१२ कार्तिक २०८३, बुधबार

भारतद्वारा सांस्कृतिक संरक्षण, पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि पाँच अर्ब ८० करोड सहयोग

एसीपी संवाददाता

२७ फाल्गुन २०७७, बिहीबार १६:४९ मा प्रकाशित

भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित बुढानीलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माण हुने भएको छ । बिहीबार आयोजित एक समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले धर्मशालाको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

शिलान्यास समारोहमा मन्दिरका मठाधीश स्वामी निगमानन्द, बुढानीलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेकनारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त जयबहादुर चन्द, बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, विश्व हिन्दू महासंघका अध्यक्ष चक्रबन्धु अर्याललगायत सहभागी थिए ।

भारत सरकारले २८ वटा सांस्कृतिक सम्पदा संरक्षण, पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि पाँच अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ । भारतीय दूतावासका प्रवक्ता नवीन कुमारका अनुसार बुढानीलकण्ठ धर्मशाला पुनर्निर्माण यसैअन्तर्गतको एउटा परियोजना हो । नेपाल सरकारले पहिचान गरेको सांस्कृतिक सम्पदा क्षेत्रमा भारतले सहयोग गरेको दूतावासले जनाएको छ । यो धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने दूतावासको विश्वास छ ।

‘भारतले विगतदेखि नै सांस्कृतिक सम्पदा संरक्षण एवं पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ । हामीसँग भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने प्रचुर सांस्कृतिक समानता तथा सम्पदा रहेका छन्,’ प्रवक्ता नवीन कुमारले भनेका छन् । यसअघि भारत सरकारको दुई करोड २० लाख रुपैयाँ लागत सहयोगमा बुढानीलकण्ठ मन्दिरका लागि मठाधीश भवन निर्माण भएको थियो । नयाँपत्रिकामार्फत

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x