भ्रष्टाचार विकासको दुश्मन हो, आफ्ना बालबालिकाको भविष्यका लागि अब जागौँ’ : वडा अध्यक्ष मिश्रा
दिनेश ठाकुर, नेपालगञ्ज, असोज १५ — डुडुवा गाउँपालिका–६ हिरमिनियाका वडा अध्यक्ष मोहन मिश्राले गाउँपालिकामा सुशासन, शिक्षा, स्वास्थ्य तथा विकासका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन्। उनले जनताको हितसँगै आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका लागि नागरिकहरू सचेत र जागरुक हुनुपर्नेमा जोड दिएका छन्।
राजनीतिमा आफू २०६६ सालदेखि सक्रिय रूपमा लाग्दै आएको स्मरण गर्दै वडा अध्यक्ष मिश्राले आफ्नो राजनीतिक यात्रा विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट सुरु भएको बताए।
भवनियापुर विद्यालयको व्यवस्थापन समितिको अध्यक्षका रूपमा काम गर्दा शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको सहयोगमा विद्यालयको विकासका लागि महत्वपूर्ण काम गर्न सफल भएको उनले उल्लेख गरे।
त्यसपछि हिरमिनियामा राजनीतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै २०७४ सालको स्थानीय तह निर्वाचनमा जनताको सहयोगमा वडा अध्यक्षमा निर्वाचित भएको र २०७९ सालमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएको उनले बताए।
नेकपा एमालेसँग आबद्ध रहेर आफूहरूले विद्यालयदेखि स्थानीय तहसम्म विभिन्न क्षेत्रमा सकारात्मक काम गर्ने प्रयास गरे पनि आफूहरूलाई अपेक्षित रूपमा काम गर्ने वातावरण नदिइएको उनको भनाइ छ। आफूहरूले इमानदारीपूर्वक काम गर्न खोज्दा अनियमितता तथा व्यक्तिगत स्वार्थमा संलग्न व्यक्तिहरूबाट अवरोध सिर्जना भएको उनको दाबी छ।
मिश्राले आफूहरूको राजनीतिक एजेन्डा व्यक्तिगत स्वार्थ नभई सुशासन, शिक्षा सुधार र स्वास्थ्य क्षेत्रमा सुधार रहेको स्पष्ट पारे।
‘हामीले सुशासनका कुरा गरेका हौँ, शिक्षा सुधारका कुरा गरेका हौँ, स्वास्थ्य क्षेत्रमा सुधारका कुरा गरेका हौँ। व्यक्तिगत स्वार्थका लागि होइन, सुशासनका लागि लडेका हौँ,’ उनले भने।
डुडुवा गाउँपालिकाको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मिश्राले मदिराका बोतल थुप्रिएको अवस्था, ठूलो रकमको नास्ता खर्च, खोला दोहन, माटोमा कर, मदरसाको दुर्दशा तथा शिक्षकहरूको सरुवालगायतका विषयमा प्रश्न उठाएका छन्। यी विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको माग छ।
उनले डुडुवाको वर्तमान अवस्थाबारे नागरिकहरू स्वयं सचेत हुनुपर्नेमा जोड दिँदै भने, ‘अब जागौँ, आफ्ना बच्चाहरूको भविष्यका लागि जागौँ। जागरुक बनौँ।’
वडा अध्यक्ष मिश्राले विकास र समृद्धिका लागि पारदर्शिता, जवाफदेहिता र सुशासन अपरिहार्य रहेको उल्लेख गर्दै ‘भ्रष्टाचार विकासको दुश्मन हो’ भन्ने धारणा अघि सारेका छन्।
उनका अनुसार जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी तथा नागरिक सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे मात्रै स्थानीय तहमा वास्तविक विकास र सुशासन कायम गर्न सकिन्छ।


