देउवा पक्षले कार्तिक १९ गते बाँके जिल्ला अधिवेशन गर्ने, गगन थापाको ‘बाल हठ’ले पार्टी दुर्घटनामा परेको कार्कीको आरोप कार्कीको दाबी : १५औँ नियमित महाधिवेशनबाट आउने नेतृत्व नै कांग्रेसको आधिकारिक नेतृत्व
नेपालगन्ज, १५ कात्तिक — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी कार्तिक १९ गते बाँके जिल्ला अधिवेशन गर्ने भएको छ। १५औँ नियमित महाधिवेशन तयारी समिति बाँकेले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको जनाएको हो।
पत्रकार सम्मेलनमा तयारी समितिका बाँके जिल्ला संयोजक कृष्णबहादुर कार्कीले पार्टीको वर्तमान आन्तरिक अवस्था, नेतृत्व विवाद र आगामी राजनीतिक रणनीतिबारे आफ्नो धारणा राख्दै महामन्त्री गगन थापाको ‘बाल हठ’का कारण पार्टी दुर्घटनामा परेको आरोप लगाए।कार्कीले पार्टीलाई सही दिशामा अघि बढाउन र आन्तरिक लोकतन्त्रको रक्षा गर्न आफूहरू न्यायिक लडाइँमा रहेको दाबी गरे। उनका अनुसार १५औँ नियमित महाधिवेशनबाट निर्वाचित हुने नेतृत्व नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व हुनेछ।
विशेष महाधिवेशनको पक्षमा रहेका नेता तथा कार्यकर्ताप्रति संकेत गर्दै कार्कीले भने, “विशेषतिर लागेका धेरै साथीहरूको शरीर उता भए पनि मन यतै छ। पार्टीलाई बचाउन र सही मार्गमा डोऱ्याउन अहिले हामी न्यायिक लडाइँमा होमिएका छौँ।”
उनले पार्टीको विधान, विधि र प्रक्रियाअनुसार नियमित महाधिवेशन सम्पन्न हुनु आवश्यक रहेको उल्लेख गर्दै त्यसबाट आउने नेतृत्वले नै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन सक्ने धारणा राखे।
जिल्ला अधिवेशनको तयारी तीव्र
‘लोकतन्त्र र समाजवाद’ भन्ने मूल नारासहित आयोजित पत्रकार सम्मेलनमा वडा, गाउँ, नगर तथा क्षेत्रीय तहका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिइयो। अब जिल्ला अधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको समितिले जनाएको छ।
सोही अवसरमा बाँकेमा सम्पन्न १५औँ नियमित क्षेत्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई अबिर र प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
जिल्ला अधिवेशनले पार्टी संगठनलाई थप सुदृढ बनाउनुका साथै आगामी स्थानीय तह र आम निर्वाचनको तयारीमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने नेताहरूको भनाइ थियो।शीर्ष नेताहरूको उपस्थिति
तयारी समितिका जिल्ला संयोजक कृष्णबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, पूर्वसांसद याकुब अन्सारी, गजेन्द्र हमाल, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति राजकुमार हमाल तथा नेपालगन्ज नगर कार्यसमितिका सभापति नकुल खत्रीलगायत जिल्ला तथा क्षेत्रीय तहका नेता, नवनिर्वाचित प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
तयारी समितिले जिल्ला अधिवेशनमार्फत पार्टीभित्र नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरेको छ। साथै, आगामी नेतृत्व चयनका लागि सर्वसम्मति वा लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढ्ने वातावरण बनाउन आफूहरू सकारात्मक रहेको जनाएको छ।
कांग्रेसभित्र नियमित तथा विशेष महाधिवेशनलाई लिएर देखिएको विवादका बीच बाँकेमा देउवा पक्षले गर्न लागेको जिल्ला अधिवेशनलाई पार्टीको आगामी नेतृत्व र संगठनात्मक दिशाका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।



