१२ कार्तिक २०८३, बुधबार

उपेन्द्र यादवले मधेसी जनतालाई धोका दिएको भन्दै , धर्ना र बिरोध प्रदर्शन

एसीपी संवाददाता

१२ आश्विन २०७८, मंगलवार २२:०२ मा प्रकाशित

१२ गते असोज २०७८ मंगलबार – जनकपुरधाम । पटक–पटक आश्वासन मात्रै दिएको भन्दै मधेश आन्दोलनका शहीद परिवारले सोमबार जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमा धर्ना दिँदै नाराबाजी गरेका छन् ।

जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक मंगलबार बिहानदेखि धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बाबाको ढावा होटलमा चलिरहेको छ । शहीद परिवार तथा घाइते भएकाहरु बैठकस्थलमै आएर धर्ना तथा नाराबाजी गरेका छन् ।

उनीहरुले वीर शहीद अमर रहुन्, शहीद परिवारको माग पूरा गर, भ्रष्ट मुख्यमन्त्री राजीनामा दे, उपेन्द्र यादव मुर्दावादसहितका नारा लगाएका छन् ।

प्रदेश सरकारले पटक–पटक आश्वासन मात्रै दिएर ठग्ने काम गरेकाले आफूहरु यहाँ आएर धर्ना दिएको उनीहरुले बताएका छन् । यसअघि भदौ ११ गते जसपाकै कार्यक्रममा धर्ना दिन आएको बखत जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउतसहितकाले एक साताभित्रै माग पूरा गरिदिने आश्वासन दिएपनि नगरेकाले पुनः आन्दोलनमा आउनुपरेको मधेशी शहीद परिवार तथा घाइते हकहित संघर्ष समितिका अध्यक्ष नरेश राय यादवले बताए ।

यादवका अनुसार ‘मधेशी शहीद स्मृति प्रतिष्ठान गठन गर्नुपर्ने, नियुक्ति पत्र दिएका शहीद परिवारलाई जागिर दिनुपर्नेसहितका माग पूरा गर्ने आश्वासन तीन बर्षदेखि दिँदै आएपनि पूरा गर्न नसकेको यादवले बताए ।

माग पूरा नभए बुधबारैदेखि पुनः बसेर पुत्ला दहन, मसाल जुलुस प्रदेश सरकारको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम तय गर्ने उनले बताए ।

मधेश आन्दोलनमा आफ्ना छोरा गुमाएका सिरहाको लहान नगरपालिकाका मुस्तकिमले मधेश आन्दोलन दिवसको अवसरमा २०७६ साल माघ ५ गते मुख्यमन्त्री आफैंले नियुक्ति पत्र दिएपनि हालसम्म जागिर पाउन नसकिएको बताए ।

मुस्तकिमले आफ्नो छोराको शालिक बनाउँदा उपेन्द्र यादवले २ लाख ५० हजार रुपैयाँ दिने आश्वासन दिएपनि हालसम्म एक पैसा समेत पाउन नसकेको बताए ।

रौतहटमा छोरा गुमाएकी असगरी खातुनले पनि नियुक्ति पत्र पाएपनि जागिर पाउन नसकेको बताइन् ।

आफ्ना पति गुमाएकी सर्लाही मलगंवाकी शकुन्तला ठाकुरले जितिया पर्वको दिन पनि आफूलाई नारा लगाउन आउनुपरेको बताइन् । ‘हाम्रो छोराछोरी के गरिरहेका छन् प्रदेश सरकारलाई कुनै मतलव छैन’ उनले भनिन्, ‘माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं ।’

आफ्नो पति गुमाएकी सर्लाहीकै मीनादेवी साह छोरीलाई क्यान्सर हुँदा पनि उपचारका लागि प्रदेश सरकारले सहयोग नगरेको बताइन् । ‘अहिलेसम्म रु ७ लाख ऋण लिएर छोरीको उपचार गराएको छु’ उनले भनिन्, ‘मुख्यमन्त्रीले दिने आश्वासन मात्रै दिनुभयो । तर, दिनुभएन ।’

शहीद परिवार दिउँसो २ बजेदेखि बैठकस्थलमा धर्ना एिका छन् । तर साँझसम्म कसैले वास्ता नगरेको उनीहरुले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x