भारतले आज ७४ औं गणतन्त्र दिवस मनाइँदै
एजेन्सी । छिमेकी देश भारतले बिहीबार ७४ औं गणतन्त्र दिवस मनाउँदै छ ।
सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४९ जनवरी २६ मा संविधान सभाबाट संविधान जारी भएको दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउने गर्दछ ।
यस अवसरमा राजधानी नयाँदिल्लीमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति भवन अगाडिको सडकमा आयोजना हुने विशेष परेड समारोहमा भारतीय सैनिकको शक्ति प्रदर्शन पनि गर्ने गरिन्छ ।
कार्यक्रमका लागि नयाँदिल्लीसहित भारतभर सुरक्षा व्यवस्था कडा बनाईएको छ । कार्यक्रममा दशौं हजारको सहभागिता रहने छ ।
सन् १९५० मा आजकै दिन (जनवरी २६) मा भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो । भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ । संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैं चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्थाहरू स्थापित गरेको हो । डा. राजेन्द्र प्रसादले दरबार हाउसमा भारतको पहिलो राष्ट्रपतिको शपथ लिएका थिए । त्यसलगत्तै उनले इर्विन रंगशाला (हाल मेजर ध्यान चन्द रंगशाला) पुगेर भारतको राष्ट्रिय झन्डा फहराएका थिए ।
सुरुका चार वर्ष भारतको गणतन्त्र समारोह इर्विन रंगशाला, रेड फर्ट र रामलिला मैदानमा मनाइएको थियो । पहिलो गणतन्त्र परेड १९५५ मा राजपथमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पाकिस्तानका गभर्नर जनरल मलिक गुलाम मुहम्मद मुख्य अतिथि थिए । फ्रान्सेली सैनिक टोलीले २०१८ मा पहिलो विदेशी टोलीका रूपमा भारतको गणतन्त्र दिवसका अवसरमा आयोजित परेड समारोहमा भाग लिएको थियो ।


