नेपालगञ्जमा श्रम संस्कृति पार्टीको राजनीतिक भेटघाट तीव्र, वरिष्ठ व्यवसायी जसगढसँग विशेष छलफल
दिनेश ठाकुर, नेपालगञ्ज, असोज १५ — श्रम, उत्पादन र स्वाभिमानलाई प्राथमिकतामा राख्दै श्रम संस्कृति पार्टीले लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा संगठन विस्तार र राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ। यसैक्रममा पार्टीका केन्द्रीय सचिव शान्ति गुरुङले नेपालगञ्जका वरिष्ठ समाजसेवी तथा व्यवसायी एवं नेपाल ज्वेलर्सका सञ्चालक शकील अहमद जसगढ र समाजसेवी हन्नान जसगढसँग विशेष भेटघाट तथा छलफल गर्नुभएको छ।
नेपालगञ्जमा भएको भेटघाटका क्रममा नेता गुरुङ र जसगढद्वयबीच मुलुकको समसामयिक राजनीतिक अवस्था, श्रमदाताहरूको हकहित, आर्थिक उत्पादन तथा स्थानीय स्तरमा रोजगारी र उद्यमशीलता प्रवर्द्धनलगायत विषयमा छलफल भएको बताइएको छ।
भेटघाटका क्रममा केन्द्रीय सचिव गुरुङले पार्टीको मार्गदर्शक सिद्धान्त ‘हर्कवाद’ बारे चर्चा गर्दै मुलुकको समृद्धि र आत्मसम्मानका लागि श्रम तथा उत्पादनलाई विकासको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो। श्रमदाता, व्यवसायी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग सहकार्य र संवाद गर्दै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा पार्टीको संगठनलाई थप मजबुत बनाउने अभियान अघि बढाइएको उहाँले बताउनुभयो।
पार्टीका अनुसार स्थानीय श्रमदाता, व्यवसायी, युवा तथा समाजका प्रबुद्ध व्यक्तित्वहरूसँग निरन्तर संवाद गर्दै श्रम, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रका विषयलाई प्राथमिकताका साथ अघि बढाउने तयारी गरिएको छ।
भेटघाटमा श्रम संस्कृति पार्टीका सल्लाहकार चाँद खाँ, राजन रानामगर, श्रम संस्कृति पार्टी बाँकेका उपाध्यक्ष मो. रहिश हल्वाई, बाँकेका मो. इम्तियाज राई तथा पार्टीका प्रस्तावित केन्द्रीय सदस्य काली मियाँ कश्मीरासहित नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
भेटघाटको अन्त्यमा सहभागीहरूले ‘जय माटो, जय देश, जय हर्कवाद’ नारासहित श्रम, उत्पादन र माटोप्रतिको प्रतिबद्धता व्यक्त गरेका थिए।
श्रम संस्कृति पार्टीले आगामी दिनमा पनि नेपालगञ्ज तथा आसपासका क्षेत्रमा व्यवसायी, श्रमदाता, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वसँग भेटघाट तथा संवादलाई निरन्तरता दिने जनाएको छ।


