१४ कार्तिक २०८३, शुक्रबार

डा. प्रतीक श्रेष्ठद्वारा विजयी पावरलिफ्टिङ खेलाडी र व्यवस्थापक टोली सम्मानित राज्यले गर्न नसकेको सम्मान निजी क्षेत्रबाट पाउँदा खेलाडी उत्साहित, लाइफलाइन हस्पिटल र डा. श्रेष्ठप्रति आभार व्यक्त

एसीपी संवाददाता

१४ कार्तिक २०८३, शुक्रबार ०१:३३ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, कात्तिक १२ —  भारतको लखिमपुरमा हालै सम्पन्न ‘पावरलिफ्टिङ च्याम्पियनसिप–२०२६’ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा उच्च राख्न सफल खेलाडी तथा व्यवस्थापक टोलीलाई नेपालगन्जमा सम्मान गरिएको छ।

लाइफलाइन हस्पिटलका प्रबन्ध निर्देशक एवं विशिष्ट चिकित्सक डा. प्रतीक श्रेष्ठले एक विशेष समारोहबीच प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूका साथै व्यवस्थापक टोलीलाई सम्मान गर्नुभएको हो।अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक हासिल गर्न सफल खेलाडीहरूको मेहनत, लगनशीलता र योगदानको कदर गर्दै उनीहरूको मनोबल उच्च बनाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

सम्मानपछि खेलाडीहरूले खुसी व्यक्त गर्दै डा. श्रेष्ठ र लाइफलाइन हस्पिटलप्रति आभार प्रकट गरेका छन्। उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेर सफलता हासिल गरे पनि राज्यस्तरबाट खेलाडीको योगदानको उचित मूल्याङ्कन र सम्मान हुन नसकेको गुनासो गरेका छन्।

निजी क्षेत्रबाट प्राप्त सम्मानले आफूहरूलाई थप उत्साह र प्रेरणा मिलेको उल्लेख गर्दै खेलाडीहरूले खेलकुद क्षेत्रको विकासका लागि यस्ता सकारात्मक पहल आवश्यक रहेको बताएका छन्।“राज्यले सम्मान गर्नुपर्ने ठाउँमा हामीले अपेक्षित सम्मान पाउन सकेनौँ। तर, हाम्रो पसिना, मेहनत र उपलब्धिको कदर लाइफलाइन हस्पिटल र डा. प्रतीक श्रेष्ठले गर्नुभयो,” सम्मानित एक खेलाडीले भन्नुभयो, “हाम्रा लागि यो सम्मान पदकभन्दा कम छैन। खेलाडीलाई माया गर्ने र उनीहरूको योगदान बुझ्ने व्यक्तित्वबाट पाएको सम्मानले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिलेको छ।”

कार्यक्रममा डा. प्रतीक श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्नुभयो। खेलाडीहरूले आफ्नो मेहनत र प्रतिभाका माध्यमबाट देशको प्रतिष्ठा बढाइरहेको भन्दै उनीहरूको सम्मान र प्रोत्साहन गर्नु सबैको दायित्व भएको उहाँको भनाइ थियो।

“खेलाडीहरूले अन्तर्राष्ट्रियस्तरमा देशको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। उनीहरूको मेहनत र उपलब्धिको कदर गर्नु हाम्रो सामाजिक उत्तरदायित्व मात्र नभई गौरवको विषय पनि हो,” डा. श्रेष्ठले भन्नुभयो।उहाँले खेलकुद क्षेत्रको विकास, प्रतिभाशाली खेलाडीको प्रोत्साहन तथा उनीहरूको मनोबल उच्च राख्न राज्यसँगै निजी क्षेत्रले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

लाइफलाइन हस्पिटल र डा. श्रेष्ठको पहलले खेलाडीहरूको उपलब्धिको सम्मान गर्नुका साथै खेलकुद क्षेत्रमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र योगदानको महत्वलाई समेत उजागर गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्ने खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने यस्ता कार्यक्रमले आगामी दिनमा थप खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x