मालपोत कार्यालयमा भएको बम बिस्फोटमा घटनामा ८ जना घाइते
सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ।
कार्यालयमा आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा धनगढीमाई नगरपालिका-१३का सेवाग्राही अन्दाजी ३० वर्षीय दिनेशकुमार भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए।
उनका अनुसार दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।
‘उनको शरीरको विभिन्न भागमा चोट लागेको छ,’ एसपी राजभण्डारीले भने ‘हाम्रो डिएसपी साब नेतृत्वको टोलीले दिनेशसहित बिस्फोटमा परी घाइते भएकाहरूको उद्दार गरी अस्पताल पठाएको हो।’
उनका दिनेशको सप्तरीस्थित एक अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै गम्भीर रहेका उनको थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी गरिरहेको छ।
बिस्फोटमा परी घाइते भएका अन्य सात जनाको लहानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका-३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन्।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।
गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय भएका थिए।सेतोपाटि


