१२ कार्तिक २०८३, बुधबार

भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपीन रावतको सैनिक करिअर नै गोरखा राइफल्सबाट

एसीपी संवाददाता

२२ मंसिर २०७८, बुधबार १७:३० मा प्रकाशित

२२ गते मङ्सिर २०७८ । भारतको तमिलनाडूमा भएको इण्डियन एयरफोर्स एमआई–१७ हेलिकोप्टर दुर्घटनामा परेका भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपीन रावतको सैनिक करिअर नै गोरखा राइफल्सबाट सुरु भएको थियो। उनी सन् १९७८ को १६ डिसेम्बरका दिन गोरखा राइफल्सको पाँचौ बटालियनमा भर्ना भएका थिए।

उनले चीनसँगको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) को पूर्वी सेक्टरमा ११ औं गोरखा राइफल्सको कमाण्ड सम्हालेका थिए। उनी गोरखा ब्रिगेडबाट सेना प्रमुख बन्ने तेस्रो अफिसर थिए। त्यसअघि गोरखा राइफल्सकै साम मानिकश र दलविरसिंह सुहाग सेना प्रमुख बनेका थिए।
सन् १९९९ मा पाकिस्तानसँग भएको कारगिल युद्धमा भाग लिएका उनले एक पटक पाकिस्तानका पूर्व सेनाप्रमुख एवं पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई आफ्नो सीमामा बस्न र नहेप्न चेतावनी दिँदै आफूहरुसँग शक्तिशाली गोरखा सेना रहेको बताएका थिए।

 

दुई देशका सेना प्रमुखलाई मानार्थ पदवी दिने परम्पराअनुरुप उनलाई नेपाली सेनाले मानार्थ सेनाप्रमुखको उपाधि पनि दिएको थियो। उनले सन् २०१७ को २८ देखि ३१ सम्म नेपालको भ्रमणगरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै पोखरा र मुक्तिनाथको सैन्य तालिम केन्द्रको भ्रमण गरेका थिए। त्यस्तै, २०१८ को १२ देखि १४ फेब्रुअरीमा नेपाल भ्रमण गरेका रावतले नेपाली सेना दिवसमा प्रमुख अतिथि बन्नुका साथै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए।

१६ मार्च १९५८ मा उत्तराखण्डको पौडी गढवालमा जन्मिएका रावतको परिवार लामो समयदेखि सेनामा थिए। उनी भारतका प्रथम चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) को रुपमा ३० डिसेम्बर २०१९ मा नियुक्त भएका थिए। त्यसअघि उनी भारतका ५७ औं तथा चिफ अफ स्टाफ कमिटीका अध्यक्ष र भारतीय सेनाका २६ औं चिफ अफ स्टाफ थिए। सेनाबाट डिसेम्बर २०१९ मा रिटायर हुनु एक दिनअघि सरकारले उनलाई चिफ अफ डिफेन्स स्टाफ घोषणा गरेको थियो। उनले हाइ अल्टिच्युड युद्धको राम्रो अनुभव थियो भने आतंकवादविरुद्धको कारबाहीमा १० वर्षको अनुभव हासिल गरेका थिए।

गोरखा युनिटको कमाण्डर भएका नाताले गोरखा रेजिमेन्टसँग उनको विशेष लगाव थियो। उनी हिमान्चल प्रदेशको सुबाथू छाउनीमा विशेष रुपमा बनाइएको गोरखा ह्याट लगाउन मन पराउथे। चिफ अफ डिफेन्स स्टाफको पदभार सम्हाल्दा पनि उनी गोरखा ह्याटमै देखिएका थिए।
उनको निधनपछि गोरखाली ह्याट बनाउने छाउनीस्थित सूचीकार अशोक थापाले रावतको निधनले ठूलो दुःख लागेको बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा रावत र आफ्नो तस्बिर राख्दै उनी एक असल सैनिक र सच्चा देशभक्त भएको बताएका छन्। उनले भनेका छन्, ‘हाम्रो सशस्त्र सेना र सुरक्षा उपकरणको आधुनिकीकरणमा उनले अहम् योगदान दिएका छन्। रणनीतिक मामिलामा उनको बुझाई र दृष्टिकोण असाधारण थियो। उनको निधनमा मलाई गहिरो दुःख लागेको छ।’

दुर्घटनामा उनकी पत्नी र अन्य सुरक्षाकर्मीगरी १३ जनाको मृत्यु भएको छ। भारतीय वायुसेनाले द्ुर्घटनाको कारण पत्ता लगाउन निर्देशन दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x