कांग्रेस निकट प्रेस युनियन र प्रचण्ड नेपाल समूहका पत्रकारद्धारा झापामा प्रदर्शन
कांग्रेस निकट प्रेस युनियन र नेकपाका (प्रचण्ड- नेपाल) समूहका पत्रकारले झापामा प्रतिगमनविरूद्ध सडकमा नारा लगाएका छन् ।
विर्तामोडको मुक्ति चोकमा भेला भएका युनियन र प्रचण्ड नेपाल समूहका पत्रकारहरूले लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, असंवैधानिक कदम तुरून्त सच्याऊ, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्राप्त परिवर्तनको रक्षाका लागि पत्रकार र नागरिक समाजले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष सापकोटा प्रचण्ड नेपाल समूहका हुन्।
विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति कृष्ण हुमागाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मदारीले नचाएको बाँदरको संज्ञा दिएका छन्।
लोकतन्त्रका शासक पनि निरंकुशतन्त्रका शासकजस्तै हुने र त्यही बाटोमा ओली हिँडेको बताउँदै लोकतन्त्रमा त्यस्ता शासकलाई जनताले साथ नदिने बताएका थिए। पत्रकार हुमागाईं नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य हुन्।
यता नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको समर्थन गर्दै ठूलो संख्या विरोध कार्यक्रममा सहभागी नभएको बताएका छन्। सेतोपाटीबाट


