमा छोरीलाई पढाउने चलन अत्यन्त न्यून रहेको अवस्थामा उहाँले मुस्लिम छोरीहरूलाई शिक्षित बनाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
यस क्रममा सामाजिक तथा पारिवारिक विरोध र विभिन्न बाधा सामना गर्नुपरे पनि उहाँ आफ्ना उद्देश्यबाट पछि हट्नुभएन । आफ्नी छोरीलाई समेत उच्च शिक्षा दिलाएर उहाँले त्यसबेलाको प्रतिकूल सामाजिक परिस्थितिमा उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँकी छोरी सर्वत आरा खानम हल्बाइनी पछिल्लो दुई पटक प्रतिनिधिसभा सदस्य बन्नुभयो र पिछडिएको मुस्लिम समाजको प्रतिनिधिमूलक अनुहारका रूपमा स्थापित हुनुभयो ।

साहित्यिक विरासत ः
फारूक अहमद ‘आरिफ’को जीवन केवल एक शायर वा शिक्षकको जीवन थिएन । उहाँले साहित्य, शिक्षा, सामाजिक चेतना, महिला उत्थान र राष्ट्रिय भावनालाई आफ्नाे कर्मसँग जोडेर अघि बढ्नुभयो ।

नेपालगञ्जको उर्दू साहित्य र गजल परम्परामा उहाँले छोडेको योगदान आज पनि स्मरणीय छ । वि.सं.२०३३ सालमा स्थापना भएको गुल्जार—ए—अदबका संस्थापक मध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।

गुल्जार—ए—अदब अहिले पनि नेपालगञ्जमा उर्दु साहित्यको अग्रणी संस्थाको रुपमा परिचित छ । जसले प्रत्येक महिनाको अन्तिम शनिवार निरन्तर रुपमा ‘तरही मुशायरा’ गर्दै आइरहेको छ । उहाँले रोपेको साहित्यिक बिरुवा आज नेपालगञ्जमा फैलिंदै गएको उर्दू साहित्य र मुशायराको परम्परामा देख्न सकिन्छ । हिजाे भाद्र २७ गते महेन्द्र पुस्तकालयकाे आयाेजना तथा गुल्जार-ए-अदबकाे सहकार्यमा १६१ओै माेति भट्ट जयन्तीकाे अवसरमा नेपालगञ्जमा “बहुभाषिक गजल गाेष्ठी” भव्य रुपमा सम्पन्न भएकाे छ ।

उहाँको जीवन, व्यक्तित्व र साहित्यिक योगदानलाई समेटेर ‘मिरासे आरिफ’ नामक जीवनीसमेत प्रकाशित भएको छ ।
उहाँका कान्छा छोरा डा. उमेर अहमद सादिक हाल फत्ते बाल आँखा अस्पतालमा नेत्र अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।
आज उहाँको पुण्यस्मृतिमा हार्दिक श्रद्धाञ्जली ।

फारूक अहमद ‘आरिफ’ शारीरिक रूपमा हामीमाझ नरहे पनि उहाँका शायरी, साहित्यिक सिर्जना, शिक्षा र सामाजिक चेतनाका योगदानले उहाँलाई नेपाली उर्दू साहित्यको इतिहासमा सधै जीवित राख्नेछ ।

उर्दू साहित्यका यी उज्ज्वल नक्षत्रप्रति हार्दिक श्रद्धाञ्जली । इस रोशन सितारे को ख़िराज-ए-अक़ीदत पेश है।”

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x