भाषा देशिय पहिचानको माध्यम कि भावना र विचारको संचार माध्यम ? भाषा एक विज्ञान हो।

भाषा देशिय पहिचानको माध्यम कि भावना र विचारको संचार माध्यम ? भाषा एक विज्ञान हो। यसको क्षेत्रको व्यापकतालाई मापन सकिन्न । भाषा बारे जति बुझ्यो त्यत्ति नै कम छ। भाषा विज्ञानको सागरबाट एउटा थोपाको हजारौं अंश मध्ये एउटा न्युन भागलाई अध्ययन गरी बुझी हालको समयमा व्याप्त भाषा सम्बन्धी विभिन्न विचारलाई मद्देनजर गरी संक्षिप्तमा चित्रण गर्न खोजेको छु। मानव मानवबीच भावना वा विचार सम्वेदना प्रकट गर्ने माध्यम भाषा हो। भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। कुनै खास भाषा कुनै खास समुदाय संस्कृति र देशको सम्पत्ति नभई अन्तर्राष्ट्रिय रूपमा सार्वजनिक सम्पत्ति हो। भाषालाई लिएर कसैले औपचारिक रूपमा एकाधिकार प्राप्त गर्न सक्ने अवस्था छैन र त्यसतो अवस्था आउन दिनु पनि हुन्दैन।
यसै गरी कसैले आफ्नो भाषा मात्र बोल्न पाउने व्यवस्थालाई समर्थन गर्छ भने त्यो संकीर्ण मानसिकतालाई परिभाषित गर्दछ। मानिसलाई उसले सरल लाग्ने भाषाको प्रयोग गर्न बाट वन्चित गर्नु मौलिक अधिकार मध्ये पर्ने संचार, सुचना, स्वतन्त्रता र समानता आदीको अधिकार समेतलाई हनन हुने शत प्रतिशत सम्भावना हुन्छ। कसैको घरको बोलीचालीको भाषा, उसले मान्ने धर्मको पुस्तकको भाषा, उसको आसपासको समाजमा बोलिने भाषा, उसको देशको सरकारी कामकाजको भाषा एउटै हुनु पर्छ भन्ने कर कसैले लगाउन सक्दैन र लगाउनु पनि हुन्दैन। भाषा नै यस्तो विषय हो जुन कुनै खास संज्ञालाई परिभाषित गर्दैन। भाषा एक अर्काको विचार, भनाई, आदेश, उपदेश आदी बुझ्ने संचारको महत्वपूर्ण पाटो हो। भाषाले विचारको मर्मलाई परिवर्तन गर्दैन। व्यक्तिले जुन भाषामा विचार प्रकट गर्दा पनि त्यसको सही अनुवादले वैचारिक भावलाई परिवर्तन गर्दैन तर अर्काे व्यक्तिलाई बुझ्न सजिलो गरि दिन्छ।
नेपालको तराईमा साधारणतया अवधी, भोजपुरी, थारू, मैथिली, नेपाली, उर्दू, हिन्दी, नेवारी आदी भाषाहरू बोलिन्छ र कुनै खास समुदाय जात आदीको मातृभाषा पनि हुन। फरक मातृभाषा भएकाहरू बीच हिन्दी भाषा नै मुख्य रूपमा वार्तालाप गर्न प्रचलनमा छ। एउटा मैथिली भाषी र एउटा अवधी भाषी ले वार्तालाप गर्दा दुवैले बुझ्ने हिन्दी भाषा बोल्ने गर्दछन् । हिन्दी तराईका सबै भाषीहरूले बोल्न बुझ्न सक्ने संचारको भाषा पनि हो। भाषालाई कुनै खास समुदाय देशको एकाधिकार संग जोडी व्याख्या गर्नु हुन्दैन। भाषाको उद्देश्य भावना विचारको प्रस्तुती र हस्तान्तरण हो र हाल यसले देशिय पहिचान बयान गर्दैन।
कुनै राष्ट्रले कुनै भाषालाई बढी प्राथमिकता दिनु अलोकतान्त्रिक हो र एक भाषा नितिले भाषाको विकासक्रम सुस्ताएर जान्छ। लोकतान्त्रिक देशमा कुनै पनि भाषालाई समानताको अधिकार हुन्छ। वर्षौं देखीको असमानता र एउटै भाषाको प्रचलनले जनताहरू बीच अरू भाषा बारे जानकारी न्युन रहेको अवस्था हुन सक्ने अथवा देशको सिमाना भित्र बोलिने विभिन्न भाषाको प्रचलन बारे अज्ञानताको कारण पनि हुन सक्छ साथै कुनै भाषा प्रती नकारात्मक मानसिकता पनि हुन सक्छ जुन एउटा सभ्य समाजको स्थापनामा प्रमुख बाधक हो। हालको वैश्विक परिवेशमा यो दुनिया एउटा गाउँमा परिणत भई सकेको छ। देशको सिमानाले मानिसलाई बाडे पनि संचार माध्यमले सराहनीय प्रगति गरी सकेको अवस्था र विचार आदानप्रदान गर्न कुनै पनि भाषालाई माध्यम बनाउन सकिन्छ। भाषाले भाव प्रकट गरिन्छ। व्यक्तिले आफु सरल सजिलो लाग्ने भाषामा आफ्नो भनाई राख्दा मन भित्र उत्पन्न विचार नै प्रकट हुन्छ र पकड नभएको भाषा प्रयोग गरी भनाई राख्दा अर्थको अनर्थ हुने सम्भावनाको प्रतिशत बढी हुन्छ र भनाईको उद्देश्य पूरा हुन्दैन । भाषा कुनै खास क्षेत्र, संस्कृति, देश, धर्म संग जोडन मिल्दैन। यसरी बुझौं कि भाषालाई कुनै रूप, समुदाय, समुह भित्र सिमित गर्न सकिन्न। एउटा खास भाषा विभिन्न देश राष्ट्रहरूमा बोलिने गरिन्छ जसबाट भाषाको सार्वजनिकीकरण प्रष्ट अवस्थामा रहेको देखिन्छ। भाषा निजि सम्पत्ति नभई सर्वव्यापी विषय हो। उदाहरणको रूपमा कुरान, गीता, पुराण, वेद, आदी ग्रन्थ सर्वव्यापी धर्मका विचार हुन जुन कुनै आर्को भाषामा सही अनुवाद गर्दा ग्रन्थको मूल विचार परिवर्तन हुन्दैन तर अन्य भाषीहरूमा यी ग्रन्थहरूको विचार हस्तान्तरण हुन्छ। यसबाट पनि भाषाको व्यपकता बुझ्न सकिन्छ।



