कसको सल्लाहमा राजीनामाको मनस्थितिमा पुगिन् राष्ट्रपति भण्डारी ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिने मनस्थितिमा पुगेकी छिन् । भण्डारीले राष्ट्रपति कार्यालयबाट सुझाव र प्रश्नसहित फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाको बैठकले एक अक्षर पनि तलमाथि नपारी पुनः बहुमतले पारित गरेसँगै राजीनामा दिने मनस्थितिमा बनाएको राष्ट्रपति निकट स्रोतले बताएको छ ।
राष्ट्रपतिले राजीनामा दिनुपछाडिको राजनीतिक शक्ति एमालेबाट प्राप्त भएको स्रोतको दाबी रहेको छ । प्रतिनिधि सभाले पारित गरिसकेको यो विधेयक राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभाले सोमबार नै नागरिकता विधेयक प्रस्ताव पेश गर्नुपर्ने थियो । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधन भएपछि शोक प्रस्ताव पारित गर्दै सोमबारको बैठक स्थगित भएको छ ।
बैठक राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार नै बोलाउने अपेक्षा विपरीत अर्को आइतबार (भदौ १२ गते) का लागिमात्र डाकेका छन् । राष्ट्रपति भण्डारीले पछिल्लो समयमा जारी राखेको छलफल र संवादको श्रृंखलाबाट सरकारमाथि दबाब बढाउने उद्धेश्य राखेकी छिन् । सोही उद्धेश्यअनुसार तिमिल्सिनाले बैठक सारेको बताइन्छ । यो अवधिमा उनले के कसरी अगाडि बढ्न सकिन्छ भनेर समयको लाभसमेत पाउने छिन् ।
भदौ १२ गते प्रतिनिधि सभाले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रिय सभामा प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँ पनि सत्ताधारी गठबन्धनको बहुमत भएकाले दोस्रो पटक नागरिकता विधेयक पारित हुने निश्चित छ ।
त्यसपछि त्यो प्रमाणीकरणका लागि पुनः राष्ट्रपति कार्यालयमा आउनेछ । संविधानतः दोस्रो पटक पनि संसदले पारित गरेपछि राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प हुने छैन । यसअघि राजाका पालामा सर्वोच्च अदालतमा जिज्ञासाका लागि पठाउने चलन भए पनि गणतन्त्रपछि भने यो नयाँ व्यवस्था कायम भएको हो ।
यस अर्थमा अब राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने वा यसलाई नै राजनीतिक मुद्दा बनाएर राष्ट्रपतिको पदबाट बाहिरिने दुई वटा विकल्पमात्र रहेका छन् ।
एमालेलाई चुनावी एजेन्डा बनाउने सन्दर्भमा उनको ‘इन्ट्रेष्ट’ बढी देखिन्छ । राजीनामा दिएर एमालेको चुनावी एजेन्डा बनाउने भन्नेमा उनले घनिभूत छलफल थालेकी बुझिएको छ ।



