ईद उल-फित्रको नमाजपछि गुलरियामा फिलिस्तिन समर्थनमा नारा जुलुस
बर्दिया जिल्लाको गुलरिया स्थित नेपाली जामे मस्जिदमा ईद उल-फित्रको नमाज विशेष आस्था र भक्तिभावका साथ सम्पन्न भएको छ । स्थानीय मुस्लिम समुदायको व्यापक सहभागितामा नमाज अदा गरिएपछि, युवाहरूले विशेष रूपमा फिलिस्तिनका जनताको पक्षमा ऐक्यबद्धता जनाउँदै फिलिस्तिनमा भइरहेको अत्याचार विरुद्ध आवाज उठाएका हुन ।
यस अवसरमा, युवाहरूले हातमा ब्यानर लिएर फिलिस्तिनमा जारी हिंसा तत्काल रोक्नुपर्ने माग गरेका थिए । उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै फिलिस्तिनी जनतामाथि भइरहेको ज्यादती अन्त्य गर्न पहल गर्न आग्रह गरेका हुन ।
युवाहरूको यो अभियानले स्थानीय मुस्लिम समुदाय मात्र नभई अन्य न्यायप्रेमी व्यक्तिहरूको पनि ध्यान खिचेको छ। उनीहरूले मानव अधिकारको रक्षा गर्न र निर्दोष नागरिकहरूको हत्या तथा दमन रोक्न विश्व समुदायलाई तुरुन्त कदम चाल्न अपिल गरेका छन्।
फिलिस्तिनमा भइरहेको जनसंहारप्रति आफ्नो विरोध जनाउँदै, उनीहरूले शान्ति, सहिष्णुता, तथा न्यायको पक्षमा एकताबद्ध रहने प्रतिज्ञा गरेका छन्।



