१३ कार्तिक २०८३, बिहीबार

व्यवसायीद्वारा दशगजामा संयुक्त प्रदर्शन

एसीपी संवाददाता

१० फाल्गुन २०७७, सोमबार ०६:१८ मा प्रकाशित

झन्डा लिएर पुगेका व्यवसायीले नाकाबाट पर्यटकीय वाहन खुला गर्न माग गरे
तिलोत्तमा — बेलहिया–सुनौली नाकाबाट पर्यटक आवागमन ठप्प भएपछि विरोधमा आइतबार साँझ नेपाल र भारतका व्यवसायीले दशगजामा संयुक्त प्रदर्शन गरेका छन् । पर्यटक नआएपछि दुवै मुलुकका सीमावर्ती सहरको पर्यटनलगायत व्यवसाय ठप्प छ ।

नेपाल र भारत प्रदेशद्वारको बीचमा रहेको दशगजा क्षेत्रमा व्यवसायीले डेढ घण्टा नाराबाजी गरे । दुवै मुलुकका झन्डा लिएर पुगेका व्यवसायीले नाकाबाट पर्यटकीय वाहन खुला गर्न माग गरे । एक सातादेखि नाका खुलाउन माग गर्दै प्रदर्शन गरिरहेका रूपन्देहीका व्यवसायीको मागमा ऐक्यबद्धता जनाउन भारतको सुनौली, नौतनवा र गोरखपुरबाट आएका व्यापार मण्डलका प्रतिनिधि प्रदर्शनमा सहभागी थिए ।
दुवैतर्फका व्यवसायीले दशगजामा नेपाल–भारत सीमा नाका खुला गर्न र भारतीय पर्यटकको सवारीसहित नेपाल आगमनलाई नरोक्न नारा लगाएका थिए । व्यवसायीले सरकारलाई माग पूरा गर्न दिएको सातदिने अल्टिमेटम पूरा भइसक्दासमेत कुनै प्रतिक्रिया नआएकाले आन्दोलन सशक्त बनाउन भारतीय व्यवसायीसँग हातेमालो गरी दुवैतर्फका सरकारको ध्यानाकर्षण गराइएको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बताए ।

‘हाम्रो शान्तिपूर्ण धर्नालाई सरकारले टेरेन,’ उनले भने, ‘अब सशक्त रूपमा नाकामा मालवाहक सवारी बन्द गरेर धर्ना दिन्छौं ।’ नाका खोल्ने सम्बन्धमा सरकारको सकारात्मक निर्णय नआएकाले सोमबार सबै व्यवसायीको प्रतिनिधित्व गर्दै नेपाल पर्यटन बोर्डमा ज्ञापन बुझाउने कार्यक्रम रहेको उनको भनाइ छ ।

नेपाली व्यवसायीले भारतीय पर्यटकको आगमन चाहिरहेको अवस्थामा समेत नाकामा कडाइ गर्नु अव्यावहारिक रहेको भारतको गोरखपुरस्थित नव व्यापार मण्डल उत्तर प्रदेशका अध्यक्ष सम्साद खानले बताए । ‘भारतीय बजार र व्यवसायीका लागि नेपालीको खाँचो उत्तिकै छ,’ उनले भने, ‘बजार पूर्ण रूपमा नखोलिए भारतीय व्यवसायीको हालत पनि उस्तै हुन्छ ।’ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x