१६ आश्विन २०८३, शुक्रबार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया, सरोकारवालाबीच साझा प्रतिबद्धता

एसीपी संवाददाता

१५ आश्विन २०८३, बिहीबार २१:१८ मा प्रकाशित

दिनेश ठाकुर, बर्दिया — राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि विभिन्न सरोकारवालाबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राजापुर नगरपालिका, राधाकृष्ण थारू जनसेवा केन्द्र (RKJS), बाँके युनेस्को क्लब (BUC) तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना’ तथा सोनाहा विकास समाज र गुड नेबर्स इन्टरनेशनलको संयुक्त साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो।

राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बडघर, विकास साझेदार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, गुड नेबर्स इन्टरनेशनलकी MEAL संयोजक विष्णुकुमारी बराल तथा सोनाहा विकास समाजकी कार्यक्रम संयोजक रत्न केसीलगायतको उपस्थिति थियो।

त्यस्तै, सुरक्षित भविष्य परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेल तथा फिल्ड सुपरभाइजरहरू रेणुका चन्द, दीक्षा बिष्ट, प्रमिशा चौधरी र सञ्जिता रिजाललगायत परियोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण टीकानाथ गोसाईले गर्नुभएको थियो।

अन्तरक्रियाका क्रममा राजापुर नगरपालिकाको विगतदेखि वर्तमानसम्मको शैक्षिक अवस्थाको समीक्षा तथा विश्लेषण गरिएको थियो। शैक्षिक सुधारका लागि भएका प्रयास, प्राप्त उपलब्धि, विद्यमान चुनौती तथा आगामी दिनमा सुधार गर्न सकिने क्षेत्रका विषयमा सहभागीहरूबीच विस्तृत छलफल भएको थियो।

विशेषगरी बालबालिकाको सिकाइ उपलब्धिमा अपेक्षित सुधार ल्याउन आवश्यक पहल, विद्यालयको शैक्षिक वातावरण, शिक्षक तथा विद्यालय प्रशासनको प्रभावकारिता, अभिभावकको सहभागिता र समुदायको भूमिकालाई थप सुदृढ बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

छलफलका क्रममा बालविवाह, प्रविधिको अस्वस्थ प्रयोग, कुलत तथा दुर्व्यसन लगायतका चुनौतीले बालबालिकाको शिक्षा, संरक्षण तथा समग्र विकासमा पार्न सक्ने प्रभावबारे समेत गम्भीर छलफल भएको थियो।

यस्ता चुनौती न्यूनीकरणका लागि विद्यालयमा बालमैत्री तथा सुरक्षित सिकाइ वातावरण निर्माण, शिक्षक तथा विद्यालय प्रशासनको जवाफदेहिता अभिवृद्धि, अभिभावकको सक्रिय सहभागिता र समुदायको स्वामित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा तथा राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि आफ्ना विचार, अनुभव तथा सुझाव प्रस्तुत गर्नुभएको थियो।

उहाँहरूले राजापुर नगरपालिकाको समग्र शैक्षिक विकासका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय, संघसंस्था तथा विकास साझेदारबीच प्रभावकारी समन्वय, सहकार्य र साझा जवाफदेहिता आवश्यक रहेको बताउँदै शैक्षिक सुधारका प्रयासलाई योजनाबद्ध, सहभागितामूलक तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

अन्तरक्रियामा सहभागीहरूबाट नियमित पठनपाठन, सिकाइ उपलब्धि अभिवृद्धि, विद्यालय व्यवस्थापनको प्रभावकारिता, शिक्षकको उत्तरदायित्व, बालमैत्री शैक्षिक वातावरण निर्माण तथा विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा विभिन्न व्यावहारिक सुझाव संकलन गरिएको थियो।

संकलित सुझावलाई आगामी दिनमा शैक्षिक सुधारसम्बन्धी योजना निर्माण तथा कार्यान्वयनमा उपयोग गर्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रमले राजापुर नगरपालिकाको शैक्षिक अवस्थाको समीक्षा गर्दै विद्यमान चुनौती पहिचान, सुधारका सम्भावित उपायको खोजी तथा आगामी कार्यदिशा निर्माणका लागि सरोकारवालाबीच साझा समझदारी र प्रतिबद्धता विकास गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

गुणस्तरीय शिक्षा विद्यालयको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, शिक्षक, अभिभावक, समुदाय तथा विकास साझेदार सबैको साझा दायित्व भएकोमा सहभागीहरूले जोड दिएका थिए। सामूहिक प्रतिबद्धता, निरन्तर सहकार्य र सकारात्मक पहलमार्फत राजापुरका प्रत्येक बालबालिकाले गुणस्तरीय, सुरक्षित, समावेशी र अवसरयुक्त शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्न सकिने विश्वास व्यक्त गरिएको थियो।

सुरक्षित भविष्य परियोजनाले बालबालिका, किशोरकिशोरी तथा युवाहरूको शिक्षा, संरक्षण र समग्र विकासका लागि स्थानीय सरकार तथा विभिन्न सरोकारवालासँगको साझेदारीमा शैक्षिक गुणस्तर सुधार, बालअधिकार प्रवर्द्धन तथा सुरक्षित र समावेशी वातावरण निर्माणका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x