गरिब, मजदुर, किसान र सीमान्तीकृत समुदायका समस्या समाधान गर्छु : बुलडोजर बाबा
दिनेश ठाकुर नेपालगन्ज, २७ असोज — बुलडोजर बाबाले आफू नेतृत्वमा पुगे गरिब, मजदुर, किसान तथा सीमान्तीकृत समुदायले भोग्दै आएका समस्या समाधानका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ।
नेपालगन्ज उपमहानगरपालिका–८ र ११ का गरिब, मजदुर तथा सीमान्तीकृत समुदायका समस्या बुझ्ने र तिनको समाधानका उपाय खोज्ने उद्देश्यले आयोजित छुट्टाछुट्टै भेटघाट कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।भेटघाटका क्रममा स्थानीय बासिन्दा तथा मजदुरहरूले दैनिक जीवनमा भोग्दै आएका विभिन्न समस्या र चुनौतीबारे छलफल गरिएको थियो।
सो अवसरमा बुलडोजर बाबाले सीमान्तीकृत समुदायको उत्थान, अधिकारको संरक्षण तथा उनीहरूको जीवनस्तर सुधारका लागि आफू सधैँ सक्रिय रहने बताउनुभयो।
उहाँले समाजमा पछाडि पारिएका वर्गका आवाजलाई प्राथमिकता दिँदै उनीहरूका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका आवश्यकता र समस्याबारे जानकारी लिने उद्देश्यले भेटघाट कार्यक्रम आयोजना गरिएको जनाइएको छ।कार्यक्रमबारे जानकारी दिँदै केन्द्रीय महासचिव राजा सिंहले वडा नम्बर ८ र ११ मा आयोजित भेटघाट कार्यक्रम उत्साहजनक सहभागितासहित भव्य र मर्यादित रूपमा सम्पन्न भएको बताउनुभयो।
सभापति रियाज अहमद शेषको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिव राजा सिंह, केन्द्रीय सदस्यद्वय अब्दुल गफुर खान र राजेश बर्मा, जिल्ला नेताहरू हिफजुल रहमान खान, हासिम फारूकी, रामनाथ मण्डल, भूषण शाह, मंगल शर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दा तथा मजदुरहरूले आफ्ना समस्या र अपेक्षाबारे धारणा राखेका थिए। भेटघाटले स्थानीय समुदायका समस्या पहिचान गर्न र उनीहरूसँग प्रत्यक्ष संवाद स्थापित गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।


