१२ कार्तिक २०८३, बुधबार

जसपाले मुद्दा खेपिरहेका ठग र भ्रष्टाचारीलाई राजदूत सिफारिस गरेको खुलासा, संसदमै पर्यो उजुरी

एसीपी संवाददाता

११ बैशाख २०७९, आईतवार ०८:२८ मा प्रकाशित

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाबाट डेनमार्कका लागि नेपाली राजदूतमा सिफारिस रामस्वार्थ राय भ्रष्टाचार र अनियमितता काण्डमा मुछिएको खुलेको छ ।

विगतमा रायले विभिन्न सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेको, ठगी गरेको, अनियमितता गरेको प्रमाणसहित संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

धनुषा साइन्स क्याम्पस जनकपुरकी सञ्चालक हिमालय शाहले दिएको उजुरीमा रायले क्याम्पस सञ्चालनका क्रममा र सञ्चालक समिति अध्यक्ष भएका बेला आफूलाई ठगेको, कागजात लुकाएको, आफैलाई थाहा नदिई अन्यत्र खाता खोलेर कारोबार गरेको, क्याम्पसमा बेइमानी र भ्रष्टाचार गरेको उल्लेख गरेकी छन् । त्यसैगरी रायले दोहोरो सुविधा लिएको कुरा पनि बाहिर आएको छ ।

रायले त्रिभुवन विश्वविद्यालयको प्रधानाध्यापक/क्याम्पस प्रमुख हुँदाहुँदै त्रिभुवन विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० (संशोधनसहित) को नियम ६९ विपरीत कुनै पनि निजी क्याम्पसको सञ्चालक समितिमा बस्न नपाउने कानूनी व्यवस्थाविपरीत निजी कलेजमा बसेर ठगी गरेको उजुरीमा उल्लेख छ ।

क्याम्पस सञ्चालक समितिमा रहँदा पनि रायले गरेको भनी लेखापरीक्षणले देखाएका आर्थिक अनियमितताहरूको विवरण पनि उजुरीमा उल्लेख गरिएको छ । उनलाई कारबाही गराउन आफूले प्रयास गरे पनि राजनीतिक संरक्षणका कारण हुन नसकेको भन्दै प्रमाण नै उल्लेख गरेकी छन् ।

यस्तो आर्थिक अपचलन र नैतिक विचलनमा फसेको मान्छेलाई राजदूत बनाएर पुरस्कृत नगर्न उनले आग्रह गरेकी छन् । ‘निजले भ्रष्टाचार तथा ठगी गरेको हुँदा सोउपर अख्तिययार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भइरहेको छ भने सोही विषयमा जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला सरकारी वकिल कार्यालय धनुषामा निजउपर ठगीको जाहेरी परेको छ ।

यसरी रामस्वार्थ राय ठग र भ्रष्टाचारी भएकाले निज राजदूत हुन अयोग्य भै उपयुक्त छैन,’ उजुरीमा भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x