स्थानीय युवा तथा व्यवसायीसँग अन्तरक्रिया, जनगुनासो सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता
दिनेश ठाकुर नेपालगन्ज, २६ असोज — बाँकेको नेपालगन्जमा ‘बुलडोजर बाबा’का रूपमा परिचित रियाज अहमद शेषको सक्रियता बढ्दै गएको छ। यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा स्थानीय युवा, व्यापारी तथा बासिन्दासँग अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, युवा तथा व्यवसायीहरूले आफ्नो टोल र क्षेत्रमा भोग्नुपरेका विभिन्न समस्या तथा गुनासाहरू राखेका थिए। उनीहरूले जनताका आधारभूत आवश्यकता, स्थानीय विकास र सार्वजनिक सरोकारका विषयमा जनप्रतिनिधिहरूले पर्याप्त ध्यान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
स्थानीयका गुनासा र समस्या सुनेपछि ‘बुलडोजर बाबा’ रियाज अहमद शेषले जनताका समस्याको उचित सम्बोधन तथा दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनताको हकहित र आवश्यकताका पक्षमा आफूहरू सधैँ अग्रपंक्तिमा रहेर काम गर्ने उहाँको भनाइ थियो।
उहाँले स्थानीय नागरिकका समस्या बुझ्ने, जनताको आवाज उठाउने र समाधानका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।
उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका केन्द्रीय सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह तथा केन्द्रीय सदस्यहरू राम निवास शाह, राजेश बर्मा, गफूर खाँ र हेमा खटिकको उपस्थिति रहेको थियो।
त्यसैगरी युवा नेता रामनाथ मण्डल, महिला नेतृ रिया पौडेल, मो. अलि कबाडिया, भूषण शाह, युवा नेता हिफ्जुल खान, मङ्गल बढही, राजू ठाकुर र सज्जाद राईलगायत स्थानीय नेता, युवा तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी युवा तथा व्यवसायीहरूले स्थानीय समस्यालाई प्राथमिकतामा राखेर जनताको आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले ‘बुलडोजर बाबा’को अभियानले नेपालगन्जको विकास, जनसरोकारका मुद्दा तथा समाजमा विद्यमान विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
स्थानीय तहमा जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्यसहित सञ्चालन गरिएका यस्ता भेटघाट तथा छलफल कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध, जवाफदेहिता तथा विकासका सवालमा बहसलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।


