पार्टी एकीकरणको हल्ला निराधार: माधव नेपाल
नेपालगन्ज । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी एकीकरणको हल्ला निराधार भएको बताएका छन् । नेकपा एकीकृत समाजवादी कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपालले अन्य पार्टीसंगको एकीकरण र समाहित हुने भन्ने हल्ला निराधार भएको बताए । उनले आगामी चुनाव एक्लै लड्ने गरी तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।
पार्टीको संगठन बिस्तार एवम् कार्यकर्तालाई प्रशिक्षण गर्दै देश दौडाहामा रहेका अध्यक्ष नेपालले बाढी-पहिरोपछि नागरिकलाई अनुभूत हुने गरी सरकारले काम गर्न नसकिरहेको टिप्पणी गर्नुभयो । उनले सरकारका क्रियाकलापमा अधिनायकवाद देखिएको जिकिर गरे । सरकारले जनतामा आशा जगाउने गरी सकारात्मक काम गर्न नसकेको उनको दाबी छ ।
कोहलपुर नगर कमिटी कार्यालयमा नगर इन्चार्ज बिष्णु पोख्रेलले अध्यक्ष नेपाललाई स्वागत गरेका थिए । नेकपा एकीकृत समाजवादी पार्टी जनताको भएकोले जनताको बीचमै रहेर जनताको समस्या साथमा लिई सधैं समाधानको पक्षमा अघि बढ्ने बताए ।



