नेपालगन्जको वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै, थपिँदै अत्याधुनिक उपकरण र सुपरस्पेसियालिटी सेवा डा. राहुल थापा भन्छन्– ‘मापदण्ड पूरा गरेर यस क्षेत्रकै पहिलो ट्रमा सेन्टर बनाउने लक्ष्य छ’
दिनेश ठाकुर, नेपालगन्ज,कात्तिक १३ — दुर्घटना तथा गम्भीर चोटपटकका बिरामीलाई समयमै प्रभावकारी उपचार उपलब्ध गराउने उद्देश्यसहित नेपालगन्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ।
हाडजोर्नी उपचारमा पहिचान बनाएको अस्पतालले अत्याधुनिक उपकरण, विशेषज्ञ जनशक्ति र विशिष्टीकृत उपचार सेवा विस्तार गर्दै ट्रमा उपचारको प्रमुख केन्द्रका रूपमा स्थापित हुने लक्ष्य लिएको हो।अस्पतालले ट्रमा उपचारका लागि आवश्यक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्था, शल्यक्रिया सेवाको क्षमता विस्तार तथा अत्याधुनिक स्वास्थ्य उपकरण थप्ने योजनालाई प्राथमिकतामा राखेको अस्पतालका निर्देशक डा. राहुल थापाले जानकारी दिएका छन्।
एमएस अध्ययन पूरा गरी फर्किएपछि अस्पतालको सेवा विस्तार र स्तरोन्नतिमा सक्रिय रहेका डा. थापाका अनुसार ट्रमा सेन्टरका रूपमा विकास हुन नाम मात्र पर्याप्त हुँदैन, त्यसका लागि आवश्यक मापदण्ड पूरा गर्नुपर्छ।
‘नाममात्रैको ट्रमा सेन्टर भनेर हुँदैन। ट्रमा सेन्टरका आफ्नै मापदण्ड हुन्छन्। ती मापदण्ड पूरा गरेर वेस्टर्न अस्पताललाई यस क्षेत्रकै पहिलो ट्रमा सेन्टरका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,’ उनले स्वास्थ्यपेजसँग भने।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बिरामीको जीवन जोगाउन तत्काल उपचार, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक उपकरण र व्यवस्थित उपचार पूर्वाधार अनिवार्य हुन्छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो सेवा र क्षमता विस्तारको तयारी गरिरहेको छ।
एक सय शय्याको अस्पतालमा विशिष्टीकृत सेवा विस्तार
हाल एक सय शय्याको स्वीकृति प्राप्त वेस्टर्न अस्पतालमा हाडजोर्नी तथा नसासम्बन्धी उपचार, प्रसूति तथा स्त्रीरोग, मेडिसिन, नाक, कान तथा घाँटी, ग्यास्ट्रो सर्जरी र जनरल सर्जरीलगायतका सेवा सञ्चालनमा छन्।
अस्पतालले गम्भीर प्रकृतिका बिरामीका लागि २४ सै घण्टा चिकित्सक तथा नर्सको निगरानीमा भेन्टिलेटरसहितको उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालका अनुसार उपत्यकाबाहिर पहिलो पटक लेभल थ्री आईसीयू सेवा सञ्चालनमा ल्याएको दाबीसमेत गरिएको छ। त्यस्तै, १८० स्लाइस सिटी स्क्यानमार्फत रोग पहिचान तथा परीक्षण सेवा प्रदान गरिँदै आएको छ।
अस्पतालले अब विद्यमान सेवाहरूलाई थप सुदृढ बनाउँदै न्युरोसर्जरी, कार्डियोलोजी, प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सा र बालरोग विशेषज्ञ सेवासमेत विस्तार गर्ने योजना बनाएको डा. थापाले बताए।
अस्पतालले तीन वर्षअघि नै नवजात शिशुको विशेष उपचारका लागि एनआईसीयू सेवा सञ्चालनको तयारीसहित आवश्यक सेटअप गरिसकेको जनाएको छ।
जोर्नी प्रत्यारोपणका लागि छुट्टै अपरेसन थिएटर
हाडजोर्नी उपचारलाई थप विशिष्टीकृत र व्यवस्थित बनाउने उद्देश्यले अस्पतालले जोर्नी प्रत्यारोपणका लागि छुट्टै शल्यक्रिया कक्ष निर्माण गरिरहेको छ। यसका लागि दुईवटा अपरेसन थिएटर निर्माणको काम अघि बढाइएको डा. थापाले जानकारी दिए।
जोर्नी प्रत्यारोपण जटिल शल्यक्रियामध्ये एक भएकाले यसका लागि विशेष उपकरण, दक्ष जनशक्ति, संक्रमण नियन्त्रणका मापदण्ड र उपयुक्त शल्यक्रिया कक्ष आवश्यक हुन्छ। छुट्टै अपरेसन थिएटर सञ्चालनमा आएपछि अस्पतालको जोर्नी प्रत्यारोपण सेवाको क्षमता विस्तार हुने अपेक्षा गरिएको छ।
‘छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा आएपछि अस्पतालको जोर्नी प्रत्यारोपण सेवाको क्षमता विस्तार त हुने नै भयो,’ डा. थापाले भने, ‘जोर्नी प्रत्यारोपणकै लागि बिरामीहरू नेपालगन्जबाहिर जानुपर्ने बाध्यात्मक अवस्थाको समेत अन्त्य हुनेछ।’
थ्री टेस्ला एमआरआई भित्र्याउने योजना
अस्पतालले उपचार सेवासँगै रोग पहिचान तथा परीक्षणलाई थप प्रभावकारी बनाउन उपलब्ध उपकरणहरूको स्तरोन्नति गर्ने र नयाँ प्रविधि भित्र्याउने तयारीसमेत गरेको छ।डा. थापाका अनुसार अस्पतालमा थ्री टेस्ला एमआरआई उपकरण ल्याउने योजना छ। उक्त उपकरण उपलब्ध भएपछि विभिन्न रोग तथा जटिल स्वास्थ्य समस्याको पहिचान र परीक्षण सेवामा थप सहजता आउने अपेक्षा गरिएको छ।
जटिल दुर्घटनाका बिरामीलाई नेपालगन्जमै उपचारको अपेक्षा
गम्भीर दुर्घटनामा टाउको तथा मस्तिष्कमा चोट लागेका, शरीरका विभिन्न अंगमा जटिल चोटपटक भएका र तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र व्यवस्थित उपचार पूर्वाधार महत्वपूर्ण मानिन्छन्।ट्रमा सेन्टरका रूपमा अस्पतालको क्षमता विकास गर्ने योजनाले यस्ता बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै, न्युरोसर्जरी, कार्डियोलोजी, पुनर्निर्माण शल्यचिकित्सा तथा अन्य विशिष्टीकृत सेवा विस्तार भएमा नेपालगन्ज र आसपासका क्षेत्रका बिरामीले जटिल उपचारका लागि अन्य सहर धाउनुपर्ने अवस्था कम हुन सक्ने देखिन्छ।
अस्पतालले अघि सारेका योजना कार्यान्वयनमा आएपछि बाँकेसहित पश्चिम नेपालका विभिन्न क्षेत्रका बिरामीले ट्रमा उपचार, हाडजोर्नी शल्यक्रिया र अन्य विशिष्टीकृत स्वास्थ्य सेवामा थप विकल्प पाउने अपेक्षा गरिएको छ। यद्यपि, अस्पताललाई पूर्ण रूपमा ट्रमा सेन्टरका रूपमा सञ्चालन गर्न आवश्यक मापदण्ड पूरा गर्नु र त्यसअनुसारका सेवा तथा जनशक्तिको व्यवस्था गर्नु महत्वपूर्ण हुनेछ।


