१२ कार्तिक २०८३, बुधबार

नेकपा बनाउन खोज्दा एमाले पनि फुतकिदै, फुटेको घोषणा

एसीपी संवाददाता

२९ फाल्गुन २०७७, शनिबार ०१:४१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एकलौटी बैठक राखेर विभिन्न निर्णय गरेपछि नेकपा एमाले फुटेको छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको जनाउँदै पार्टी फुटेको घोषणा गरे ।

उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अब ओली र गौतम मिल्ने सम्भावना सकिएको जनाएका छन् ।

सुवेदीले उपाध्यक्ष गौतमको धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो ।’

शुक्रबार ओलीले बालुवाटारमा बैठक राखेर गौतमसहित पदाधिकारीको जिम्मेवारी खोसेका थिए । नेकपा एमाले पुनर्जीवित भएपछि बसेको पहिलो बैठकले शुक्रवार गरेका निर्णयहरू सार्वजनिक भएका छन् ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस वक्तव्य जारी गर्दै निर्णयबारे जानकारी गराएका छन् । पार्टीले निर्वाचन आयोगले पत्राचार गरेजस्तो १५ दिनभित्र पार्टी एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।

नेकपा एमालेका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदलाई फिर्ता लिन निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ । बाधाअड्काउ फुकाउबाट संगठनात्मक निर्णय समेत गरिएको वक्तव्यमा उल्लेख छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गर्दै महाधिवेशनको मिति तोकेका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् ।

२०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । अब अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खोसिएको छ ।

बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x