१२ कार्तिक २०८३, बुधबार

नेपालको ठमेल बजार चिनियाँको कब्जामा ; नेपालमा पनि अव ‘चाइना टाउन’

एसीपी संवाददाता

१० माघ २०७८, सोमबार ०२:५१ मा प्रकाशित

 

कतिपय देशमा भने चीनले मिनी चीनको झझल्को दिने गरी ‘चाइना टाउन’ सञ्चालनमा ल्याएको छ । मलेसिया, सिङ्गापुर, थाईल्याण्ड, कुवेत, वहराइनलगायतका देशमा चीनकै झल्को दिने ‘चाइना टाउन’ सञ्चालनमा छन् ।

नेपालमा भने चीनको चौतर्फी हस्तक्षेप छ। सिमा अतिक्रमण, राजनीतिक र समाजिक हस्तक्षेप देखि विकास निर्माण र ब्यापारमा पनि चीनको दादागिरी वढेको छ। चीनले काठमाण्डौँको मुख्य पर्यटकिय र व्यवसायिक क्षेत्र ठमेल पनि अघोषित रुपमा कब्जा गरेको छ। ठमेल मार्ग, अमित मार्गलगायत विदेशी पर्यटकको चहलपहल हुने बजार क्षेत्र अहिले चीनियाँ नागरिकले नियन्त्रण गरेका छन्।

यी व्यवसायिक गल्लिहरु अहिले चिनियाँ भाषाका होर्डिङबोर्डले भरिभराउ छन् । ठमेलको त्रिदेवी मार्गदेखिका प्रत्येक घरमा एकदेखि तिनवटासम्म चीनियाँ भाषामा लेखिएका होर्डिङबोर्ड झुण्ड्याइएका भेटिन्छन् । यी क्षेत्रहरुमा झुण्ड्याइएका चीनियाँ भाषाका होर्डिङबोर्डले चीनको शहरको झझल्को दिने गरेको छ । कुनै समय नेपालीहरुको व्यवसायिक केन्द्रको रुपमा रहेको ठमेल क्षेत्रबाट अहिले नेपालीहरु नै विस्थापित हुनु पर्ने वाध्यता रहेको स्थानीयहरु बताउँछन् ।

ठमेलको कर्मचारी सञ्चयकोष भवनदेखि उत्तर–दक्षिण फैलिएको करिब तीन किलोमिटर ज्याठा रोड क्षेत्र क्रमशः चीनियाँ व्यवसायीहरूको पुर्ण नियन्त्रणमा पुगिसकेको छ । प्रभाव कति छ भने, नेपालीले सञ्चालन गररिहेका यहाँका नामी होटल तथा रेस्टुराँहरू धमाधम चीनियाँको लगानीमा चल्न थालेका छन् । ठमेल क्षेत्रमा मात्रै चिनियाँहरूको लगानीमा पाँच सय चिनियाँ रेस्टुराँ र सयभन्दाबढी होटल खुलिसकेका छन् ।

जस्तो ः ज्याठाको होटल न्यु गजुरको नाम मात्रै फेरिएको छैन, लगानीकर्ता बदलिएका छन । दुई चीनियाँको ९० प्रतिशत र एक नेपालीको १० प्रतिशत सेयर रहने गरी यो अहिले होटल टाइसनका नामले सञ्चालित छ। संयुक्त लगानी गरेका सागर विष्ट भन्छन्, ‘चिनियाँहरू लगानीका निम्ति निकै इच्छुक देखिन थालेका छन् ।’

नेपाली सञ्चालकको हातबाट फुत्किएर चिनियाँ नागरिकका नाममा पुगेका होटलको सूची लामै छ । ठमेलकै सेन्टर होटल कुबेरिया होटलका रूपमा र पिसाङ होटल चेङदु होटलका नामले सञ्चालनमा छ । यसैगरी, पिरामिडको नाम फोनिक्स होटलमा परिणत भएको छ । तायोमा होटलको पछाडि चिनियाँ लगानीसँगै सीजी थपिएको छ। पहिले नेपालीकै स्वामित्वमा रहेको नेपा इन्टरनेसनल चीनियाँको हातमा पुगेपछि काठमाडौँ बेइजिङ् होटलमा परिणत भएको छ । ठमेलकै कुमारी होटल पनि चीनियाँको स्वामित्वमा पुगेको छ ।

तीन करोड रुपैयाँ लगानीमा ज्याठामा चाइना टाउन रेस्टुराँ खुलेको छ । रेस्टुराँ भवनमा चीनियाँका पसल मात्रै छन् । उक्त भवनभित्र छिरेपछि नेपाली अनुहार भेटनसमेत मुस्किल पर्छ। पसलेदेखि ग्राहकसम्म चिनियाँ नै देखिन्छन् ।

यो रेस्टुराँको विपरीत दिशामा तीनवटा होटल खुलेका छन् भने वरपरका ट्रेडिङ व्यवसाय पनि चीनियाँकै लगानीमा सञ्चालित छन् । ज्याठा रोडमा नेपालीले चलाएका पसलमा समेत चीनियाँ अक्षरमा बोर्ड, मूल्यसूची टाँसेको देखिन्छ ।  चिनियाँ पर्यटक बढेको यी स्पष्ट संकेत हुन् ।

होटल तथा रेस्टुराँमा चीनियाँको कति लगानी भएको छ भन्ने आधिकारिक तथ्यांक भने छैन । उद्योग विभागको आर्थिक वर्ष ०७७÷७८ को तथ्यांक अनुसार चीन नेपालमा वैदेशिक लगानी गर्ने राष्ट्रको सूचीमा सबैभन्दा माथि छ । विभागका अनुसार चीनियाँहरूले अनुमति पाएका अधिकांश होटेल तथा रेस्टुरा ठमेल क्षेत्रमा सञ्चालित छन् ।

पछिल्ला पाँच वर्षयता नेपाल घुम्न आउने नागरिकको संख्या बढेसँगै चीनियाँहरू होटल र रेस्टुराँमा लगानी गर्नसमेत आकर्षित भएको नेपाल ट्रेकिङ एन्ड एक्सपेडिसनका सञ्चालक तथा पंक्षी संरक्षण संघ, नेपालका अध्यक्ष सर्वेन्द्र पाछै बताउँछन् । नेपाल घुम्न आउने आफ्ना नागरिकलाई चीनले सहुलियत दिएकाले घुमफिरमा यता आउने चिनियाँको संख्या ह्वात्तै बढेको उनको भनाइ छ ।

चीनियाँले रेस्टुराँभन्दा होटललाई प्राथमिकतामा राखेका छन् । ठमेलका पुराना सयौँ होटलको स्वामित्व अहिले नेपालीबाट चीनियाँको हातमा पुगेको छ। ज्याठाका एक व्यवसायीका अनुसार चीनियाँले खासादेखि सोझै सामान आपूर्ति गर्नसमेत थालेका छन् । ज्याठा सडकमा मात्रै पाँच दर्जनभन्दा बढी चिनियाँले ट्रेडिङ व्यवसाय गररिहेका छन् ।

चीनियाँहरुले ठमेल कब्जा गरेसँगै यस क्षेत्रमा अपराधिक गतिविधि समेत बढेको स्थानियको गुनासो छ । चीनियाँहरुले घरबेटीलाई नेपाली व्यवसायीहरुले दिन सक्ने भन्दा धेरै महंगो घर भाडाको प्रलोभनमा पारेर सम्झौता गर्ने गरेको ठमेलका होटेल प्लेजर होमका सञ्चालक रामचन्द्र गिरी बताउँछन् । शर्टरभाडा अग्रिम भुक्तानी गर्ने, महंगो भाडादिने प्रलोभन देखाएर सम्झौता गर्ने गरेको होटल व्यवसायी गिरीको भनाई छ ।

चीनियाँहरुले दिने महंगो भाडाका कारण नेपाली व्यवसायीहरुले ठमेलमा ठाउँ पाउनै छोडेको स्थानीय ब्यापारी पुकार लामाको भनाई छ । नेपालीले ५० हजारसम्म दिईरहेको घरको भाडा चीनियाँहरुले दुई लाखसम्म तिरेर कब्जा गर्ने गरेका छन् ।

चीनियाँहरुले ठमेल क्षेत्रमा विभिन्न प्रयोजनाका लागि घर नै भाडामा लिएर बसेका छन् । होटेल, रेस्टुरा तथा व्यवसायिक प्रयोजनका लागि भनेर घर भाडामा सम्झौता गरेता पनि त्यहाँ अवैध कारोबार हुने गरेको आशंका उनीहरुलाई छ।

चीनियाँ व्यापारीहरुको आफनै इमपोर्ट–एक्सपोर्ट हुने, आफनै होसलेस, आफनै ग्राहक हुने र सामान पनि फरक–फरक पाइने भएकाले चीनियाँ व्यापारीहरुले एकछत्र राज गर्ने स्थिति छ ।

यसरी हुन्छ ठमेलमा चीनियाँको गैरकानुनी धन्दा
चीनियाँ नागरिकहरु भिजिट भिसामा नेपाल आउने र यहीँ लुकेर गैरकानुनी रुपमा व्यापार÷व्यवसाय गर्ने गरेको खुलेको छ । केही चीनियाले वैधानिक व्यपार÷व्यवसाय गरे पनि अधिकाशं चीनियाँले नेपालमा अवैधानिक व्यवसाय सञ्चालन गरिरहेका छन् । ६ महिनाको भिजिट भिसामा आएर उनिहरुले व्यापार गरिरहेको ठमेलका एक व्यापारी बताउँछन् । स्थानीयका अनुसार – ६ महिनाका लागि केही चीनियाँ नागरिक नेपाल आउँछन, व्यापार÷व्यवसाय सञ्चालन गर्छन, फेरि ६ महिनापछि सोही व्यवसायमा अर्को चीनियाँ नागरिक देखा पर्छन। यसरी अवैध ढंगले कारोबार गर्ने चीनियाँहरु प्रशस्तै छन, ठमेलमा ।

कोरोनापछि भने ठमेलबाट केही चीनियाँ व्यापारीहरु विस्थापित भएका छन् । स्थानीय व्यापारीका अनुसार ठमेलमा चीनियाँहरुले ठगीका काम पनि गरिरहेका छन् ।  केही चीनियाँले भाडा नदिएरै सर्टर छोडेर भागेका छन्। उनीहरुले आफना सामान निकालेर शर्टर ताल्चा लगाएर भागेको स्थानीयले जानकारी दिए । कोरोना संक्रमण सुरु भएपछि कतिपय चीनियाँहरुले २ वर्षको भाडा नतिरी शर्टर छोडेरै भागेको एक ब्यापारीले वताए।

चीनियाँहरुको यस्तो प्रवृतिका कारण ठमेलमा सुरक्षा चुनौती समेत बढेको छ । चीनियाँहरुले उक्त क्षेत्रमा होटल व्यवसायको बोर्ड राखे पनि भित्र अन्य अवैधानिक काम गर्ने गरेको स्थानीयको भनाई छ ।

पर्यटक पनि उस्तै
पर्यटक वनेर आउने चीनियाँहरु समेत नेपालमा नियम मिच्न खोज्ने, कानुन नमान्ने तथा आफु खुसी गर्न खोज्ने गरेको पाईएको छ। सकेसम्म चीनियाँहरु कम रेटमा होटल बुकिङ गर्न खोज्दछन् । होटल ब्यवसायीहरुका अनुसार चीनियाँहरुले होटलको नियम समेत नमान्ने, जथाभावी गर्ने गर्दछन भने भारतिय पर्यटक होटलको नियम अनुसार बस्ने गरेका छन् । चीनियाँ भन्दा इण्डियन पर्यटक राम्रो भएको होटल ब्यवसायीहरुको अनुभव छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x