अमेरिका–चीन मुठभेडको दिशामा किन ?

चीन–अमेरिका सम्बन्धमा दरार उत्पन्न हुँदा आपूर्ति शृङ्खलादेखि विद्यार्थी आदान–प्रदानसम्म र चीनले खरिद गर्ने अमेरिकी बोन्डसम्म प्रभावित हुनेछ
भदौ २६ गते शनिबार । अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनपछि धेरै अमेरिकी नागरिक तथा विश्लेषकहरू ‘आजको ज्ञान लिएर २० वर्षअगाडि फर्किन पाइने भए सायद हामी यो मार्गमा अगाडि बढ्ने थिएनौँ’ भन्ने मनस्थितिमा पुगेका छन् । मलाई यो कुरा सही नलागे पनि मनमा एउटा प्रश्न भने उब्जिने गरेको छ– ‘आज पछ्याइरहेको विदेश नीतिको कुन पाटोलाई २० वर्षपछि ‘आजको ज्ञान लिएर २० वर्षअगाडि फर्किन पाएको भए सायद हामी यो मार्गमा अगाडि बढ्ने नै थिएनौँ’ भन्ने प्रश्न आउला ? यो प्रश्नमा मेरो जवाफ एउटा शब्दमा टुंगिन्थ्यो, चीन ।

सन् १९७९ देखि सन् २०१९ बीचको ४० वर्षको अवधि अमेरिका–चीन सम्बन्धको एउटा युग थियो । यसमा धेरै उतारचढाव आए, तर समग्रमा यो युग दुई देशबीचको लामो आर्थिक समायोजनको युग रह्यो । अमेरिका–चीनको चार दशक लामो आर्थिक समायोजनले पूरा विश्व अर्थतन्त्रको थप भूमण्डलीकरणलाई सघाउ पु¥यायो । आर्थिक समायोजनले विश्वका दुई ठूला शक्तिबीच चार दशकसम्म तुलनात्मक शान्तिपूर्ण सम्बन्ध पनि बनायो । स्मरणीय कुरा, इतिहासमा ठूला शक्तिराष्ट्रबीचको द्वन्द्वकै कारण दुई विश्वयुद्ध भएको हो ।

अमेरिका–चीन भूमण्डलीकरणले अमेरिकाको निर्माण क्षेत्रका कैयौँ श्रमिकको बेरोजगारी एउटा पाटो हो भने विशाल नयाँ निर्यात बजार खुला हुनु यसको सकारात्मक पाटो हो । त्यसकै प्रभावस्वरूप चीन, भारत र पूर्वी एसियाका करोडौँ मानिस गरिबीको रेखामुनिबाट बाहिर निस्कन सफल भए । अमेरिकी उपभोक्ताले धेरै उत्पादन सामग्री निकै सस्तो मूल्यमा पाएका कारण अमेरिकाले पनि फरक रूपमा फाइदा पाएकै थियो । ४० वर्षको अवधिमा विश्वले अनुभव गरेको तुलनात्मक शान्ति र समृद्धिको व्याख्या अमेरिका–चीनबीचको मित्रताको सन्दर्भविना अपूरो हुन्छ ।

तर, विगत पाँच वर्षको स्थिति फेरिएको छ । अमेरिका र चीनको अर्थतन्त्र एकअर्कासँग अलग हुन थालेका छन् । जसका कारण दुई मुलुक टकरावको दिशामा अघि बढिरहेको देखिन्छ । मेरो विचारमा यो परिस्थिति आउनुमा चिनियाँ नेतृत्वको अहंकार मुख्य जिम्मेवार छ । आजको स्थितिले निरन्तरता पायो भने चीन र अमेरिकालगायत अन्य धेरै मुलुकले अबको २० वर्षपछि आजको स्थितिलाई फर्केर हेरेर अमेरिका–चीनबीचको तिक्त सम्बन्धका कारण विश्व पहिलेभन्दा खतरनाक र कम समृद्ध स्थान भएको पाउनेछन् ।

दुई देशबीचको खटपटले जलवायु परिवर्तन, जैविक विविधताको ह्रासजस्ता मुद्दा सम्बोधन गर्न कठिन हुँदै जानेछ । सम्बन्ध पूर्ण रूपमा टुटेर पछुतो मान्नुभन्दा अहिले नै दुवै मुलुकले सम्बन्धका विभिन्न पाटाबारेमा विवेचना गर्नुपर्छ । अर्थात्, चीन र अमेरिकाले आफैँसँग केही प्रश्न गर्नु उपयुक्त हुन्छ । जस्तो, सुरुमा स्पष्ट हुन आवश्यक प्रश्न यस्तो हुनेछ– चीन र अमेरिकाबीचको प्रतिस्पर्धा÷द्वन्द्वको कुन पक्ष उदाउँदो शक्ति र विद्यमान शक्तिबीच टार्न सकिँदैन ? र, तिनलाई कुनै स्मार्ट नीतिमार्फत कम गर्न सकिन्छ ?

सन् १९७९ देखि सन् २०१९ बीचको ४० वर्षको अवधि अमेरिका–चीन सम्बन्धको एउटा युग थियो । यसमा धेरै उतारचढाव आए, तर समग्रमा यो युग दुई देशबीचको लामो आर्थिक समायोजनको युग रह्यो । तर, विगत पाँच वर्षको स्थिति फेरिएको छ ।

आर्थिक समायोजनको ४० वर्षमध्ये सुरुवाती ३० वर्षजति चीनले अमेरिकालाई सस्तो सामान बेच्यो । अमेरिकीले शरीरमा लगाउने कपडादेखि खुट्टामा लगाउने जुत्ता र घरका छानामा लगाउने सौर्य पातासम्म चीनबाट आइरह्यो । अमेरिकाले भने यस अवधिमा चीनलाई उन्नत सामानहरू बेच्यो । जस्तो– चीनको निर्माण प्रणालीमा अत्यावश्यक कम्प्युटर र सफ्टवेयरका लागि चीन अमेरिकामा निर्भर थियो ।

आज चीन आफैँले यी उन्नत सामान निर्माण गर्न सक्ने भएको छ । जस्तो– पछिल्लो समय हुवावेको फाइभ–जी दूरसञ्चार प्रणालीकै सन्दर्भमा देखियो । तर, चीनले विकास गरेका उन्नत प्रविधि प्रयोग गर्ने सवालमा अमेरिकामा अविश्वास उत्पन्न भयो । हिजो चीनमा बनेको सस्तो सामान प्रयोग गर्ने समयमा अमेरिकाले तिनको उद्गम मुलुकमा कस्तो सरकार छ भन्ने ख्याल गरेन । आज चीनबाट उन्नत सामान किन्ने वेलामा भने साझा मूल्यमान्यताले महत्व पाउन थालेको छ र यसमा दुई देशबीच ठूलो भिन्नता छ ।

अर्कोतर्फ चनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्व रणनीतिका कारण चीनको खुलापनको रफ्तार कम हुन थालेको छ, अझ केहीले चिनियाँ समाजको खुलापन उल्टो दिशामा जान थालेको मान्न थालेका छन् । आगामी दिनमा चीन अमेरिकी उन्नत प्रविधिमा निर्भर नहुने सीको प्रतिबद्धता पूरा गर्न चीनले प्रविधि किन्ने, चोर्ने, नक्कल गर्ने, आविष्कार गर्ने वा डरधम्की दिएर जसरी भए पनि ती प्रविधि देश भित्र्याउने प्रयास गर्न थालेको छ । प्रविधि चोरी र अमेरिकी संस्थानभित्रको घुसपैठ असह्य स्तरमा पुगिसकेको छ । त्यसका अतिरिक्त पछिल्लो समय हङकङका प्रदर्शनकारीमाथिको दमन र सिन्जियानका उइगुर संस्कृतिमाथिको आक्रमण र आर्थिक शक्तिलाई अस्ट्रेलियाजस्ता छिमेकीलाई धम्क्याउने शैली पनि चीन–अमेरिका वैमनस्यताको कारण बन्यो ।

सीको रणनीतिका कारण अहिले सम्पूर्ण पश्चिमी विश्व चीनविरुद्ध उभिने अवस्था आएको छ । वर्तमान अमेरिकी राष्ट्रपति बाइडेन र उनका पूर्ववर्तीले ‘चीनको प्रतिरोध गर्नुलाई’ अमेरिकाको पहिलो रणनीतिक उद्देश्य बनाएका छन् । यदि चीनसँगको टक्कर ‘अमेरिकी राष्ट्रपति भर्सेस चिनियाँ राष्ट्रपति’बीच देखियो भने सीले आफ्नो पक्षमा सारा चिनियाँ राष्ट्रवादीलाई लगाउन सक्छन् । तर, यदि अमेरिकाले चीनविरुद्ध सारा संसारलाई उतार्न सक्यो भने बेइजिङका कट्टरपन्थी एक्लिनेछन् र चीनभित्रका सुधार पक्षधरहरू पनि अमेरिकाकै पक्षमा उभिनेछन् । तर, विश्वव्यापी गठबन्धनसँग सामना हुँदा पनि चीनले अन्तर्राष्ट्रिय मान्यतामा आधारित वार्तामा आइहाल्ने अवस्था छैन । त्यसैले वार्ताका लागि आर्थिक तथा सैन्य दबाब पनि राखिनुपर्छ ।

धेरै अमेरिकी व्यवसायीले डोनाल्ड ट्रम्पले चीनविरुद्ध लगाएको पहिलो चरणका भन्सार खारेज गर्न दबाब दिइरहेका छन् । तर, चीनले उसका व्यवसायीलाई दिने अनुदानको कुरा उठाएका छैनन्, जसको प्रतिरोधमा अमेरिकाले चिनियाँ सामानविरुद्ध भन्सार लागू गरेको थियो । चीनसँगको वार्तामा बोली नरम हुनुपर्छ, तर भन्सारलाई भने छाड्न हुँदैन । आतंकवादविरुद्धको युद्धको २० वर्षपछि अहिले अमेरिकाको प्रथामिकता ‘घरेलु पुनर्निर्माण’को मुद्दा बनेको छ ।

यसअन्तर्गत पूर्वाधार, शिक्षा, आय असमानता तथा नश्लीय समानतालाई सम्बोधन गर्नुपर्ने बहस भइरहेको छ । यस्तोमा अहिले चीनको खतरालाई जोड दिनु उपयोगी हुन्छ कि थप खतरनाक हुन्छ ? चीन–अमेरिका सम्बन्धमा दरार उत्पन्न हुँदा आर्थिक सप्लाई चेनदेखि विद्यार्थी आदान–प्रदानसम्म र चीनले खरिद गर्ने अमेरिकी बोन्डसम्म प्रभावित हुनेछ । अमेरिकाले आतंकवादविरुद्धका युद्धबाट चीनविरुद्धको युद्धबारे सोच्नुअघि यी विषयमा चिन्तनमनन गर्नु महत्वपूर्ण हुन्छ ।

थोमस एल फ्राइडम्यान न्युयोर्क टाइम्सका विदेश मामिला सम्बन्धका स्तम्भ लेखक हुन् ।
via The New York Times”
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments