६ कार्तिक २०८१, मंगलवार

नेपाल जान हिँडेका करिब दुई सय नेपाली अझै भारतमा

एसीपी संवाददाता

१२ चैत्र २०७६, बुधबार ११:३५ मा प्रकाशित

चैत १२ न्यूज एजेन्सी / नयाँदिल्ली — नेपाल जान हिँडेका करिब दुई सय नेपाली अझै दिल्ली र आसपासको क्षेत्रमा अलपत्र परेका छन् । भारतमा कोरोना महामारीको त्रास बढ्दै गएपछि कामगर्दै आएको व्यापारव्यवसाय बन्द भएपछि नेपाल जान भनेर उनीहरु हिँडेका हुन् । कोरोना महामारी फैलन नदिन भारतको केन्द्रीय तथा राज्य सरकारहरुले लकडाउन गरेपछि भारतभरि नै व्यापारव्यवसाय ठप्प हुन पुगेको छ । जसका कारण भारतका दिल्लीलगायतका विभिन्न शहरमा काम गर्दै आएका नेपालीहरु घर जान बाध्य भएका छ्न । तर, यात्रुवाहक रेल र बससेवा बन्दसँगै पुरै भारतभर लकडाउन गरिएका कारण सबै जना दिल्ली र छेउछाउमा त्यसै अलपत्र परेका छन् ।यिनीहरुमध्ये ८० भन्दा बढी नोयडा सेक्टरमा अलपत्र छन् । उनीहरुमध्ये पचासभन्दा बढी अधिकांश त्यही क्षेत्रमा क्यान्टिन, पसल र ठेलागाडा चलाउनेलगायतका पेशामा संलग्न थिए। धेरैजसो दैनिक ज्यालादारीमा काम गर्दै आएका कारण कोरोना महामारीको त्रासका कारण व्यवसायहरु बन्द उनीहरुको रोजगारी पनि गुमेको छ । त्यसमाथि उनीहरु घर जान समेत पाएका छैनन् । त्यसबाहेक २५ जना गोवाबाट आएकाहरु छन् ।त्यसैगरी करीब पचासभन्दा बढी हरियाणाको गुवगावँको मेदान अस्पताल छेउछाउमा अलपत्र परेको बताइएको छ । बैंग्लोरबाट आएका २५ जना त दिल्लीकै छतरपुरमै विगत तीन दिनदेखिनै अलपत्र अवस्थामा छन् । यसका अतिरिक्त गोवाबाट आएका दश जना दिल्लीको पन्जाबी बागमा अलपत्र छन् ।त्यसैगरी हरियाणाकाे फरिदावादमा काम गर्ने ३२ जना कम्पनी बन्द भएपछि नेपाल जान हिँडेकोमा सबैतिर बन्द भएपछि त्यत्तिकै अलपत्र परेका छन् । कम्पनीले काम बन्द भएपछि बस्न नदिएपछि सडकमा आएका हुन् ।दक्षिण भारतको चेन्नईबाट एक महिने दूधे बालकसहित आएको ६ जनाको नेपाली टोली वित तीन दिनदेखि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल छेउको जंगलमा रहेका अनकन्टार ठाउँमा बसिरहेका छन् । यसरी अलपत्र परेकाहरुको कोही सडकमा यत्तिकै बसेका छन् भने कोही भूखण्डहरजस्ता भवनहरुमा । त्योभन्दा पनि भारतीय प्रधानमन्त्री मोदीले मंगलबारसाँझ पुरै देशभर लकडाउन घोषणा गरेपछि त उनीहरुको थप बिचल्ली भएको छ ।

उक्त घोषणा पछि यसअघि खुल्ने गरेका किराना पसलहरु पनि बन्द भएका छन् । जसले गर्दा कतिपयसँग पैसा भएर पनि खानेकुरा किन्न सकेका छैनन् । यदि यही अवस्था लामो समयसम्म रहने हो भने आफूहरु भोकै मर्ने उनीहरुले बताए ।

नोयडामा एउटा क्यान्टिमा दैनिक ज्यालादारीमा काम गर्दै आएका अर्घाखाँची, मालारानी गाउँपालिकाका राजेश खनालले भोकै मर्ने अवस्था सिर्जना भएको बताए । ‘काम बन्द भएपछि यहाँ बस्ने अवस्था छैन । पुलिसले पनि बाहिर निस्कन दिँदैन, अलिअलि भएको खर्च पनि सकिइसक्यो,’ खनालले कान्तिपुरसँग भने ।आफूहरुलाई दूतावासले जसरी भए पनि नेपाल पठाउन पहल गर्नुपर्ने खनालको माग छ । आफूहरु मध्ये कतिपय बिरामी पर्ने अवस्थामा पुगेको र यदि त्यस्तो भएमा उपचारका लागि कहाँ जाने भन्नेसमेत अन्योल रहेको उनले बताए । यसरी दिल्लीमा अलपत्र पर्नु भन्दा आफ्नै देशमा गएर बरु क्वारान्टाइनमा भए पनि बस्न तयार रहेको खनालको भनाइ छ ।

प्रवासी नेपाली संगठनहरुले पनि यसरी अलपत्र परेका नेपालीहरुलाई नेपाल सरकारले भारतसरकारसँग समन्वय गरेर उचित प्रबन्ध गर्नुपर्ने माग गरेका छन् । उनीहरुले अलपत्र परेका नेपालीहरुलाई सकेसम्म मेडिकल जाँच गराएर नेपाल पठाउनु नभए सबैलाई एउटा ठाउँमा अस्थायी क्याम्प बनाएर राख्ने व्यवस्था गर्न आग्रह गरेका छन् । ‘दूतावास र सरकारले भारत सरकारसँग समन्वय गरेर उनीहरुको केही न केही व्यवस्थापन गर्नुपर्छ,’ अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भने ।

खडकाले यीबाहेक पनि दिल्ली र एनसिआरमा पाँचसयभन्दा नेपालीहरु केही समयका लागि आफन्त र चिनेजानेकोमा बसेको बताए । र, केही दिनपछि उनीहरुको पनि बिचल्ली हुने खड्काको भनाई छ । ‘तिनीहरु कतिदिन बस्छन् । पैसा भए पनि किन्ने अवस्था छैन । ती आफन्तहरुले पनि कति दिन पाल्छन् र ? केही दिन पछि त उनीहरुको विचल्ली हुनेवाला छ,’ खड्काले भने । तर, दिल्लीस्थित नेपाली दूतावासले भने अलपत्र परेका सबै नेपालीहरुलाई घर लैजान सम्भव नभए पनि आवश्यक परेको खण्डमा खाना र आकस्मिक उपचारको व्यवस्थ गर्न तयार रहेको बताएको छ । ‘अहिले नेपाल लैजाने अवस्था त छैन तर खाना र विरामीलाई तत्काल उपचार गर्नुपर्ने आएको अवस्थामा दूतावासले समन्वय गर्छ र सबै नेपालीहरुलाई दूतावासमा सम्पर्क गर्न अग्रह पनि गरेका छौं,’ दूतावासका प्रवक्ता हरि ओडारीले भने । सभार – ई कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x