१७ जेष्ठ २०८१, बिहीबार

(सार्क)राष्ट्रहरूले महामारीविरुद्ध लड्न आपत्कालीन कोष घोषणा,मोदीले एक करोड अमेरिकी डलर योगदान गर्ने कोष स्थापनाको प्रस्ताव

एसीपी संवाददाता

३ चैत्र २०७६, सोमबार ०५:०८ मा प्रकाशित

एजेन्सी चैत ३ गते ।
नयाँदिल्ली — दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीविरुद्ध लड्न आपत्कालीन कोष घोषणा गरेका छन् । सार्क सदस्य राष्ट्रका सरकार प्रमुख र उच्च प्रतिनिधिबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा एक करोड अमेरिकी डलरको कोष घोषणा गरिएको हो ।
छलफलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तर्फबाट एक करोड अमेरिकी डलर योगदान गर्ने जनाउँदै कोष स्थापनाको प्रस्ताव गरेका थिए । उनले अन्य मुलुकले कोषमा स्वैच्छिक रूपमा योगदान गर्न सक्ने र आवश्यकताअनुसार जुनसुकै मुलुकले कोषको रकम उपयोग गर्न सक्ने बताएका थिए । प्रस्तावमा सबै मुलुकले समर्थन जनाएका छन् । कोषको कार्यविधि दूतावासहरूमार्फत विदेश सचिवहरूले टुंगो लगाउनेछन् ।

भिडियो छलफलमा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना गठन गर्ने समझदारी पनि भएको छ । सार्क सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान र दीर्घकालीन सहकार्यका लागि क्षेत्रीय संरचनाको आवश्यकता छलफलमा सहभागी सरकार प्रमुख तथा प्रतिनिधिले औंल्याएका थिए । छलफलका लागि भारतको विदेश मन्त्रालयले समन्वय गरेको थियो । सार्क राष्ट्रका प्रमुखहरू सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनपछि पहिलो पटक यसरी सँगै छलफलमा सहभागी भएका हुन् । पाकिस्तानमा सन् २०१६ मा १९ औं शिखर सम्मेलन हुने तय भए पनि भारत र पाकिस्तानबीच विकसितकटुतापूर्ण सम्बन्धका कारण सार्क निष्क्रियझैं बन्न पुगेको थियो ।

छलफल सुरु गर्दै मोदीले महामारी नियन्त्रणका लागि भारतले चालेका कदमबारे जानकारी गराएका थिए । उनले आवश्यक परे सार्क मुलुकमा परिचालन गर्न भारतले चिकित्सक र विशेषज्ञको ‘रेपिड रेस्पोन्स टिम’का अतिरिक्त टेस्टिङ किट र उपकरण तयार राखेको बताए । अरू मुलुकका सरकार प्रमुख र प्रतिनिधिले पनि आआफ्ना प्रयास सुनाएका थिए । मोदीले गम्भीर चुनौतीको घडीमा सबै मिलेर काम गर्नुको विकल्प नभएको बताए । ‘महामारीले आगामी दिनमा कस्तो रूप लिन्छ भन्ने थाहा छैन । त्यसैले हामीले मिलेर काम गर्नुपर्छ,’ उनले छलफलमा भनेका थिए ।

उनले महामारीका कारण सिर्जित परिस्थितिको सामना एकसाथ गर्नुपर्नेमा जोड दिए । ‘हामी यो परिस्थितिमा साझेदारीको भावनासहित अगाडि बढ्नुपर्ने खाँचो छ,’ उनले भने। मोदीले आपत्कालीन उद्धार टिमका लागि अनलाइन तालिम दिन पनि भारत तयार रहेको जानकारी दिए । उनले शंकास्पद संक्रमितहरूको पहिचान र निगरानीका लागि प्रयोगमा ल्याइएको जिल्लास्तरीय एकीकृत निगरानी पोर्टल उपलब्ध गराउन र यसको प्रयोगका लागि तालिम दिन सकिने बताए । अन्य सार्क मुलुकहरूमा भइरहेको उत्कृष्ट अभ्यासलाई साट्न सकिनेसमेत उनको भनाइ थियो ।

भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियामा महामारी नियन्त्रणका लागि साझा अनुसन्धान केन्द्र बनाउने प्रस्ताव पनि गरेका छन् । यसको समन्वयका लागि भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले सहयोग गर्ने पनि उनले बताए । ‘विज्ञहरूलाई महामारीले अर्थतन्त्रमा पार्ने दीर्घकालीन असरको अध्ययन गर्नका लागि आग्रह गर्न सक्छौं । उनीहरूले यस क्षेत्रको व्यापार र आपूर्ति प्रणालीलाई कसरी जोगाउने भन्नेमा अध्ययन गर्नेछन्,’ उनले भने ।

मोदीले कोभिड–१९ महामारी पहिलो र अन्तिम नभएकाले सार्क मुलुकहरूबीच साझा रणनीति आवश्यक रहेको बताए । ‘आजको आवश्यकता आपसी ज्ञान र अनुभव बाँड्ने हो,’ उनले थपे, ‘यो लडाइँ सबैले मिलेर लड्नु छ । हामीबीचको सहकार्य बाँकी विश्वका लागि पनि उदाहरण बन्नेछ भन्ने विश्वास छ ।’

प्रधानमन्त्री केपी शर्माले ओलीले सामूहिक प्रयासमा कोभिड–१९ विरुद्ध लड्न सकिने धारणा राखे । उनले नेपालमा एक जनाबाहेकमा संक्रमण पुष्टि नभए पनि जोखिम रहेको बताए । ‘महामारी रोकथामका लागि हामीले विभिन्न उपाय अवलम्बन गरेका छौं । केन्द्र, प्रदेश र स्थानीय तहमा समन्वयका लागि निकायहरू गठन गरिएका छन् । विदेशीहरूको आवागमनमा रोक लगाइएको छ,’ ओलीले भनेका थिए । उनले वैदेशिक रोजगारीमा जानका लागिसमेत रोक लगाइएको, पर्वतारोहण बन्द गरिएको तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन स्थगन गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

प्रधानमन्त्री ओलीले महामारीको कुनै सीमा, राष्ट्रियता र क्षेत्र नहुने उल्लेख गर्दै यसविरुद्ध लड्न साझा पहलको खाँचो रहेको बताए । यस किसिमको महामारी नियन्त्रणका लागि जनचेतनाको भूमिका अहम् हुने उनको भनाइ थियो । ‘समुदायमा आधारित संस्था, स्वास्थ्य र गैरस्वास्थ्य क्षेत्रसँग सम्बन्धित संस्था तथा स्वयंसेवकलाई जनचेतना फैलाउन र सरकारी निकायलाई सघाउन परिचालन गर्न सकिन्छ । हामीले आफ्ना नागरिकलाई अनावश्यक विदेश भ्रमण नगर्न र भेला नहुन आह्वान गर्नुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले सार्क क्षेत्र परम्परागत औषधिका लागि धनी भएकाले आमनागरिकलाई त्यस्ता औषधि प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले अभिवादनका क्रममा हात मिलाउनेभन्दा पनि नमस्ते गरे भाइरस सर्नबाट जोगिइने बताए ।

ओलीले सीमापारिबाट आउने संक्रमितको स्वास्थ्य परीक्षण र उपचारका लागि सीमा अस्पतालहरू प्रयोग गर्न सकिने सुझाव दिए । ‘अस्पताल, स्वास्थ्य क्षेत्र, अनुसन्धान संस्था र स्वास्थ्य कार्यकर्ताबीच आफ्नो अनुभव, अनुसन्धानका विवरण र उत्कृष्ट अभ्यास साटासाट गर्नका लागि क्षेत्रीय सन्जाल विस्तार गर्न सकिन्छ,’ ओलीको प्रस्ताव थियो । उनले औषधि, स्वास्थ्य उपकरणलगायतको आपूर्ति सुनिश्चित गर्न सार्कस्तरीय संयन्त्र निर्माणको खाँचो औंल्याएका थिए । ‘स्रोत साधनसहितको सार्कस्तरीय आपत्कालीन स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्छ,’ उनको सुझाव थियो ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भने इरानसँगको खुला सीमाले सबैभन्दा बढी जोखिम निम्त्याएको बताए । घानीले सार्क मुलुकको ठूलो भूभाग कठिन र दुर्गम रहेकाले कोभिड–१९ जस्तो महामारी नियन्त्रणका लागि ‘टेली मेडिसिन’ को भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भूपरिवेष्टित मुलुकहरूबीचको नाका बन्द गर्दा औषधिलगायत अत्यावश्यक वस्तुको अभाव हुने भएकाले बन्दको साटो नाका नियमन गर्नु राम्रो हुने धारणा राखे ।
माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले यसअघि सन् २००३ मा सार्स भाइरसको त्रासका बेला जस्तै सार्क मुलुकका स्वास्थ्य मन्त्रीहरूको नियमित बैठक बस्नुपर्ने बताए । उनले महामारीविरुद्ध लड्न सबैभन्दा पहिले सूचना आदानप्रदानलाई सघन पार्नुपर्ने र विशेष रणनीति तर्जुमा गर्नुपर्ने बताए । ‘स्वास्थ्यसम्बन्धी आपत्कालीन निकायबीचको समन्वय र अर्थतन्त्र उकास्न विशेष रणनीति बनाउनुपर्छ,’ उनले भने ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले सार्कको प्रस्तावनामै सहकार्यको उल्लेख गरिएकाले पछिल्लो संकटसँग जुध्न विशेष किसिमको क्षेत्रीय संयन्त्र निर्माण गर्नुपर्ने बताइन् । उनले महामारीसँग जुध्न विशेषज्ञता र स्रोतमा साझेदारी गर्न समन्वयको खाँचो औंल्याइन् । ‘अहिलेको संवाद र छलफललाई विशेषज्ञ र प्राविधिक तहसम्म लैजानुपर्छ,’ उनले भनिन् ।

उनले मोदीका प्रस्तावहरूको स्वागत गर्दै तिनको थप अध्ययन गरेर कार्यान्वयनका लागि छलफल गर्नुपर्नेमा जोड दिइन् । उनले बंगलादेश सबै किसिमको क्षेत्रीय सहकार्यका लागि तयार रहेको समेत जानकारी दिइन् ।
श्रीलंकाका राष्ट्रपति गोटभाया राजपाक्षेले आगामी अप्रिलमा संसद्को चुनाव हुने तय भए पनि कोभिड–१९ फैलन नदिन ठूला सभा र भेटघाटमा रोक लगाइएको बताए । राजपाक्षेले पर्यटन क्षेत्रले ठूलो धक्का व्यहोरेको र त्यसको असर पूरै अर्थतन्त्रमा देखिएको सुनाए । उनले अर्थतन्त्रमा देखिएको असरबाट पार पाउन विशेष रणनीति आवश्यक रहेको समेत बताए । उनले कोभिड–१९ लाई नियन्त्रण गर्न सार्क मन्त्रीस्तरीय विशेष संयन्त्र बनाउनुपर्नेमा जोड दिए । ‘यो मात्र होइन, भविष्यमा आइपर्ने यस किसिमको संकटसँग जुध्न पनि मिलेर काम गर्नु आवश्यक छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले महामारीका कारण अर्थतन्त्रले चुकाएको मूल्यको हिसाब बाँकी रहेकाले यो लम्बिए सबैलाई असर पर्ने उल्लेख गरे । ‘अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि क्षेत्रीय परामर्शसँगै आपूर्ति प्रणालीमा सहज पहुँच, क्षेत्रीय व्यापार, लगानी, सम्पर्क र पर्यटन क्षेत्रमा सहयोगको भूमिका महत्त्वपूर्ण हुनेछ,’ उनको भनाइ थियो । माल्दिभ्सका राष्ट्रपति सोलिहले कोभिड–१९ ले विशेषगरी साना अर्थतन्त्रमा ठूलो असर पर्ने उल्लेख गर्दै त्यसमा विशेष सहकार्य चाहिने बताए । ‘माल्दिभ्सको विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन हो, चीन र इटालीबाट सबैभन्दा बढी पर्यटक आउने हुन्, अहिले त्यो ठप्प छ,’ उनले भने ।

भुटानका प्रधानमन्त्री लोट्या छिरिङले पनि साना अर्थतन्त्रमा धेरै असर पर्ने भएकाले यसको दीर्घकालीन प्रभावको अध्ययन थाल्नुपर्ने बताए । त्यसका लागि सार्क मुलुकहरूबीच समन्वयको खाँचो रहेको उनको भनाइ थियो । ‘हामी शत्रु देख्दैनौं तर यसले सबैतिर असर पुर्‍याएको हुन्छ । विशेषगरी साना अर्थतन्त्रलाई नराम्रोसँग धक्का दिन्छ,’ उनले भने ।

पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जफर मिर्जाले अत्यन्त खराब अवस्थाका लागि तयार रहनुपर्ने भन्दै क्षेत्रीय सहकार्यमा सार्क सचिवालयको भूमिका अहम् हुने बताए । ‘प्राविधिक र आर्थिकलगायत सबै किसिमका स्रोत एकीकृत गर्न यो मञ्च उपयोगी हुनेछ,’ उनले भने । उनले सूचना आदानप्रदानलगायत कामका लागि स्वास्थ्य मन्त्रीस्तरीय एउटा विशेष संयन्त्र गठनमा पनि जोड दिए ।

छलफलमा पाकिस्तानी स्वास्थ्य राज्यमन्त्री मिर्जाले कश्मीरको प्रसंग पनि उप्काएका थिए । उनले कश्मीरमा यो बेला लगाइएको सबै किसिमको प्रतिबन्ध हटाउनुपर्ने बताएका थिए । त्यसबारे भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया जनाएनन् ।

कोभिड–१९ महामारीको त्रास विश्वव्यापी भएका बेला आइतबार भएको छलफललाई सार्कको पुनर्जीवनका रूपमा कतिपय विश्लेषकले अर्थ्याएका छन् । सार्क राष्ट्रमा कोभिड–१९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । कोभिड–१९ महामारीको त्रास विश्वव्यापी भएका बेला आइतबार भएको छलफललाई सार्कको पुनर्जीवनका रूपमा कतिपय विश्लेषकले अर्थ्याएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x