२४ कार्तिक २०८२, आईतवार

लापरवाहीको परिणाम, कोरोनाको कोहराम !

एसीपी संवाददाता

२३ जेष्ठ २०७७, शुक्रबार १०:३२ मा प्रकाशित

राम कुमार दीक्षित

लामो समय देखि हामी लकडाउनमा छौ । लकडाउन भनेको कुनै एउटा भू–भागमा फैलिएको महामारी अर्को भू–भागमा नफैलियोस् भन्ने उद्देश्यले चैन–ब्रेक गर्नको लागि लकडाउन गर्ने गरिन्छ । महामारी फैलिएको भू–भागका मानिस अन्य भू–भागमा न जाउन र अन्य भू–भागका मानिस संक्रमित भू–भागमा न आउन भन्ने नै लकडाउन हो ।

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो, भने कोरोना भाईरस (कोभिड–१९) नेपालको कुनै भू–भागमा फैलिएको छैन । त्यसकारण नेपालकै एउटा भू–भागमा स्थायी बसोबास गरेको ब्यक्तिको माध्यमबाट अर्को भू–भागमा बस्ने ब्यक्तिलाई कोरोना भाईरस (कोभिड–१९) सर्ने सम्भावना छैन । त्यसकारणले गर्दा खेरी नेपाल भित्रै लकडाउनको कुनै औचित्य छैन । अन्तराष्ट्रिय सिमाना लकडाउनको आवश्यकता हो, सो सम्म ठीक छ । बिदेशबाट मानिस नेपाल भित्र प्रबेश गर्न दिनु हुंदैन । बिदेशबाट मानिस संगै आउने भाईरस हो । नेपालीहरु संसार भरी नै छरिएर रहेका छन । जति सुकै लकडाउन गरे पनि उनीहरु बिदेशबाट आईरहेकै छन । बिदेशबाट आए संगै नेपालमा पनि संक्रमितको संख्या बढेको हो । नेपाल भित्रै स्थायी बसोबास गरी रहेका एउटा नागरिकमा पनि कोरोना भाईरस (कोभिड–१९) भेटिएको छैन । यस कारण नेपाल भित्रै बसोबास गरीरहेकाहरुलाई नेपाल भित्रै एक ठाऊँबाट अर्को ठाऊँमा आवत जावत गर्न नपाउने गरी गरिएको लकडाउनले गरीबि मात्रै बढाएको छ । गरी खाने त भोक भोकै मरी रहेकै छन । हुने खाने पनि भोकमरीको शिकार बन्न पुगेको अवस्था रहेको छ । यो लकडाउनले तस्करी र कालोबजारी मौलाएको छ भने आम जनताको आर्थिक अवस्था खस्केको छ ।

बिदेशबाट नेपाल भित्रिनेहरुबाट गाऊँ समाजलाई जोगाउन सके कोरोना भाईरस (कोभिड–१९) नियंत्रण गर्न सकिन्छ । त्यसैको लागि क्वारेन्टाईनको ब्यवस्था गरिएको छ, तर प्रमुख समस्या यहीं छ । नेपाल सरकारले जारी गरेको गाईडलाईनको पालना न त क्वारेन्टाईन सञ्चालकले गरेका हुन न त क्वारेन्टाईनमा बस्नेले नै गरेका छन । गाईडलाईनमा उल्लेख भए बमोजिम क्वोन्टाईन सञ्चालन गर्ने दायित्व भएका ब्यक्ति संस्थाले सञ्चालन ब्यवस्थापन नगरेकोले क्वारेन्टाईन अस्तब्यस्त भएका छन । एउटा दुईटा क्वारेन्टाईनको दुरावस्था नभएर देशै भरीका क्वारेन्टाईन दुरावस्थामा छन । क्वारेन्टाईन अब्यवस्थित भएको कारणले क्वारेन्टाईनबाटै समुदाय स्तरमा कोरोना भाईरस (कोभिड–१९) फैलिने खतरा बढेको छ । क्वारेन्टाईनको सञ्चालन र ब्यवस्थापनको जिम्मा गाईडलाईन बिपरीत स्थानीय तहलाई दिएको छ । जबकि स्थानीय तहको दायित्व नै होईन । स्थानीय तहले सहयोग मात्रै गर्ने हो । स्थानीय तहका जन–प्रतिनिधीहरुलाई क्वारेन्टाईनको ब्यवस्थापन कसरी गर्ने र सञ्चालन कसरी गर्ने भन्ने सम्म पनि जानकारी छैन ।

क्वारेन्टाईनको बन्दोबस्ती र सुरक्षा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसंधानले संयुक्त रुपमा गर्ने हो । तर एउटा क्वारेन्टाईन पनि यो आधारमा ब्यवस्थित र सुरक्षित छैनन् । क्वारेन्टाईन यातना गृह जस्तै भएका छन । अधिकांश क्वारेन्टाईनमा बिजुली छैन । भएपनि प्रर्याप्त छैन । एउटै कोठामा ४०÷५० जना सम्म थुनेर राख्ने अवस्था छ । स्वस्थ्य खानाको त कुरै छाडौ । चामल पनि सफा गरिन्दैन । किरा परेको चामल पकाईन्छ । शुद्ध खाने पानीको अभाव छ । शौचालयको अभाव छ, भए पनि सफाईको नामोनिशान छैन । दुर्गन्धित अवस्थामा छन । एउटा क्वारेन्टाईनमा पनि सफाईकर्मीको उपस्थिती छैन । मच्छरको बिगविगी उस्तै छ । अनिवार्य रुपमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको उपस्थिती हुनु पर्नेमा सो को समेत अभाव छ । क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु सामान्य उपचार समेत पाएका छैनन् । जीवन जल र पानी खान नपाएर मानिस मरेको अवस्था छ ।

क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरुको आचार संहिता छ, सो को पनि पालना भएको छैन । क्वारेन्टाईनमा बस्दा के गर्न हुने÷ के गर्न नहुने ? सो को जानकारी गराउनु पर्ने दायित्व ब्यवस्थापन पक्षको हो तर ब्यवस्थापन पक्ष, सुरक्षा पक्षको फितलो उपस्थितीको कारणले क्वारेन्टाईनमा बस्नेहरुलाई के गर्न हुने÷ के गर्न नहुने ? बिषयमा जानकारी नै छैन । क्वारेन्टाईनमा संक्रमणको शंकास्पद ब्यक्तिलाई राखिने हो ? उक्त शंकास्पद ब्यक्तिको अरु जीवित प्राणी संग सम्पर्क हुनु हुदैन । तर क्वारेन्टाईनमा भोजन ब्यवस्ति नभएकोले क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरु सकेसम्म आ–आफ्नै घरको खाना खाई रहेको अवस्था छ । खाना खाएपछि सो भाँडा घरमा जान्छ, क्वारेन्टाईनमा बिजुली छैन, तर प्रायः सबै जसो ब्यक्तिहरु मोबाईल चलाईरहेका हुन्छन । चार्ज गर्नु प¥यो भने मोबाईल घरमा पठाउंछन । खाना घरको खाने, मोबाईल चार्जको लागि घरमा पठाउने, लुगा धुनको लागि घरमा पठाउने हो, भने क्वारेन्टाईनमा बस्नुको कुनै औचित्य छैन । किन भने मोबाईल, खाएको बर्तन भाडा र लुगा संगै कोरोना भाईरस (कोभिड–१९) घरमा पुगीरहेको छ । कुनै न कुनै दिन यो कोरोना भाईरस (कोभिड–१९) ले आफ्नो उपस्थिती देखाउने नै छ ।

सामान्यतयाः क्वारेन्टाईनमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित ब्यक्तिको निधन हुदंैन । कारण, क्वारेन्टाईनमा प्रबेश गर्ने बित्तिकै स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ र लग्तै पि.सि.आर.जाँच गर्नु पर्ने आवश्यक हुन्छ, तर १० दिन सम्म क्वारेन्टाईनमा बस्दा पनि पि.सि.आर.जाँच नभएका उदाहरणहरु थुप्रै छन । त्यसैक्रममा निज संक्रमित ब्यक्तिको स्वास्थ्य अवस्था खराब भयो भने, औषधी उपचार नै नपाई मर्नुपर्ने अवस्था रहेको छ । नेपालमा हाल सम्म ११ जनाको कोरोना भाईरस (कोभिड–१९) को कारणले निधन भईसकेको छ । निधन भएकाहरु मध्ये धेरैले उपचार नै नपाई मृत्युवरण गर्नुपरेको छ ।

क्वारेन्टाईनको फितलो ब्यवस्थापन र सुरक्षा अवस्थाले गर्दा क्वारेन्टाईनबाटै समुदाय स्तरमा संक्रमण फैलिने खतरा बढेको छ । क्वारेन्टाईनमा बस्नेलाई आर.डि.टी.जाँचको भरमा घर पठाइएको उदाहरण धेरै छ । क्वारेन्टाईनबाट फर्केको ब्यक्तिको पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट निधन भएको पुष्टि भएको छ । यसैगरि क्वारेन्टाईनबाट घर पठाइएका ब्यक्तिहरुमा पनि कोरोना भाईरस (कोभिड–१९) पाजिटिभ देखिएको र पछि निजहरुलाई घरबाट बोलाई आईसोलेट गरिएको अवस्था रहेको छ र कोरोना भाईरस (कोभिड–१९) पाजिटिभ भेटिएकालाई पनि लामो समय सम्म आईसोलेट नगरिएको उदाहरणहरु समेत रहेकाछन । क्वारेन्टाईनमा निधन हुनु भनेको लापरवाही प्रष्ट देखिन्छ, किन भने त्यहाँ उपचार नै नपाई निधन भएको हुन्छ । कोरोना भाईरस (कोभिड–१९) पाजिटिभ भएकाहरुलाई तत्काल आईसोलेट नगरि लामो समय सम्म अन्य ब्यक्ति संग राख्ने गरिन्छ, यसले गर्दा पनि संक्रमण फैलिने खतरा बढेको छ । सबैले आ–आफ्नो दायित्व पूरा गरे कोरोना भाईरस (कोभिड–१९) लाई हराउन गाह्रो छैन, तर लापरवाही जारी रह्यो भने कोही पनि यो महामारीबाट छूट पाउने अवस्था छैन र लकडाउनको अवधि जति बढाए पनि कोरोना भाईरस (कोभिड–१९) संक्रमितहरुको संख्या घटनेवाला छैन ।

क्वारेन्टाईनलाई गाईडलाईन बमोजिम नभए पनि आवश्यक र उपयुक्त सुबिधाको आधारमा ब्यस्थित गर्नुपर्दछ । कम्तीमा पनि स्वस्थ्य खाना, शुद्ध पानी, सफा शौचालयको ब्यवस्था अनिवार्यरुपमा गर्नुपर्दछ । मापदण्ड अनुरुप सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाईकर्मीको उपस्थिती अनिवार्यरुपमा हुनुपर्दछ । क्वारेन्टाईनमा बस्ने र क्वारेन्टाईन सञ्चालन गर्ने दुबैले अचार संहिताको पालना अनिवार्यरुपमा गर्नुपर्दछ । यसो गर्न सकिए हाल पनि समुदायलाई कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट बचाउन सकिन्छ । बर्तमान अवस्थामा भईरहेको लापरवाहीले निरन्तरता पाउंदै जाने हो भने यो कोरोनाको कोहरामबाट कोही पनि बाँच्नसक्ने अवस्था रहंदैन, आउने दिन अत्यन्तै दुखद हुनेछन र लकडाउनले आर्थिक अवस्थाका साथै सामाजिक अवस्था समेत दर्दनाक हुंदैजानेछ । शुभ संध्या ! (लेखक अधिवक्ता रामकुमार दीक्षित)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x