चिनियाँ राजदूत यान्छीको असफलता नै असफलता: ‘आफू अनुकूल सत्ता खोज्दा उल्टै फस्यो, भुइँको टिप्न खोज्दा पोल्टाको खस्यो’
काठमाडौं । नेपालमा चिनियाँ राजदूत होउ यान्छी आएपछि उत्तरी छिमेकी चीनको नेपालको घरेलु मामिलामा हस्तक्षेप त बढ्यो नै तर त्यो उसका लागि प्रत्युत्पादक सावित भयो ।
नेपालमा आक्रामक रुपमा आफ्नो अनुकूल सत्ता चलाउन, प्रभाव जमाउन चीनले राजदूत यान्छीमार्फत थुप्रै प्रयास गर्यो तर असफल रह्यो । अर्कोतिर मौन कुटनीति अंगालेका छिमेकी भारत र मित्रराष्ट्र अमेरिकाका राजदूत आफ्नो कार्यकालमा सफल रहे । चिनियाँ असफलता हेर्न धेरै पर जान पर्दैन ।
नेकपा एमाले र माओवादी केन्द्रको एकता गराएर एकीकृत नेकपा पार्टी बनाएर नेपालमा चीनजस्तै एकल कम्युनिस्ट शासन लाद्न चीनले प्रयास गरेको थियो । त्यसको अभ्यास तत्कालीन नेकपा सरकारमार्फत चीनले बेइजिङबाटै गरेको थियो । नेपालको पत्रिकामा प्रकाशित सामग्रीमा नेपालको संविधानमा ग्यारेन्टी गरिएको प्रेस स्वतन्त्रता विपरीत चीनबाटै चेतावनी दिएको थियो । तर यस्तो अभ्यास धेरै टिकेन ।
दुईतिहाइ कम्युनिस्ट सरकार हुँदा बढ्दो चीनको दबाब र प्रभाव नेकपा फुटेसँगै छिन्न भिन्न भयो । नेकपा हुँदा जसरी नेपालमा सोझो हस्तक्षेप बढारहेकी थिइन् यान्छीले नेकपाको विभाजनलाई भने उनले रोक्न सकिनन् । विभाजन हुँदा उल्टै उनलाई तत्कालीन समयमा बालुवाटारको ढोका नै बन्द भयो । उनले राजदूत भन्दा पनि चीनको बादशाहजस्तो नेताहरु मिलाउन र नेकपा जोगाउन ठाडो निर्देशनमात्रै दिइनन् तत्कालीन प्रधानमन्त्रीलाई कुर्सी छोड्न नै भनिन् । जसले माहोल अझै विगार्यो । नेकपामार्फत नेपालमा कम्युनिस्ट शासन स्थापना गर्न र आफू अनुकूल चलाउन खोज्ने चीनको प्रयास खेर गयो । यसमा यान्छी असफल रहिन् ।
नेकपा विभाजनपछि राजदूत यान्छीले अमेरिकी अनुदान सहायता एमसीसी रोक्न निकै बल गरिन् । कम्युनिस्ट तथा एमसीसी विरोधी नेताहरुको घर घर पुगेर यान्छी तथा चिनियाँ दूतावासका कर्मचारीले एमसीसी रोक्न खुलेयाम लबिइङ गरे ।
अर्कोतिर भारतको समर्थनमा अमेरिकाले कोभिड खोपदेखि अन्य सहयोग दिएर सकारात्मक माहोल बनायो । यसमा राजदूत र्याण्डी बेरीले नेपाली जनताको मन जिते । उनले नेपालीहरु कुनै दबाब दिएनन् । बरु अफ्ठेरोमा परेका नेताहरुलाई सहजीकरण गरिदिए । जसले गर्दा जनतासँगै नेताहरु पनि अनुदान सहायता लिन तयार भए ।
नेकपामार्फत कम्युनिस्ट शासन ल्याउने र आफ्नो बीआरआई परियोजनाको ऋणमा नेपाललाई डुबाएर बीआरआई परियोजनाको हब बनाउने चिनियाँ प्रयासमा नेकपा फुट्दा नै धक्का लागिसकेको थियो । त्यसमाथि एमसीसी थप चुनौती बनेर आयो । त्यसैले चिनियाँ राजदूतले मात्र नभई बेइजिङबाट समेत एमसीसी रोक्न बल लगाइयो ।
अमेरिकासँग बेइजिङले वाक युद्धमै उत्रियो । कतिपय अभियन्तालाई चिनियाँ दूतावासका तर्फबाट आर्थिक फण्डिङ पनि गरियो । राजदूत यान्छीले एमसीसी विरोधी झलनाथ खनालदेखि प्रचण्ड, माधव नेपाल, भीम रावल र उग्र कम्युनिस्ट अगुवाहरुलाई भेटेर आन्दोलन चर्काउन र विरोधी माहोल सिर्जना गर्न उक्साइन । नेताहरुले पनि विरोध तथा पारित नहुने भनिरहेकै थिए ।
तर अन्न सत्ता गठबन्धनमा प्रचण्ड र माधव नेपाल एमसीसी पारित गर्न तयार भए । सैद्धान्तिक घोषणामा मान्यताका लागि अमेरिकी राजदूत बेरीले सहजीकरण भूमिका खेलेदिए । अन्तत एमसीसी पास भयो । यहाँ पनि चीन पछि परयो । लगत्तै चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आए । उनले बीआरआई परियोजनामा सम्झौता गर्न खोजेका थिए ।
तर भर्खरै ५० अर्ब अनुदान सम्झौतालाई संसदबाट पास गरेको नेपालले बीआरआईबाट पनि अनुदान नै खोज्यो । ऋणको भारी बोकाउन आएका चिनियाँ विदेशमन्त्री अनुदानको प्रस्ताव बोकेर फर्किए । यो चिनियाँ राजदूतको दोस्रो असफलता थियो । अहिले सरकारले चिनियाँ कम्पनी गेजुवासँग भएको नेपालको बृहत जलविद्युत आयोजना बुढिगण्डकीको ठेक्का रद्ध गरेको छ ।
नेकपाको सरकार हुँदा सोझै पाएको बुढीगण्डकी चीनले अहिले गुमाएको हो । वर्तमान सरकारले आफै बनाउने भनेर निर्णय गरेको हो । जसलाई देउवा सरको माइलस्टोन निर्णयका रुपमा लिइएको छ । नेपालकै बृहत् जलविद्युत आयोजना पाएर पनि चिनियाँ कम्पनीले काम नगरेका बेला सरकारले एक्सन लिएको हो । यो चिनियाँ राजदूत यान्छीको पालाको अर्को असफलता हो ।
यसरी हेर्दा नेपालमा साइलेन्ट डिप्लोमेसी चलाइरहेका अमेरिकी र भारतीय राजदूत सफल देखिएका छन् भने माइक्रो म्यानेटमेन्टमा उत्रिएको चीन बद्नाम भएको छ भने चिनियाँ राजदूतको कार्यशैलीले चीनले पाएका कुराहरु धमाधम गुमाइरहेको छ ।


