१४ कार्तिक २०८३, शुक्रबार

बालेगाउँका कृषकलाई रासायनिक मल वितरण कार्ड अनिवार्य, नागरिकता र लालपुर्जा चाहिने मल वितरणलाई व्यवस्थित बनाउन महेन्द्रनगर कृषि सहकारीद्वारा कार्ड जारी

एसीपी संवाददाता

१४ कार्तिक २०८३, शुक्रबार १७:५३ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, कात्तिक १३ — बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ अन्तर्गत बालेगाउँका कृषकलाई रासायनिक मल वितरणका लागि कार्ड जारी गर्न सुरु गरिएको छ। कृषकलाई व्यवस्थित र सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यले महेन्द्रनगर कृषि सहकारी संस्था लिमिटेडले मल वितरण कार्ड वितरण प्रक्रिया अघि बढाएको हो।

साविक भवानियापुर गाविसअन्तर्गत पर्ने बालेगाउँमा रहेको उक्त सहकारी संस्थाले २०८३ साल कात्तिक १२ गतेदेखि लागू हुने गरी मल वितरण कार्ड जारी गर्न थालेको जनाएको छ।सहकारी संस्थाद्वारा जारी सूचनाअनुसार मल वितरण कार्ड लिन इच्छुक कृषकले आफ्नो नागरिकताको प्रमाणपत्र र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) सहित सहकारी संस्थामा सम्पर्क गर्नुपर्नेछ। कार्ड प्राप्त गरेपछि मात्र सहकारीमार्फत रासायनिक मल लिन सकिने व्यवस्था गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिका–१४ का वडा अध्यक्ष मजहर अली साईले वडाभित्रका कृषकलाई मल वितरण प्रक्रियाबारे जानकारी गराउँदै आवश्यक कागजातसहित समयमै कार्ड लिन आग्रह गर्नुभएको छ।

वडा अध्यक्ष साईले कृषकलाई आवश्यक कागजातसहित सहकारी संस्थामा सम्पर्क गरी मल वितरण कार्ड लिन अनुरोध गर्नुभएको छ। उहाँका अनुसार कार्ड वितरण प्रक्रियाले कृषकलाई व्यवस्थित रूपमा रासायनिक मल उपलब्ध गराउने व्यवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।सहकारी संस्थाले वडाभित्रका सम्पूर्ण कृषकलाई नागरिकता र जग्गाधनी प्रमाणपुर्जा लिएर समयमै सम्पर्क गर्न आग्रह गरेको छ।

खेतीपातीको समयमा रासायनिक मलको आवश्यकता पर्ने भएकाले कृषकले कार्ड बनाउने प्रक्रियामा ढिलाइ नगर्नसमेत अनुरोध गरिएको छ। रासायनिक मल वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको यस प्रक्रियाबाट कृषकलाई मल उपलब्ध गराउने काम थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x