पुर्ब राजा ज्ञानेन्द्र शाह भारतमा
काठमाडौँ। पूर्व श्री ५ महाराधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव भारत भ्रमणमा निस्किनु भएको छ। पूर्व निर्धारित भारत भ्रमणको कार्यक्रम अनुरुप शाह फाल्गुन २० गते बिहिवार सपत्नी सहित निस्कनु भएको हो।
शाह झापाको काकडभिट्टा हुँदै सिलगुढी प्रवेश गर्नु भएको छ। त्यहाँबाट उहाँँ दार्जिलिङ पुग्नु भएको छ।
शाहका साथमा छोरी प्रेरणा, धीरेन्द्रका छोरीहरु पुजा, दिलासा र शिताष्मा पनि साथमा रहेको बताइएको छ। त्यस्तै केही अरु पारिवारिक सदस्यहरुले पनि शाहलाई भ्रमणमा साथ दिनु हुने भएको छ।
भारतीय पक्षले नयाँ दिल्ली नै बोलाए पनि शाहले अस्वीकार गरेको बुझिएको छ। नयाँ दिल्ली नै जाँदा नेपालमा अनावश्यक हल्ला खल्ला हुने र गर्न खोजिएको भेटघाट पनि हुन नसक्ने हुँदा शाहले उत्तर प्रदेशलाई बेस बनाएर भारत भ्रमण गर्नु हुने भएको हो।
उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ राजसंस्था पुनस्थापनाको पक्षमा रहेको र शाहप्रति अति नै सादस्यता राख्ने भएकाले पनि भ्रमण उत्तरप्रदेश केन्द्रित हुने गरेको छ। केहि वर्ष देखि शाहले पश्चिमा, चिनियाँ र भारतीय सरकारका प्रतिनिधिसँग भारतमा नै भेट्ने गर्नु भएको छ।
तर पूर्वराजाको सचिवालयले भ्रमण विशुद्ध पारिवारिक भएकोले भारत भ्रमणको क्रममा कुनै पनि राजनीतिक भेटघाट नहुने स्पष्ट पारेको छ।
अहिले नेपालमा देखिइरहेको राजनीतिक संकट बारे चीन, भारत र अमेरिकाको धारणा बुझ्न पनि शाह भारत तर्फ जान लागेका बताइएको छ। देशमा भइरहेको हरेक राजनीतिक परिवर्तनलाई अत्यन्तै नजिकबाट नियाल्ने शाहले भेट्न जाने जो कोहीलाई पनि राजसंस्था भन्दा देशलाई जोगाउन अघि बढ्न आग्रह गर्ने गर्नु भएको छ। पूर्वमहाराजधीराजलाई भेटेपछि उहाँको भनाइ उधृत गर्दै एक अभियान्ताले भने, ‘हामी राजगद्दीमा फर्किने कुरा ठूलो होइन, देश बाँच्नु पर्यो। देशै नरहने हो कि भन्ने चिन्ता लागेको छ हामीलाई। राजाको लागि होइन देशको लागि सोचेर अघि बढ।’
‘द राइजिङ्ग नेपाल’का पूर्व प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार पी खरेलले विगत लामो समय देखि भारत, चीन र अहिले आएर पश्चिमा राष्ट्रहरु पूर्व महाराजधीराज ज्ञानेन्द्र शाहसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। बदलिदो राजनीतिक परिदृश्य बीच नेपालमा प्रभाव राख्ने तीन शक्तिकेन्द्रहरुको पूर्व राजासँग नियमित रुपमा उच्चस्तरिय भेटघाट भइरहेको खुलेको हो।
खरेलले भने, ‘भारत-चीनसँग त दशौ वर्ष देखि संवाद थियो। विगत ५-६ वर्ष देखि संवादमा तीव्रता आएको छ। विशेष गरि २०७२मा नेपालको संविधान घोषणा भएपछि संवाद बढेको छ। केहि महिना देखि पश्चिमाहरु पनि पूर्व राजाको नियमित सम्पर्कमा छन्।’
केहि समय देखि नेपालमा ‘कोर्ष करेक्सन’ हुन लागेको भन्ने खालका विचारहरु विद्वानहरुले राख्दै आएका छन्। कोर्ष करेक्सनको लागि भारत र चीन दुवै सहमत भएको पनि तिनै विद्वानहरुले दाबी गर्दै आएका छन्। नेपालदिपबाट


