काेहलपुरमा बाढीपीडित परिवारलाई श्रम संस्कृति पार्टीद्वारा राहत वितरण
दिनेश ठाकुर कोहलपुर,असाेज १६ बाँके — रसुवामा हालै आएको विनाशकारी बाढीका कारण प्रभावित तथा ज्यान गुमाएका परिवारलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीले राहत सहयोग प्रदान गरेको छ।
श्रम संस्कृति पार्टीकी केन्द्रीय सचिव शान्ति पार्खिन गुरुङको नेतृत्वमा बाँकेको कोहलपुरमा रहेका १५ प्रभावित घरपरिवारलाई भेटेर राहत सामग्री वितरण गरिएको हो।
राहत वितरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजन रानामगर, केन्द्रीय सदस्य काली मियाँ कश्मीरा, श्रम संस्कृति पार्टी बाँकेका प्रतिनिधि रहिश हल्वाई लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
विपद्को कठिन घडीमा पीडित परिवारलाई साथ दिने तथा उनीहरूको पीडामा केही भए पनि राहत पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।
राहत वितरण गर्दै केन्द्रीय सचिव गुरुङले विपद् र संकटको समयमा नागरिकको साथमा उभिनु पार्टीको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। उहाँले पीडित परिवारको दुःखमा सहकार्य गर्दै आवश्यक सहयोगका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा सहभागीहरूले श्रम संस्कृति पार्टीको मूल नारा “जय माटो, जय देश” उद्घोष गर्दै बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका थिए।


