१२ मंसिर २०८०, मंगलवार

उखान. टुक्का र कविताले कोरोना त के झिगा पनि डराउँदैन

एसीपी संवाददाता

१७ जेष्ठ २०७७, शनिबार ००:०० मा प्रकाशित

 

प्रमकाे सम्बाेधनपछि उब्जिएका प्रश्न-उत्तर

आदरणीय दिदी बहिनी तथा दाजु भाइहरु, आशा गर्छु तपाईंहरु सबै स्वस्थ हुनु हुन्छ। बिगतमा मैले धेरै गफ चुटेँ, उखान टुक्काले जनता हँसाएँ किनकि हसाउनु पर्ने धुर्मुस-सुन्तली एकीकृत बस्ती र रंगशाला बनाउन व्यस्त भएका थिए। आज म जीवनमा पहिलो पटक इमान्दार भएर राष्ट्रको नाममा सम्बोधन गरिरहेको छु। मैले सोचेजस्तो विश्व चकित पर्नेगरी काम गर्न सकेको रहेनछु। देशलाई नयाँ युगमा पुर्याएको कुरा पत्रिका र भाषणमा मात्रै सीमित रहेछ। अहिले विश्व नै कोरोनाको महामारीसंग जुधिरहेको छ। “एक जना पनि कोरोनाका कारण मर्न दिन्नौँ” भनेर गफ चुटेँ अनि “कोरोनाको बोसिया तत्व तातोपानीले जान्छ” भनेर गीता ज्ञान पनि नागरिकलाई बाँडे तर कोरोना रोकथामका लागि पनि मैले सोचे जस्तो विश्व चकित पार्ने काम गर्न सकेको रहेनछु।

मैले भ्रष्टचारीको अनुहार पनि हेर्दिन भनेर गफ चुटेँ तर भ्रष्टचारी र माफियाहरु सधैँ दायाँ बायाँ राखेँ र निष्पक्ष अनुसन्धान गर्न नदिई आफैँ न्यायाधिश बनेर उनिहरुलाई पटकपटक चोख्याउने काम गरेँ। मैले निरंकुशताको बिरुद्द संघर्ष गरेर १४ वर्ष जेल बसेँ तर आज मेरो र मेरा साथीहरुको जीवनस्तर मात्रै फेरियो, नागरिकको फेर्न सकिन। मैले राष्ट्रको ढुकुटीबाट करोडौँ उपचार खर्च लिएँ तर जनता सामान्य उपचार नपाएर मर्न बाध्य भएको कुरामा अलिकति पनि संबेदनशील हुन् सकिन। २,२ पटक प्रधानमन्त्री हुँदा समेत पटकपटक उपचार गर्न विदेश गएँ तर नेपालमा एउटा गर्व गर्न लायक अस्पताल समेत बनाउन सकिन।

राजा र राणाहरुले नै बनाइदिएको महलमा बसेर तिनैलाई सरापी रहेँ तर आफूले उल्लेखनीय काम केहि नगरेको बुझ्न नै सकिन। कोहि भोकै मर्नु पर्दैन भनेर कबिता फुराएँ तर भोकै/नाङ्गै सडकमा नागरिक उपचारबिहीन भएर मरेको कुरालाई सरकार बिरोधीहरुको होहल्ला मात्रै ठानेँ। नागरिकले दुःख पाएको कुरा रिपोर्ट गर्ने पत्रकारहरुलाई नै मैले दुश्मन देखेँ र आशंका गरेँ।

आज म विषयान्तर नगरी, कोरोना भाइरसमा केन्द्रित हुन् चाहन्छु। २ महिना भन्दा बढी लकडाउन गरियो तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप २०० जनालाई पनि क्वारेन्टाइनमा राख्न सक्ने गरि व्यवस्था मिलाउन सकिनँ। मैले “विदेशमा जहाँ भए पनि त्यै बस्नु, नेपाल छिराएर कोरोना फैल्याउनु हुँदैन” भनेर आदेश दिएँ तर २० औँ लाख नागरिकलाई वर्षाैँसम्म देश बाहिर राख्न सकिँदैन भन्ने मैले बुझ्न समेत सकिन। चीनमा जस्तै कडा लकडाउन र राहत वितरण अथवा दक्षिण कोरियामा जस्तै अत्यधिक टेस्टिङ्ग र क्वारेन्टाइन गर्न नेपालको हैसियत भन्दा धेरै टाढाको कुरा रहेछ।

मैले नलजाई भन्नैपर्छ, हामीसंग वर्षाैँसम्म लकडाउने गर्ने, व्यवस्थित रुपमा क्वारेन्टाइन गर्ने, लाखौँ नागरिकलाई तिब्र रुपमा कोरोना टेस्टिङ्ग गर्नेर हुँदा खाने नागरिकलाई दुइछाक खुवाउने क्षमता रहेनछ। यसकारण भोलीदेखि नै लकडाउन खोलिने कुरा घोषणा गर्छु तर सबै जनतालाई विशेष सतर्कता अपनाउन अनुरोध गर्छु । विश्वका अन्य देशको स्थिति हेर्दा, नागरिक र सरकार सचेत नभए नेपालमा पनि लाखौँ संक्रमण र १० औँ हजारको मृत्यु हुने निश्चित रहेछ। तसर्थ, अब सबै नागरिकले एक अर्कालाई कोरोना संक्रमित सोचेर सोहि अनुरुप व्यवहार गर्नुहुन अनुरोध गर्छु।

करिब ९५ प्रतिशत कोरोना संक्रमण उपचार बिना वा सामान्य उपचारबाट निको हुने बैज्ञानिक रुपमा पुष्टि भएको छ तर बाँकी ५ प्रतिशतमा परियो भने हामीसंग जटिल अवस्थाका बिरामीलाई बचाउन आइसीयु बेड, भेन्टिलेटर लगायत कुरा पर्याप्त छैनन्। अर्थात, तपाईंहरुलाई जटिल समस्या देखिएको खण्डमा, भगवान बाहेक कसैले कुनै सहयोग गर्न सक्दैन। लाखौँमा कोरोना संक्रमण भएपछि, नेपालमा भएका आइसीयु बेड, भेन्टिलेटरहरु राजनीतिज्ञ, सम्पन्न नागरिक र पहुँचवालाहरुका निम्ति नै अपुग हुनेछ। महिनौँ लकडाउन गरेँ तर लकडाउनमा आइसीयु बेड, भेन्टिलेटरहरु बढाउनमा नभई भ्रष्टचारी जोगाउन र दल फुटाउन सहज हुने लगायत अनेकका अध्यादेश ल्याउन व्यस्त भएँ।

फेरी अनुरोध गर्छु, तपाईंहरुले झाडापखाला, निमोनिया, सुत्केरी ब्यथा जस्ता सामान्य कुरामा समेत सरकारले स्वास्थ्यकाे ग्यारेन्टी गर्न नसकेको तथ्य सम्झेर आफैँ विशेष सतर्क रहनु होला। साथै, अमेरिका, इटाली जस्ता राम्रो स्वास्थ प्रणाली भएका देशमा समेत अस्पतालमा उपचार गर्न सम्भव नभएर धेरैको घरमा नै मृत्यु भयो भन्ने कुरा पनि स्मरण गर्नु होला। तसर्थ, कोरोनाको औषधि नै नभएका कारण संक्रमण हुन् नै नदिन, भएको खण्डमा भाइरसलाई परास्त गर्न आत्मबल र रोग प्रतिरोधात्मक क्षमता बढाउन जोड दिनु होला।

रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने अदुवा, लसुन लगायत परम्परागत मसला र जडीबुटीहरु आवश्यक मात्रामा सेवन गर्नु होला। तातो पानी मात्रै पिउनु होला। घर परिवार, साथी भाई, इस्टमित्रसंग प्रत्यक्ष वा प्रविधिको सहयोगमा निरन्तर संवाद गर्नु होला। कोरोना लाग्ने बित्तिकै मारिने होइन रहेछ। तसर्थ, कोरोनालाई जित्छु भन्ने आत्मबल बनाउनु होला किनकि भोकमरी, दुर्घटना, आत्महत्या, मुटु रोग, क्यान्सर, सुर्तीजन्य र मादक पदार्थबाट हुने रोग, मलेरिया, झाडापखाला, निमोनिया, वातावरण प्रदुषण, हत्या, द्वन्द्व लगायत अन्य धेरै कारणबाट वर्षेनी लाखौँ नागरिकले ज्यान गुमाउँदै रहेछन्।

अनिवार्य रुपमा सार्वजनिक स्थलमा मास्क लगाउनु होला र सकेसम्म सामाजिक दुरी कायम गर्नु होला। व्यापारी र सेवाग्राहीले पनि आफ्नै स्वास्थ्यका लागि भए पनि विशेष सतर्कता अपनाउनु होला। कसरी सुरक्षित रुपमा मास्क लगाउने भन्ने बारे भिडियो बनाएर सबै टेलिभिजन र सामाजिक संजालमा राखिएको छ। मैले साबुन पानीले पटकपटक हात धुनु भनेर मात्रै हुँदैन भन्ने मलाई थाहा छ किनकि तपाईंहरुसंग पर्याप्त खाने पानी पनि छैन। यसका बाबजुत पनि जसरी भएपनि सर सफाईमा विशेष ख्याल गर्नु होला। सरकारले आफ्ना आसेपासेलाई वर्षाैँदेखि करोडौँ बाँडेको छ तर पनि हुँदा खाने गरिब जनतालाई भने २-४ केजी चामल दिने बाहेक आर्थिक सहयोग नगर्ने कुरा जानकारी गराउँछु।

मध्यम वर्ग वा साना व्यापारीहरुलाई पनि कुनै पनि प्रकारको राहत दिन सकिँदैन। साथै, कृषि क्षत्रमा सरकारले खासै केहि गर्न सक्दैन तर सकेसम्म बाँझो खेतहरुमा खाद्यान्न लगाउन र पशुपालन तत्काल सुरु गर्नु जनतालाई अनुरोध गर्छु किनकि सीमा विवाद र कोरोनाको प्रभावका कारण भारतबाट खाद्यान्न नआउने प्रबल सम्भवना छ। आफ्नो स्वास्थको ख्याल र खाद्यान्नको जोहो आफैँ गर्नु होला। आफ्नो व्यवस्था आफैँ गर्नु होला। बिरामी भएका कारण काम गर्न सक्नु भएन र दुइछाक खान नै पैसा नभएको खण्डमा सामाजिक काम गर्ने संघ संस्थासंग सहयोग माग्नु होला।

कुखुराको खोर जस्तो क्वारेन्टाइनमा बस्नु भन्दा आफ्नै घरमा सुरक्षित रूपमा बस्नु उपयुक्त रहेछ किनकि २०० जना समेत राम्ररी व्यवस्थापन गर्न नसकेको अवस्थामा लाखौं लाई क्वारेन्टाइन राख्न नसकिने रहेछ। अबदेखि कोरना टेस्टिङ्ग अलिकति जटिल समस्या देखिएकालाई मात्र गरिने छ। सामान्य लक्षण देखिएको अवस्थामा,कोरोना संक्रमण भएको आशंका गरेर थप सतर्कता अपनाउने, आराम गर्ने, औषधि खाने लगायत काम गर्नु होला। साथै, कोरोना संक्रमण भएर अस्पतालमा नै उपचार आवश्यक रहेकालाई कोरोना संक्रमित मात्रै रहनेगरी छुट्टै अस्पताल तोकिने छ। एकैचोटी धेरैलाई संक्रमण नहोस भन्नका लागि मेरा मान्छेलाई कमिसन अलिअली खान दिएर भएपनि कोरोनाबिरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैलाई आवश्यक पीपीइ लगायत कुरा खरिद गर्ने छु।

बैज्ञानिक र चिकित्सकहरु कोरोनाभाइरस एक खालको कमजोर भाइरस हो भनिरहेका छन् जसले दीर्घरोग भएका र पाका उमेर समूहकालाई बढी जोखिम हुन्छ। यस कारण दिर्घरोगी र पाका उमेरकालाई अझै बढी ख्याल गर्न फेरी अनुरोध गर्छु। मेरा बिज्ञहरुले मलाई कोरोना भाइरस बारे सत्यतथ्य सुनाएनन् वा भनौँ योग्य टिम नै बनाउन सकिनँ। सधैँ लकडाउन सम्भव नभएर इटाली, स्पेन, बेलायतलगायतका देशले लकडाउन खोलिरहेको कुरा अनि लकडाउन कहिले नगरिएको स्वीडेनमा भन्दा लकडाउन गरिएको बेलायत, स्पेन, इटाली लगायत देशमा धेरै नागरिकले ज्यान गुमाएको घटनाले लकडाउन कोरोनाको औषधी होइन भन्ने कुरा अहिले बुझेँ। नागरिकको चेतना स्तर अनि देशको स्वास्थ्य प्रणाली र सरकार नागरिकप्रति कत्ति जिम्मेवार छ भन्ने कुराले कोरोनाबाट कति जनधनको क्षति हुन्छ भन्ने कुरा मलाई बुझ्न धेरै समय लाग्यो। गफ, कविता र टुक्काले कोरोना डराउँदैन रहेछ भन्ने मैले बुझेँ। माथिका जानकारी मैले पत्रपत्रिकाबाट पाएको हुँ।

विगतमा मैले जानेर वा नजानेर गरेका सबै कमी कमजोरीका निम्ति नेपाली जनतासंग क्षमा माग्छु। आज मैले राष्ट्रको नाममा सम्बोधन गर्दा एउटा पनि उखान टुक्का प्रयोग नगरेकाले, तपाईंहरुलाई खिन्न लागिरहेको होला। माफ गर्नुहोला म आज तपाईंहरुलाई हँसाउँदिन तर केहि बाचा गर्न चाहन्छु। २०४७ सालपछि सत्तामा रहेका सबै शीर्ष नेता तथा कार्यकर्ता र सरकारी कर्मचारीको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्दै सबै भ्रष्टाचारीलाई जेल हालेर नेपाली जनताको मन जित्ने छु। महाकाली सन्धिमा नराम्ररी चुकेँ तर एमसीसीमा चुक्दिनँ। नेपाल र नेपाली जनताको हित हुने सर्तमा मात्रै एमसीसी पारित गर्ने छु। ठोस कुटनैतिक पहल वा अन्तर्राष्ट्रियकरण गरेर भए पनि भविश्यमा भारतले पटकपटक सीमा अतिक्रमण नगर्ने गरि सीमा विवाद टुङ्ग्याउने इमान्दार प्रयास गर्ने छु।

पानीजहाज र रेलको गफ चुट्न छोडेर जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा जस्ता आधारभूत आवश्यकता र संवैधानिक हकको ग्यारेन्टीमा केन्द्रित हुने छु। मेरो मन्त्रीमण्डलका र मेरो सहयोगी टिमका सबै भ्रष्ट र अयोग्यहरुलाई बर्खास्त गरेर देश र जनताको पक्षमा काम गर्नेलाई स्थान दिनेछु। दलका कार्यकर्ता अख्तियार लगायत संवैधानिक आयोग र न्यायालयमा भर्तिगर्ने परिपाटी सदाका लागि अन्त्य गर्ने छु। भाग्यले २ पटक मिर्गौला प्रत्यारोपण गरेर बाँचे, सामान्य नागरिक भएको भए दसकौँ अघि मेरो मृत्यु हुने थियो। राम्रो काम गर्दा मारिएँ भने पनि मलाई मृत्युसंग अब डर छैन तर बाँकी जीवन वास्तवमा नै देश र जनताको पक्षमा उभिएर काम गर्ने बाचा गर्छु। श्रोत गाउसहरमा अन्लाईनमा सुमन बरालले लेखेका छन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x